हमास-इजरायल युद्ध: ६ जनाकाे शव बरामद

५ भदाै, काठमाडौं

इजरायली सेनाले आन्तरिक सुरक्षा निकाय सिन बेटसँगको संयुक्त कारबाहीमा गाजाको दक्षिणी क्षेत्र खान युनुसबाट ६ जना बन्धकको शव बरामद गरिएको मंगलबार जनाएको छ । बन्धकमध्ये यागेभ बुचस्टाब, अलेक्जान्डर डान्सिग, योराम मेट्जर, नादभ पोपलवेल, चेइम पेरी यसपहिले नै मृत घोषित भएका थिए । अर्का बन्धक अब्राहम मुन्डर भने मंगलबार बिहान मृत घोषणा गरिए । हमासले मुन्दर, उनकी श्रीमती, छोरी र नातिसमेतलाई अपहरण गरेका थिए । परिवारका अन्य सदस्य नोभेम्बरको एक हप्ता लामो युद्धविरामको क्रममा रिहा भएका थिए भने उनका छोरा आक्रमणकै दिन मारिएका थिए । गुप्तचर तथा फरेन्सिक परीक्षणपछि शव बन्धकहरूको परिवारलाई बुझाउने तयारी भएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

‘होस्टेज एन्ड मिसिङ फेमिलिज फोरम’ले इजरायली सरकारलाई बाँकी बन्धकलाई वार्ता र सम्झौतामार्फत् फिर्ताको सुनिश्चित गर्न आह्वान गरेको छ । यसबीच मध्यस्थकर्ताहरूको सहयोगमा इजरायली सरकार र हमासबिच युद्धबन्दी र कैदी लेनदेनसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन प्रयास तीव्र बनेको छ । इजिप्ट, कतार अमेरिकालगायत मध्यस्थकर्ताले इजरायल र हमासलाई इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा बाँकी बन्धकको रिहाइ सुरक्षित गर्न मद्दत गर्ने युद्धविराम सम्झौतामा सहमत हुन आग्रह गरेका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन गाजा युद्धविरामका लागि वार्ताका लागि मंगलबार इजिप्टतर्फ प्रस्थान गरेका छन् । सोमबार जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेट गरेका ब्लिन्केन कायरो गएका हुन् । त्यहाँबाट उनी कतार जानेछन् । कतारले इजिप्टसँग मिलेर १० महिनादेखि चलिरहेको गाजा द्वन्द्व रोक्नेसम्बन्धी वार्ताको मध्यस्थता गरिरहेको छ । अल–सिसीसँगको भेटपछि उनी कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग दोहामा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

ब्लिन्केनले इजरायलले अमेरिकी प्रस्ताव स्वीकार गरेको र अमेरिकासँग प्रत्यक्ष सम्बन्ध नराख्ने हमासको प्रतिक्रिया बुझ्न इजिप्ट र कतारसँग कुरा गर्ने बताए । ब्लिन्केनले सोमबार तेल अभिभमा पत्रकारहरूसँग बोल्ने क्रममा भने, ‘यस क्षेत्रको शान्तिका लागि जतिसक्दो छिटो वार्ता हुनु र सम्झौता हुनु आवश्यक छ । संयुक्त राज्य अमेरिका यस कामका लागि गम्भीर र प्रतिबद्ध रहेको छ,’ उनले भने । ब्लिन्केनले सोमबार युद्धविराम प्रस्ताव ‘अन्तिम मौका’ हुन सक्ने चेतावनीसमेत दिए । उनले इजरायल यसै हप्ताको अन्त्यमा कायरोमा हुने वार्तामा एक प्रतिनिधिमण्डल पठाउन तयार रहेको पनि जानकारी दिए । यद्यपि, इजरायलले पछिल्लो समय इजिप्टसँग जोडिएको गाजाको सीमा आफ्नो नियन्त्रणमा हुनुपर्नेलगायत नयाँ सर्त राखेको समाचार आएका छन् । हमासले इजरायलले एकपछि अर्को सर्त थप्दै गएको भन्दै यसरी वार्ता अघि बढ्न नसक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation