इलाम २ मा सकियाे सर्वदलीय बैठक , ११ बजेबाट मतगणना सुरू हुने

१६ बैशाख, इलाम

इलाम-२ मा ११ बजेदेखि मतगणना सुरू हुने भएको छ । बिहान बसेको सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । मतगणना इलाम नगरपालिका-७ स्थित गौतमबुद्ध सभागृहबाट सुरु हुनेछ ।

सुरुमा फाकफोकथुम गाउँपालिकाको मतदानस्थलको मतपेटिकाबाट गणना सुरु हुने सहमति भएको छ । यस्तै, प्रत्येक मतगणनास्थलमा एक जना उम्मेदवारको एक जना  प्रतिनिधि मात्र हुनुपर्ने निर्णय भएको छ । उम्मेदवारको प्रतिनिधि हुन इलाम क्षेत्र नम्बर २ कै मतदाता हुनुपर्ने सहमति भएको  छ ।

इलाम २ मा करिब ६० प्रतिशत मत खसेको छ । शनिबार भएको मतदानमा कुल एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मत खसेको मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले बताए । जसमा महिला मतदाता ३४ हजार १५० र पुरुष मतदाता ३५ हजार १३५ रहेको उनले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले मतगणनाका लागि इलाम नगरपालिका– ७ मा रहेको गौतमबुद्ध सभागृहलाई तयारी गरिएको सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार मतगणनास्थललाई सुरक्षित गर्न सिसिक्यामेरा, तारजालीसहितका आवश्यक पूर्वाधार तयार गरिएको छ ।

इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमाले नेता सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा हृदयाघातबाट निधन भएकाले यहाँ उपचुनाव भएको हो । यहाँको उपनिर्वाचनमा राजनीतिक दलका १२ उम्मेदवार र सात स्वतन्त्रसहित १९ जनाले चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए । जसमा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू, पहिचानवादीका डकेन्द्रसिंह लिम्बूबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation