ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

२ असोज, संखुवासभा

जिल्लाको मकालु गाउँपालिका – ३ स्थित खाँदबारी –किमाथाङ्का सडक खण्डको सम्माटारमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

खाँदबारी –किमाथाङ्का सडक खण्डको मकालु  – ३  सम्माटारमा प्रदेश १ –०२००३ त १४३७  नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको  घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

बुधबार बिहान भोटखोला गाउँपालिकाबाट सदरमुकाम खाँदबारी आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा खाँदबारी नगरपालिका – ८ का विष्णेधाराका चालक १९ वर्षीय किरण श्रेष्ठ, सहचालक सोही ठाउँका १७ वर्षीय उदित श्रेष्ठको घटनास्थलमै मृत्यु भएको निमित्त प्रहरी प्रमुख लामिछानेले बताए।

निमित्त प्रहरी प्रमुख लामिछानेका अनुसार उक्त ट्याक्टर खाँदबारी –किमाथाङ्का सडक खण्डको सम्माटारको भिरबाट तीन सय मिटर तल खसेको थियो। घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नाबाट डेढ घण्टाको पैदल दूरीमा पर्दछ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation