तरकारी खेतीबाटै आकर्षक आम्दानी

रानाको परिवारका सदस्यले दोदाकै बगरमा तरकारीखेती गर्दै आएका छन्। बगरमा उत्पादित तरकारी बिक्री गरेर उहाँले घरखर्च जुटाउँदै आएका छन्। ‘दोदाले सबै जमिन लग्यो। अहिले बगरमा खेती गर्छु। शुरुमा घरपरिवमारका लागि मात्र खेती गर्थेँ’, उनले भनिन्, ‘आकर्षक आम्दानी हुन थालेपछि व्यावसायिक रूपमा तरकारीखेतीमा लाग्यौँ।’ उनका श्रीमान् गोरुगाडामा तरकारी राखेर बेच्न गाउँगाउँ डुल्ने गर्छन्।

दोदामा उर्लेर आउने बाढीले कैयौँ बिघा जमिन बगर बनाएर यहाँका स्थानीय विस्थापित हुनुपरेको छ। बर्सेनि कटान र डुबान समस्या झेल्ने तटीय क्षेत्रका स्थानीय गर्मीयाममा लहरेबाली लगाएर आम्दानी गर्ने गरेका छन्। डेढ दशकअघिको दोदा नदीमा आएको बाढीले  डाँगाजाईँका ४८ वर्षीय मोलसिंह रानाको करिब तीन बिघा जमिन बगायो। दोदाको कटान अझै रोकिएको छैन। प्रत्येक वर्ष आउने बाढीले जमिन कटान गरिरहेको छ। ‘बर्खामा दोदाले दिने दुःख भुलेर यो सिजनमा बगरमा खेती गरेर घरखर्च धानिएको छ’, उनले भने।

डाँगाजाईँका किसान नन्दराम रानाले दोदाको बगरमा तरकारीखेती गर्न थालेको दशक बितिसक्यो। २०६४ मा आएको बाढीले खेतीयोग्य जमिन बगर बनाएपछि त्यहीँ बगरमा तरकारीखेती गर्दै आएको उनी बताउँछन्। ‘बर्खामा दोदाको बाढीले सास्ती दिन्छ। उर्लेर आउने बाढीले कुन बेला के हुन्छ डराइडराइ बस्नुपर्छ’, उनले भने, ‘बर्खामा बाढी आउँदा कोही नदी तर्न सक्दैन। उठीबास लगाएको दोदामै दुःख बिर्सिएर जीविकोपार्जनको आशमा खेती गरेका छौँ।’

दोदा नदीमा करिब पाँच सयभन्दा बढी परिवारले बगरखेती गरेका छन्। बगरमा तरभुजा, काँक्रा, लौका, फर्सीलगायत खेती गरिएको छ। माघदेखि बगरमा खेतीका लागि तयारी गर्ने गरिन्छ।

चैतको अन्तिम साता बाली तयार भएपछि बिक्री गर्ने गरिएको घुम्नी रानाले बताए। ‘वर्षौँदेखि बगरमा खेती गर्दै आएका छौँ। माघदेखि जेठसम्म बगरमा खेती गर्छौँ, अरु समयमा मजदुरी’, उनले भने, ‘जङ्गली जनावर र चोरीबाट उत्पादन जोगाउन बगरमा बनाइएको छाप्रोमा बास बस्ने गरेका छौँ।’

– था.ख.

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation