
घोराही । अखिल (छैठौं)को २३ औं राष्ट्रिय सम्मेलनले १० बुँदे विशेष प्रस्तावहरु पारित गरेको छ । संगठनले अबिरल वर्षासँगै आएकाे बाढी, पहिराे र डुवानले निम्त्याएको ठुलाे जनधनकाे क्षतिप्रति गहिराे दुख व्यक्त गरेकाे छ । “संघीयता राष्ट्रघात र भ्रष्टाचारको अन्त्यको लागि हाम्रो आन्दोलन वैज्ञानिक र रोजगारमूलक शिक्षा प्राप्तिको लागि २३ औं राष्ट्रिय सम्मेलन” भन्ने मूल नारासहित संगठनको यही असोज १० देखि १२ गतेसम्म दाङको घोराहीमा सम्पन्न भएको हाे । अखिल छैठौंकाे २३ औं राष्ट्रिय सम्मेलनले १० बुँदे प्रस्ताव पारित गरेको संगठनले जनाएको छ ।
संगठनले आइतबार घोराहीस्थित नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलन गरी राष्ट्रिय सम्मेलनबाट पारित भएका प्रस्तावहरुको बारेमा जानकारी दिएको हो ।
संगठनका केन्द्रीय अध्यक्ष सुवाष जिसीले प्रेस वक्तव्य प्रस्तुत गर्दै संगठनको यही असोज १० देखि १२ गतेसम्म दाङको घोराहीमा सम्पन्न भएको २३ औं राष्ट्रिय सम्मेलनले ३५ सदस्यीय केन्द्रीय समितिसहित राष्ट्रिय परिषद् सदस्य सर्वसम्मत निर्वाचित भएको जानकारी दिए । उनले सम्मेलनबाट विभिन्न १० बुँदे विशेष प्रस्ताव पारित गरेको बताए । उनले शिक्षा क्षेत्रमा व्याप्त सबैखाले बेथितिसँगै संघीयता, राष्ट्रघात र भ्रष्टाचार अन्त्यका लागि संगठनले थप प्रभावकारी कार्ययोजना बनाएर संघर्ष गरिने प्रतिबद्धता व्यक्त गरे ।
सम्मेलनबाट नेपालकाे शिक्षा वैज्ञानिक, व्यवहारिक, जनवादी र गरिखाने हुनुपर्ने, क्षिक्षामा भइरहेको निजीकरण, व्यापारीकरण र माफियाकरण बन्द हुनुपर्ने, संविधानले उल्लेख भए बमोजिम प्राथमिक तहसम्म नि:शुल्क र अनिवार्य, माध्यमिक तहसम्म अनिवार्य र उच्च शिक्षा सर्वसुलभ हुनुपर्ने, शिक्षामा राज्यले लगानी बढाउनुपर्ने, बढ्दो युवा विद्यार्थीको विदेश पलायन रोक्नुपर्ने, युवालाई रोजगारीको व्यवस्था गर्नुपर्ने, राज्यले कृषि, पर्यटन र उद्योगमा प्रयाप्त लगानी गर्नुपर्ने, विद्यार्थी स्वास्थ्य विमालाई अनिवार्य लागूगर्ने, सम्पूर्ण जनताको उपकरण नि:शुल्क हुनुपर्ने बताइएको छ । त्यस्तै सम्मेलनमार्फत स्वास्थ्य क्षेत्रका माफियाहरुद्वारा भएको ब्रहम्लुट बन्द गर्नुपर्ने लगायतका प्रस्तावहरु पारित गरिएको छ । संगठनको आगामी काम तथा योजनाहरु केन्द्रीय समितिको बैठकबाट ठोस गरिने उनले बताए । पत्रकार सम्मेलनमा बाेल्दै केन्द्रीय अध्यक्ष सुवास जिसीले संगठनले पार्टीले उठाउने राष्ट्रिय स्वाधीनता, जनजिविका र भ्रष्टाचारका हरेक गतिविधिमा विद्यार्थी संगठनले नेतृत्वदायी भूमिका खेल्ने र देशभरका विद्यार्थीहरुमाझ जागरणका नयाँ नयाँ कार्यक्रम गर्दै समग्र विद्यार्थी आन्दोलन नयाँ शिराबाट अगाडि बढाउने बताए ।
त्यस्तै संगठनका महासचिव पुरण पोख्रेलले गत बिहीबार रातिदेखि भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट भएको मानवीय क्षति र भौतिक पूर्वाधारमा भएको क्षेति र घटनाप्रति अखिल (छठौं) स्तब्ध भएको बताए । उनले विपद्को पूर्वानुमान भएपनि त्यसको पर्याप्त तयारी नहुनु अत्यन्तै दुःखद् भएको बताउँदै काठमाडौं जस्तो जिल्लामा विपद्को तयारी र उद्दार कार्य चुस्त नहुनु दुखद भएको बताए । जलवायु परिवर्तनको असरले विश्वको वातावरणमा आइरहेको संकटबारे हाम्रो प्रयाप्त ध्यान नजानु र यसबारे सरकारकाे सचेतना अभियान नचालिनु पनि दुखद भएको उनेले बताए । साथै उनले यो प्राकृतिक विपत्तिमा राहत तथा उद्दार कार्यमा खट्न देशभरका आफ्ना संगठन लाग्ने बताए ।
संगठनका अध्यक्ष सुवाष जिसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संगठनका निवर्तमान अध्यक्ष तथा सल्लाहकार देवेन्द्र कँवर, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको आतिथ्यता रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण संगठनका महासचिव पुरण पोख्रेलले गरेका थिए ।