फाइल तस्वीर

४ असार, काठमाडौँ
देशमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि सुस्त गतिमा अगाडि बढिरहेको छ। मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभरि फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुन अहिले कोशी प्रदेशको पूर्वी र उत्तरी भेगमा केन्द्रित छ। मनसुन फैलिएको क्षेत्र अर्थात् कोशी प्रदेशका सबैजसो जिल्लामा वर्षा भइरहेको छ।
मनसुन भित्रिएको लामो समय भइसके पनि यो निकै सुस्त गतिमा रहेकाले राजधानी काठमाडौँ आइपुग्न अझै केही दिन लाग्ने मौसमविद् मानन्धरको भनाइ छ।
“मनसुन कोशी प्रदेशको पूर्वतिर रहेको छ। यो पश्चिमतर्फ विस्तारका क्रममै छ तर निकै सुस्त गतिमा। काठमाडौँ आइपुग्न दुईदेखि ३ दिन र काठमाडौँ पुगेको पाँचदेखि ७ दिनपछि मात्रै सुदूरपश्चिम क्षेत्रमा पुग्ने देखिएको छ”, मौसमविद् मानन्धरले भनिन्।
अघिल्लो वर्षको मनसुन पनि देशभरि फैलिन करिब ३ साता लागेको जानकारी दिँदै मानन्धरले यस वर्ष यही जुन १० तारिखका दिन मनसुन प्रवेश गरेको बताइन्।
महाशाखाका अनुसार गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले नयाँ प्रणालीको विकास भए पनि वर्षा प्रभावकारी हुन सकेको छैन। गण्डकीको पोखरा आसपास र सुदूरपश्चिमको दार्चुलामा मात्रै फाटफुट वर्षा भइरहेको छ।
अहिले कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका १/२ स्थानमा मात्रै फाटफुट वर्षा भएको छ।महाशाखाले आज साँझ जारी गरेको बुलेटिनमा हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारत आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
आज राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी भूभागका १/२ स्थानमा फाटफुटदेखि मध्यम वर्षाको सम्भावना रहेको छ।