गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा प्रबन्ध निर्देशक लामिछानेकै भाषामा आचार्यले पनि सहकारीबाट आफ्नो नाममा कसले रकम पठायो, जानकारी नभएको बयान दिएका छन्, संसदीय समितिमा बयानको पालो अब लामिछानेको आउँदै छ
३ भदाै, काठमाडौँ
पोखराको सूर्यदर्शन र रूपन्देहीको सुप्रिम सहकारीबाट ३ करोड ३१ लाख र गोर्खा मिडिया नेटवर्क प्रालिबाट ५ करोड ३५ लाख रुपैयाँ लिएका रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले संसदीय छानबिन विशेष समितिमा इन्कारी बयान दिएका छन् । आफूले गोर्खा मिडिया मात्र चिनेको तर सहकारी संस्था नचिन्ने दाबी आचार्यले गरेका छन् ।
संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियासँग सम्बन्धित विषयमा सोधपुछ गर्न भन्दै आचार्यलाई आइतबार सिंहदरबारस्थित संसद् सचिवालयमा बोलाएको थियो । रास्वपा सभापति लामिछानेका विश्वासपात्र आचार्यले गोर्खा मिडियामा ‘क्रिएटिभ डाइरेक्टर’ पदमा कार्यरत रहँदा पोखराको सूर्यदर्शन र रूपन्देहीको सुप्रिम सहकारीबाट ऋण खडा गरेर रकम लिएको दस्ताबेज भेटिएको छ । ‘श्रीमती अध्यक्ष र आचार्य सञ्चालक रहेको नोबडी प्रोडक्सनमा करोडौं रकम गएको देखिएकाले बुझ्न बोलाएका थियौं,’ समितिका एक सदस्यले भने, ‘तर आचार्यले समितिमा सहकारीसँग सम्बन्धित प्रश्नबारे आफूलाई केही थाहा नभएको बयान दिए । म गोर्खा मिडिया चिन्छु, सहकारी चिन्दिनँ । सहकारीको म सदस्य नै छैन, मैले पैसा ल्याएको छैन । मेरो हस्ताक्षर पनि छैन भनेर बयान दिए ।’
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), जिल्ला प्रहरी कास्की र पोखरा महानगरपालिकाको अध्ययन प्रतिवेदन तथा रूपन्देही जिल्ला अदालतमा दायर मुद्दाको विवरणमा आचार्यले विभिन्न मितिमा सहकारीबाट रकम लिएको उल्लेख छ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट आचार्यका नाममा २ पटक गरेर २ करोड ३१ लाख १५ हजार रुपैयाँ भुक्तानी भएको देखिन्छ ।
प्रहरीको अनुसन्धानपछि गत वैशाखमा रूपन्देही जिल्ला अदालतमा दायर अभियोगपत्रमा सुप्रिम सहकारीबाट आचार्यको नाममा गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकको खातामार्फत २०७८ पुस १२ मा १ करोड ५० लाख रुपैयाँ ‘ट्रान्सफर’ भएको थियो । सेवा शुल्कबापत ६ लाख १५ हजार कट्टा गरी उक्त रकम प्रवाह भएको अभियोगपत्रमा उल्लेख छ ।
त्यस्तै सुप्रिम सहकारीबाटै २०७७ कात्तिक ६ मा आचार्यको नोबडी प्रोडक्सन प्रालिको नाममा एनआईसी एसिया बैंकमा रहेको खातामा ७५ लाख रुपैयाँ ऋण प्रवाह भएको पनि अभियोगपत्रमा उल्लेख छ । ‘ऋण प्रवाह भएपछि सहकारीलाई साँवा–ब्याज केही पनि प्राप्त भएको देखिँदैन,’ अभियोगपत्रमा भनिएको छ । सोही अभियोगपत्रमा रास्वपा सभापति लामिछानेले पनि १ करोड रुपैयाँ ऋण लिएको उल्लेख छ । तर, आचार्य र लामिछानेमाथि कुनै सोधपुछ नगरी तथा प्रतिवादी नबनाई मुद्दा दायर गरिएको थियो । प्रहरी अनुसन्धान एवं मुद्दा दर्ताका बेला लामिछाने गृहमन्त्री थिए ।