
३ असोज, दाङ
बरिष्ठ साहित्यकार गिरिराज शर्मालाई नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सेक्रेटरी नारायणप्रसाद शर्माले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
दाङको घोराही उपमहानगरपालिका १८ निवासी ८४ वर्षे साहित्यकार शर्माको हिजो निधन भएको थियो । नेपालको बामपंथी आन्दोलन तथा प्रगतिशील साहित्य क्षेत्रका अगुवा शर्माको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन ठूलो संख्यामा आफन्त र शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । उनको पार्थिव शरीरमा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्मा, छोरा अञ्जन पौडेल र अन्य छोरीहरुले दागवत्ती दिएका थिए ।
शर्माका दाउरेनी खण्डकाब्य, आचार–विचार बाल लघु काब्य, बुढा जोर सिमलका रुखहरु, केही कृति समीक्षा र विविध, बुढा भएछन् कलमहरु, मेरो गाउँ र मेरा भोगाइहरु, सम्झनामा मेरो अतित र छोरीहरु (कविता संग्रह) लगायतका एक दर्जन कृति प्रकाशित छन् भने सयौं कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । उनले नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा ऐतिहासिक एवं नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। उनी निवृत्त शिक्षक पनि थिए।
उनले मावि चौघेरामा प्रधानाध्यापकका रुपमा लामो समयसम्म सेवा गरेका थिए। दाङका विभिन्न विद्यालयहरु र अर्घाखाँचीको चुत्रावेशीसम्म शिक्षाको ज्योति फैलाउन महत्वपूर्ण योगदान गरे । विसं १९९७ साल जेठ १५ गते जन्मिएका उनका चार छोरी र एक छोरा छन् । उनकी श्रीमति पार्वती शर्मा पौडेलको २०७७ चैत ९ गते निधन भइसकेको थियो ।
शर्माले राप्ती साहित्य परिषद्को स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुका साथै अध्यक्षको रुपमा संस्थाको नेतृत्व गरेका थिए । शर्मा प्रगतिशील लेखक संघ दाङ शाखाको संस्थापक साथै अध्यक्ष समेत भएका थिए । शर्माले नेपाल सरकारबाट भानुभक्त पुरस्कार र क्षेत्रीय प्रतिभा पुरस्कार प्राप्त गरेका थिए । राप्ती साहित्य परिषद्लगायतका संघसंस्थाद्वारा उनी पुरस्कृत र सम्मानित हुएका थिए ।
राप्ती साहित्य परिषद्का अध्यक्ष डा. टीकाराम उदासीले शर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शर्माको निधनले यस क्षेत्रको साहित्यिक, शैक्षिक र समाज रुपान्तरणको आन्दोलनमा अपुरणीय क्षति पुगेको बताए । पुस्तकालयका सल्लाहकारसमेत रहेका शर्माको निधनप्रति सर्वोदय पुस्तकालय तथा वाचनालयले दुःख व्यक्त गरेको छ । पुस्तकालयका अध्यक्ष सुशील गौतमले शोक विज्ञप्ति प्रकाशित गरी पुस्तकालयका लागि अतुलनीय योगदान दिनुभएको भन्दै उनको निधनमा दुःख व्यक्त गरेका छन् ।