देशभर लागेको डढेलोले ठुलो जनधनको क्षति, सकसमा पर्यावरण

यसो त निमुखाहरु सधै जलिरहेकै हुन्छन् । हिउदमा शितलहर, गर्मीमा लु÷हावाहुरी र चट्याङ, सुख्खायाममा डढेलो, वर्षामा बाढिपहिरो, अनिकालमा भोक आदि । यसरी हर समय समस्याको सिकार हुने निम्न आयस्रोत भएका नागरिकहरु नै हुन्छन् । हुरीबतासले उडाउँछ निमुखाकै घर । बाढिपहिरोले पनि त्यही वर्गंलाई नै छानिछानी बगाउँछ, मार्छ र बेपत्ता बनाउँछ । चाटुकर एवं निरीह दमनकारी सत्ताले त उनको वंश नै विनाश गर्नेगरी उत्पीडनको जाँतोमा पिसिरहेकै छ हर बखत । शक्तिशाली प्रलय वा अन्य दैविप्रकोपमा कतिपय सम्भ्रान्त वर्गले क्षति बेहोरेपनि अधिकांश समस्याहरुबाट सबैभन्दा बढि प्रताडीत कोही छ भने त्यो अभाव, भोग, रोग र सोकमा चुर्लुम्मा डुबेको पिँधको वर्ग नै हो । यतिबेला देशभरका जंगल, ख¥यान र जंगलमा डढेलो आतंक छ । यहाँ यो प्रकोपमा जल्नेहरु पनि अधिकांश निमुखा वर्गकै मानिसहरु छन् । चैत÷वैशाख लागेयता देशभर आगलागी र डढेलो भयावह बनेको छ । पछिल्लो तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्षको क्षति दोब्बरले बढेको छ । देशका सयौँ जंगलमा आगजनी गरिएको छ । हजारौँ घरगोठ जल्दा लाखौँ नागरिक सडकमा तातो हावा खान विवश छन् । करोडौँ वनस्पति र जिव–जवावरहरुको अकाल अस्तित्व समाप्त भएको छ । वायुमण्डममा प्रदुसित धुवाँको मुस्लोले दम रोगी भएका वृद्धाहरु स्वास फेर्न सकिरहेका छैनन् भने हवाइ उडान समेत प्रभावित भइरहेका छन् । गर्मी इतिहासकै सबैभन्दा बढेको । पर्यावरण निकै ठुलो संकटमा परेको जगजाहेर नै छ । बैशाख तेस्राे सातासम्म आगोमा जलेर १७ जनाले ज्यान गुमाइसकेका छन् ।

 


राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक हेर्दा यो समाचार तयार पार्दासम्म देशका चार सय २६ ठाउँमा आगलागी भएको छ भने दुई सय ४३ स्थानमा डढेलो बस्ती पसेको छ । आगलागीमा परी १० जनाले ज्यान गुमाएका छन् । ४३ घाइते भएका छन् । ६ सय ६५ घरमा आगलागी हुँदा नौ सय ४४ परिवार प्रभावित÷विस्थापित भएका छन् । २३ करोड ७३ लाखको भौतिक क्षति आकलन गरिएको छ ।

गत वर्ष वैशाख दोस्रो सातासम्म तीन सय ३३ ठाउँमा आगलागी–डढेलो लाग्दा पाँचजनाको मृत्यु भएको थियो, २२ जना घाइते भएका थिए । एक सय २५ घर पूर्ण र ९१ घर आंशिक गरी दुई सय १६ घरमा आगलागी हुँदा तीन सय ९७ परिवार प्रभावित भएका थिए । एक सय चार गोठमा आगो लाग्दा दुई सय तीन चौपाया मरेका थिए भने १४ करोड १३ लाखको क्षति भएको छ ।
पूर्वी तराइको महोत्तरीको विपन्न बस्तीमा डढेकोले अकल्पनीय क्षति भयो । मटिहानी नगरपालिका– ६ जरलहवा टोलमा भएको भीषण आगलागीले एक सय तीन घर खरानी हुँदा पाँच सय स्थानीय विस्थापित भएका छन् भने एक करोड ६२ लाख ८५ हजारको क्षति भएको आकलन मटिहानी नगरपालिकाको छ । पछिल्लोपटक हरेक दिन कुनै न कुनै ठाउँमा आगलागी भइरहेको छ । तर, बस्ती नै सखाप पार्ने गरी भएको जरलहवाको आगलागी ०८१ कै पहिलो हो । वनमा लागेको डढेलो ८ वैशाखमा बस्ती पसेपछि पश्चिम नेपालको गुल्मीको इस्मा गाउँपालिका– २ हस्तीचौर र वडा नम्बर ४ सिदुंखाकाका २६ घर, ४९ गोठ जले । त्यहाँ दुई सय बढि स्थानीय छिमेकी र त्रिपालमुनि बसेका छन् । आगलागीले अर्घाखाँची, प्यूठान, दाङ र सल्यानमा पनि त्यस्तै प्रकारको क्षति गरेको छ । पहाडि जिल्लाहरुमा जंगलमा लागेको आगो वस्तीमा पस्दा बढी क्षति भएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख चन्द्रवीर गुरुङले बताए । जनचेतनाको कमजोरीकै कारण जानिबुझि आगजनी भइरहेकोले ठुलो धनजनको क्षतिसँगै पर्यावरणमा समस्या पैदा भएका उनले बताए । सप्तरीको कञ्चनरूप नगरपालिका– ५ पडेमारामा आगलागी हुँदा १२ परिवारका २४ घर जल्दा सय जना मानिहरु खुला आकाशमा बस्न विवश छन् ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले आगलागीका कारण र आगामी दिनमा ठूलो क्षति हुन नदिन अपनाउनुपर्ने सजगताबारे अध्ययन गर्न प्राधिकरणले टोली खटाएको बताए । विश्वव्यापी रुपमा बढेको डढेलो र कार्वन उत्सर्जनको वृद्धिले जलवायु परिवर्तनका असंख्य परिणामहरु आइरहेका छन् । जसले जटिल पर्यावरणीय संकट आइपरेको छ । मानिस तथा जीव–जनावरहरुको भविष्य नै संकटमा परेको छ । नेपालमा डढेलो निभाउने तरिका तीन प्रकारका छन् । आगो निभाउन खटिने सुरक्षा अंग, जिल्ला प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारीसहित सरोकारवाला निकायलाई पनि सोही अनुसारको तालिम प्रदान गरिन्छ । आगो नियन्त्रण र रोकथामको निम्ति विपत जोखिम व्यवस्थापन तथा डिभिजन वन कार्यालयहरुमार्फत जाने करोडौँ रकमको प्रभावहिन ढंगले खर्च भएको सरोकारवालाहरु बताउँछन् । डढेलो रोकथामका लागि वर्षेनी राज्यको ठुलो धनराशीले आगजनी नियन्त्रण र सचेतनाको काम प्रभावकारी नहुनु निकै दुखद हो ।

देशभरका वनजंगलमा डढेलो

देशभर तापक्रम बढेर तराईमा तातो हावाको लहर चलिरहेको छ । गत दुई वर्षमा डढेलो कम लागेको थियो । यसपटक लामो समयदेखि वर्षा नभएकोले जंगलमा चिस्यान कम छ ।
नासाले स्याटेलाइटबाट लिएको तस्बिरका आधारमा विश्लेषण गर्दा एकै दिनमा तीन सय ७६ ठाउँमा डढेलो लागेको छ । यो एक किलोमिटर क्षेत्रमा लागेको डढेलो हो । पश्चिम तराई र पहाड तथा मध्यनेपालको पहाडी क्षेत्रमा डढेलो धेरै देखिन्छ । सामुदायिक र राष्ट्रिय वन मात्र होइन, संरक्षित वन (निकुञ्ज, आरक्ष)मा पनि डढेलो छ । कैलालीमा ३० ठाउँमा डढेलो लागेको छ । धेरै डढेलो लागेका जिल्लामा सल्यान र सुर्खेतमा २८–२८, बर्दियामा २५, डडेल्धुरामा २४, दाङमा २३, प्युठानमा १७, डोटीमा १५ र उदयपुरमा १३ ठाउँमा डढेलो छ । बिहीबार चार सय ४० र बुधबार चार सय ६३ ठाउँमा डढेलो थियो । वन तथा भूसंरक्षण विभागका अनुसार नेपालमा वर्षेनि दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ ।


विपत् प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले– मान्छेको लापरबाहीकै कारण आगलागीले विकराल रूप लिएकोले यसलाई रोक्न समुदाय स्तरबाट आगजनी गर्नेको पहिचान गरी सार्वजनिक गर्ने र कानुनी कारबाहीको कठाघराम ल्याउन जरुरी भएको बताए । उनले मान्छेकै लापरबाहीका कारण आगलागीले विकराल रूप लिएको दाबी गरे ।
खेतमा झारपात डढाउने नाममा होस् कि खर राम्रो हुन्छ भनेर जंगलमा आगो लगाउने होस्, मान्छेले नै गरेका हुन् । आगो फैलिन तयार भएर बसेको अवस्थामा सलाई कोरिदिँदा जंगल, बस्ती जलिरहेका छन् । यो हिउँदमा २० प्रतिशत मात्र पानी प¥यो, सुक्खा लम्बिएको छ । दमकल प्रयोग गर्दा पनि निभाउन दिनभर लागिरहेको छ । रुपन्देहीको तिलोत्तमा त आगो नियन्त्रण गर्न निस्किएको दमकल नै जलेर खरानी भयो । यस्ता ठूला आगलागी भएका क्षेत्रमा सरकारले हेलिकोप्टरको बकेटमार्फत पनि आगो निभाउनुपर्ने हो । यसो गर्न सके कम्तिमा डढेलो बस्तीमा जानबाट रोक्न सकिन्थ्यो । आगो लागिसकेपछि सुरक्षाकर्मी निभाउन जान्छन्, यथोचित उपकरण नहुँदा ज्यान गुमाउनुपरेको छ । डोल्पामा तीन सैनिकको ज्यान गयो । विज्ञान र प्रविधिले यत्रो फड्को मार्दा पनि हाम्रो मुलूको आगो नियन्त्रणको प्रविधिको विकासमा राज्यका तिनवटै सरकार मौन छन् । जुन सबैभन्दा दुखद पक्ष हो ।

कहिलेसम्म चुकिरहने हामी ?

जलवायु तथा विपत् व्यवस्थापनका विज्ञका अनुसार जनस्तरमा लापरबाही हुनाले नै डढेलोले प्रकोपको रुप लिएको बताउँछन् । गहुँको छ्वाली जलाउन र फोहोर डढाउन लगाइएको आगो बस्ती र जंगलमा सल्किरहेको छ । जनस्तरमा यसरी भइरहेको लापरबाहीले घर मात्र जलेका छैनन्, मान्छेकै ज्यान गइरहेको छ ।
सामुदायिक वनको आगलागी वा डढेलो धेरै ठाउँमा हुन्छ भन्नेमा सबै जानकार छन् तर नियमनको प्रभावकारीता शुन्य छ । एक तथ्यांक अनुसार देशभर २२ हजार सात सय सामुदायिक वन छन् । तर, आगो लाग्न नदिन सामुदायिक वनको भूमिका प्रभावकारी छैन । हरेक सामुदायिक वनले अग्निरेखा बनाएका हुन्छन् । यसले जंगलको डढेलो गाउँबस्ती पस्न दिँदैन । जंगलमा पनि ब्लक छुट्याइएको हुन्छ, एक ठाउँमा लागेको आगो अर्काे ब्लकमा सल्किन पाउँदैन । तर, सामुदायिक वनले अग्निरेखा सफा (डढेलो सल्किहाले अन्यत्र नफैलियोस् भनेर पातपतिंगर डढाएर बनाइएको रेखा) गरेनन् । यसले जंगल सखाप भएर बस्तीमा गइरहेको छ ।

सरकार किन लाचार ?

हरेक वर्ष आगजनी र डढेलोले करोडौँ धनमालको नष्ट गरिरहेको छ । सरकार भने यसको न्युनिकरण र रोकथाममा प्रभावकारी प्रयास गर्नुको साटो भयावह स्थितिको डाटा संकलन र राहतको चाह्रो छर्न व्यस्त छ । आगलागीको प्रक्षेपण भइसकेपछि संघ सरकारले पूर्वतयारी गर्नुपथ्र्यो । देशभर आगलागी, डढेलो लाग्न थालेपछि गृह प्रशासन र जिल्ला प्रशासनले सुरक्षाकर्मी परिचालन गर्नुपर्दथ्यो । अटेरी गर्ने, आगो लगाउनेलाई पक्रेर कारबाही गर्ने अभियान नै थालेको भए जनस्तरको लापरबाही कम हुन्थ्यो । यद्यपि आगजनी गर्ने अपराधिलाई समाजले नै संरक्षण गरेर राख्नु ज्यादै दुखको विषय बनेको छ । किनकी हर ठाउँमा आगो त्यही समाजकै मान्छेले झाेंसिरहेको छ र सर्वस्व सखाप पारिहेको छ । ठूलो क्षेत्रमा डढेलो, बस्ती नै सखाप हुनेगरी आगलागी भइरहेको छ । दमकल प्रयोग गर्दा पनि निभाउन दिनभर लागिरहेको छ । यस्ता ठूला आगलागी भएका क्षेत्रमा सरकारले हेलिकोप्टरको बकेटमार्फत पनि आगो निभाउनुपर्ने हो । यसमा सरकारले मतलब गरेको छैन । आगो लागिसकेपछि सुरक्षाकर्मी निभाउन जान्छन्, यथोचित उपकरण नहुँदा ज्यान गुमाउनुपरेको छ । डोल्पामा तीन सैनिकको ज्यान गयो । संसारमा विज्ञान प्रविधिले फड्को मारेको अवस्थामा पनि हाम्रो मुलूकमा भने अझैपनि स्याउलाले आगो निभाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation