मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । उनले मुख्यमन्त्री नियुक्त भएको ७ दिनमा अर्थात आज मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेसका लामा एमालेसमेतको समर्थनमा ९ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि पत्राचार गरेपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन् । लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्ने प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

१२ साउन अर्थात् शनिबार मात्रै सरकारलाई पूर्णता दिएका लामालाई आफ्नै दल नेपाली कांग्रेसको ३७ र सत्ता साझेदार दल नेकपा एमालेको २७ जना सांसदको समर्थन छ ।

११० सदस्यीय प्रदेश सभामा सरकारका लागि ५६ सांसदको बहुमत समर्थन आवश्यक हुन्छ । प्रदेश सभामा विपक्षी दल माओवादी केन्द्रको २१, राप्रपाको १२ (सभामुख बाहेक), नेकपा (एकीकृत समाजवादी) को ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन् ।

सत्ता समीकरण परिवर्तन भएसँगै ६ साउनमा मुख्यमन्त्रीबाट नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै कांग्रेस–एमालेको समीकरणबाट लामाले ९ साउनमा सरकारमा दावी पेश गरेका थिए । प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोही दिन लामालाई नियुक्त गरेर १० साउनमा सपथ गराएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation