
३ असार, काठमाडौँ
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्र विचारमा कुनै मतभेद नरहेको दाबी गरेका छन् ।
अध्यक्ष नेपालले आफ्नो पार्टीले नै स्थापनाका बेलामा समाजवादी कार्यक्रमलाई अघि सारेको भन्दै आगामी महाधिवेशनले त्यसलाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले पार्टीले महाधिवेशनका लागि तयार पारेका राजनीतिक, सांगठानिकलगायत दस्तावेजहरुको अध्ययन गरेर त्यसलाई अझ समृद्ध बनाउने काममा पनि सबैको भूमिकाको अपेक्षा गरिएको बताए ।
उनले भने, ‘अहिले हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन । किनभने समाजवादी कार्यक्रमलाई झन्डा फहराउँदै अघि सार्ने हाम्रो पार्टीको नाम नै हो नेकपा कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) यो समाजवादी नामले नै के बताउँछ भने हामी समाजवादको यात्रामा अघि बढ्छौँ भनेर पहिलो दिनदेखि नै पाइला त्यतैतिर सारेका छौँ ।’
अध्यक्ष नेपालले मुलुकलाई समाजवादी बाटोमा दृढतापूर्वक अघि बढाउनका लागि आफूहरूले समाजवादी मोर्चा निर्माण गरेर अघि बढेको पनि स्पष्ट पारे ।