बिपी राजमार्ग दशैँअखुघि खुल्दैन : सरकार

१७ असोज, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध बिपी राजमार्ग दशैँअघि नखुल्ने स्पष्ट पारेको छ।

बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बिपी राजमार्ग दशैँअघि सञ्चालनमा नआउने जानकारी दिएका हुन्। उनले मन्त्रालयको टोलीले स्थलगत अवलोकन गरेर आएको जानकारी दिँदै दशैँअघि बिपी राजमार्ग खुल्ने सम्भावना नरहेको उल्लेख गरे। यद्यपि खुलाउने प्रयास जारी राख्ने उनको भनाइ छ।

खुलेको अवस्थामा पनि फसेका यातायातका साधनको उद्धार मात्र गरिने र अन्य सवारीसाधनलाई चलाउन सकिने गरी खुलाउन नसकिने उनले स्पष्ट पारे।

सचिव शर्माले भने‚ ‘बिपी राजमार्ग दशैँअघि खुल्ने सम्भावना छैन। त्यहाँ गाडीहरू रहेका छन्। गाडीका स्टाफहरू गाडी कुरेर बस्नुभएको छ। सकेसम्म हामी दशैँअघि अड्किएका गाडी ल्याउने प्रयास गर्छौं। त्यो उद्धार मात्रै हुन्छ। सार्वजनिक गाडी छोड्ने अवस्था हामी देख्दैनौँ।’

भारी वर्षाका कारण देशभरमा ३४ वटा राजमार्गका ८०५ ठाउँमा पहिरो गई सडक अवरुद्ध छ। तीमध्ये ७७४ ठाउँको पहिरो हटाई २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सञ्चालन गरिसकिएको सचिव शर्माले जानकारी दिए। हाल ५ वटा मुख्य राजमार्गका ३१ ठाउँमा अवरुद्ध भएको यातायात सञ्चालन गर्ने प्रयास जारी राखिएको उनले बताए।

सचिव शर्माले अरनिको राजमार्गको लार्चा–कोदारी खण्ड ५ किमि, बिपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्ड १८ किमि, मध्यपहाडी राजमार्गको दोलालघाट–राकथुम खण्ड ८० किमि, कान्ति राजपथ घपेली–बगुवा सडकखण्ड १३ किमि र मेची राजमार्गको रमिते–फिदिम खण्ड ८ किमि हालसम्म अवरुद्ध रहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation