बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, १ जना बेपत्ता

१ साउन, रुकुम पश्चिम

रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता र सात जना घाइते भएका छन् ।

 

सोमबार राती आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो । घटनामा परी एक जना बेपत्ता भएको र सात जना घाइते भएको आठविसकोट नगरपालिका प्रमुख रबी केसीले जानकारी दिए।

मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया हितमाया पुन, ८ वर्षीया धनसा पुन र ४ वर्षीया मनिषा सार्की रहेको नगर प्रमुख केसीले बताए। उनका अनुसार ४० वर्षीया डिल्ली बहादुर बुढाथोकी बेपत्ता छन् ।

बाढीले घर बगाउँदा घाइते भएका सात जनालाई आठविसकोटस्थित नगर अस्पतालमा ल्याएर उपचार सुरु भएको स्थानीय ललित चन्दले जानकारी दिए । घाइते हुनेहरूमा १२ वर्षीय बिनय सार्की, २२ वर्षीया मनीषा पुन, २९ वर्षीया जनक खत्री, ६ वर्षीया मनसरी पुन, ४ वर्षीया मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेका छन् ।

आठबिसकोटस्थित गिजागार खोलामा आएको बाढीले घर बगाउँदा उक्त घटना भएको बताइएको छ । बाढीले अन्य स्थानका घर र घट्ट समेत बगाएको छ । घटनाको पूर्ण विवरण सङ्कलन हुँदै गरेको नगर प्रमुख केसीले बताए ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तसहित सुरक्षा निकाय, रेडक्रस लगायतको टोली परिचालन भएको छ । अहिले नेपाल प्रहरी, आठविसकोट नगर प्रहरी र स्थानीयले खोज, उद्धार र उपचारको कार्यलाई प्राथमिकता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation