दाङमा बाढीमा परी एक जनाको मृत्युु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
गढवा गाँउपालिका–५ मा गङ्गदी खोलाले रा१त २१६६ नम्बरको ट्याक्टर पल्टाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको उद्धार गरिएको छ । खोलाले ट्र्याक्टर पल्टाउँदा सोही ठाउँका ५५ वर्षका छेदीराम चौधरीको मृत्यु भएको हो भने ट्र्याक्टर चालक महेश यादव र अर्का एकजनाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए ।
त्यस्तै आज बिहान राप्ती नदीमा आएको बाढिमा बगेर राजपुर गाउँपालिकाका एक युवक बेपत्ता भएका छन् । दूध बिक्रीका लागि लमही आएका राजपुर गाँउपालिका–२ का १८ वर्षका राजकुमार यादव राप्ती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिए ।
लमहीबाट दूध बेचेर फर्किंदै गरेका राजपुर गाउँपालिका–२ का तीन जना लमही नगरपालिका–७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेका थिए । बाढीमा फसेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको सकुशल उद्धार गरिएको उनले बताए ।
अविरल वर्षाका कारण लमही नगरपालिका–७ हस्नापुर, राप्ती गाउँपालिका–५ लठ्हवाका दर्जनौँ घर डुबानमा परेका छन् । सशस्त्र प्रहरी नेपाल प्रहरीले डुबानमा परेकाहरुलाई उद्धार गरिरहेको छ । सेवार खोलाको बाढीले ‘डाइर्भसन’ बगाउँदा घोराही तुलसीपुर सडकखण्ड अवरुद्ध भएको छ ।