सन्दीपको मुद्दामा बहस जारी, आजै फैसलाको तयारी

बलात्कार आरोप लागेका क्रिकेटर सन्दिप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा सुनुवाइ भइरहेको छ।

अहिले जाहेरवालाको तर्फबाट निजी वकिलहरूले बहस गरिरहेका छन्। त्यसपछि सन्दीपका तर्फबाट बाँकी दुई कानुन व्यवसायीले बहस गर्नेछन्। सकेसम्म बेलुकी आठ बजेसम्म भए पनि फैसला आउन सक्ने स्रोतले जनाएको छ।

बहस नै नसकिएर लम्बिएको अवस्थामा भने मुद्दा हेर्दाहेर्दैमा जाने र भोलि बुधबार मात्रै फैसला आउनेछ।

मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा जारी सुनुवाइको सुरुमा सरकारी वकिलले बहस गरेका थिए।

त्यसपछि सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, शम्भु थापा, रमण श्रेष्ठ, मुरारी सापकोटा, कृष्ण सापकोटालगायतले बहस गरे। उनीहरूले पर्याप्त प्रमाणविनै काठमाडौं जिल्ला अदालतले कैदको सजाय सुनाएको भन्दै सन्दीपले सफाइ पाउनुपर्ने माग गरे।

काठमाडौं जिल्ला अदालतले बलात्कार पीडित बालिग रहेको ठहर गर्दै सन्दीपलाई ८ वर्ष जेल सजाय सुनाएको थियो। त्यसविरुद्ध सन्दीप पुनरावेदन गएका हुन्।

न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ । दुवै मुद्दाको एकसाथ सुनुवाइ भइरहेको हो।

यसअघि वैशाख २३ गते न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको मुद्दा पेसी सूचीमा चढे पनि हेर्न नमिल्नेमा परेको थियो । विपक्षी झिकाउन आदेश भएकै इजलासमा पेसी परेपछि हेर्न नमिल्नेमा परेको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation