त्रिशूलीमा खसेका दुई बसको दोस्रो दिनको खोजी बिहानैदेखि थालियो

नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसको खोजी पुनः थालिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले शनिबार बिहान खोजी गर्न थालेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार राति काम गर्न नसकिने भएकाले शुक्रबार साँझ खोजी रोकिएको थियो । नदीमा पानीको मात्रा बढी भएको तथा धमिलो पानीमा यात्रुको खोजी गर्न समस्या देखिएपछि गए राति खोजीकार्य रोकिएको थियो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले सम्भावित सबै स्थानमा हराइरहेका यात्रुको खोजी गर्ने बताए।

काठमाडौंबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका- २९ सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए।

काठमाडौँबाट गौर आउँदै गरेको बसमा २७ तथा वीरगञ्जबाट काठामाडौंजाँदै गरेको बसमा सवार २४ यात्रु बेपत्ता भएका प्रजिअ यादवले जानकारी दिए। तीन यात्रु पौडी खेलेर बाँचेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation