भ्यु टावर होइन, दमकमा झापा ट्रेड सेन्टर बनेको हो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा बनेको भ्यु टावरले प्रतिफल दिने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा रास्वपाकी सांसद निशा डाँगीले दमकमा बनेको भ्यु टावरको उद्देश्य र लागतबारे प्रश्न गरकी थिइन् । जवाफमा प्रधानमन्त्री ओलीले भ्यु टावर नभएर दमकमा ट्रेड सेन्टर बनेको बताए ।

‘दमकमा एउटा विजनेश कम्प्लेक्स बनेको छ । अलिक अग्लो रहेको छ । त्यसकारण त्यसलाई टावर र भ्यु टावर भने’ प्रधानमन्त्री ओलीले भने, ‘तर, त्यो भ्यु टावर होइन । भ्यु टावर बनाउन अबौं खर्च कसैले गर्दैन, त्यो विजनेश कम्प्लेकस हो ।’

साढे सात रोपनीमा कम्प्लेक्स बनेको र त्यसमा ६ वटा लिफ्ट रहेको उल्लेख गर्दै उनले थपे, ‘हरेक तलामा बिभिन्न प्रकारका विजनेश चल्न सक्छन् । हस्पिटल, होटेल, आइटी पार्क बन्न सक्छन् ।’

यस्तो कप्लेक्स थाइल्याण्डमा, मलेसियामा समेत रहेको बताए । अमेरिकाले धेरै पहिले ट्वीन टावर बनाएको र त्यसलाई वल्ड ट्रेड सेन्टर भनेर बुझिने गरेको उल्लेख गर्दै उनले थपे, ‘दमकको लागि अहिले झापा ट्रेड सेन्टर भनेर बुझ्दा हुन्छ ।’

उक्त कम्प्लेक्सको लागत एक अर्ब ७९ करोड ४८ लाख रहेको पनि उनले जानकारी दिए । ४५ मिटरसम्म जग रहेको उल्लेख गर्दै उनले थपे, ‘ दह्रो बनाइएको छ । त्यसले सयौं वर्षसम्म प्रतिफल दिइरहनेछ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation