
४ भदाै, बुटवल
बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको मृत्यु भएको छ ।
बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बलेरो जिप, बदेलपोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटर एक आपसमा ठोक्किएर भएको दुर्घटनामा ती युवतीको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान जानेमा अर्घाखाँचीको संन्धिखर्क नगरपालिका घर भई बुटवल ११ देविनगर बस्दै आएकी २७ वर्षीया सुष्मा श्रेष्ठ भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाका अनुसार मुर्गियाबाट लु ८७ प ४५७३ नम्बरको स्कुटरमा बुटवलतर्फ आउँदै गरेकी श्रेष्ठलाई बुटवल १२ शान्तिचोकमा नम्बर नखुलेको मोटरसाइलकले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट उनी हुत्तिएर बलेरो जिपमा ठोक्किन पुगेकी थिइन् ।
तीव्र गतिमा रहेको मोटरसाइकलको ठक्करबाट सुष्मा लु १ च ६७८३ नम्बरको बलेरो जिपको मुनि पुगेकी थिइन् । उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘रातिको समयमा ३ वटै सवारीसाधन तिव्र गतिमा भए जस्तो देखिन्छन् बलेरो चालक प्रहरी नियन्त्रणमा छन् भने मोटरसाइकल चालक ठक्कर दिएलगत्तै फरार रहेकोले उनको खोजी भइरहेको छ’, प्रहरी निरिक्षक बानियाले भने ।