विद्युत व्यापारसम्बन्धमा चीनसँग पनि छलफल गरिराखेका छौँ : मन्त्री खड्का

२० असोज, काठमाडौँ 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले छिमेकी मुलुक चीनसँग पनि विद्युत व्यापारसम्बन्धमा छलफल गरिरहेको बताएका छन्।

आइतवार मन्त्रालयमा मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता कार्यक्रममा मन्त्री खड्काले बंगलादेशसँगको विद्युत व्यापार सम्झौता ठूलो उपलब्धि भएको उल्लेख गर्दै चीनसँग पनि विद्युत व्यापारका लागि छलफल गरिरहेको बताएका हुन्।

उनले अन्य छिमेकी राष्ट्रहरुले आफैँ विद्युत उत्पादन गर्दा पनि नेपालसँग किन्ने गरेको भन्दै चीनसँग पनि सोहीअनुरुप आग्रह गर्नुपर्ने बताए। उनले चीनले विद्युत किन्नेमा आफू आशावादी रहेको बताए।

उनले आर्थिक कुरामा जोड दिएर जनताको जीवनस्तर उकास्न आफ्नो ध्यान केन्द्रित रहेको बताए। मन्त्री खड्काले निजी क्षेत्रले जलविद्युतमा गरेको लगानी पनि अन्ततः राज्यकै हुने भन्दै निजी क्षेत्रलाई लगानी गर्न अवरोध गर्न नहुने बताए।

‘जलविद्युतमा व्यक्ति, संस्था, निजी संस्थाहरु जसले लगानी गरे पनि २५/३५ वर्ष पछाडी मुलुकको हुने हो। ६४ खर्ब २८ हजार मेगावाट विद्युत उत्पादन गर्नलाई लगानी गर्दै छौँ भनेर जुन फिगर भनिएको छ, त्यो पूर्ण रुपमा सरकारको हुने हो‚’ ‘बंगलादेशसँगको सम्झौताले अत्यन्त ठूलो उपलब्धि भएको छ‚ चीनसँग पनि कुरा गरिराखेका छौँ। सबै छिमेकीहरुले किन्छन्, उहाँहरु आफैँले पनि उत्पादन गर्नुहुन्छ, फेरि पनि किन्नुहुन्छ।’

उनले जलविद्युतको क्षेत्रमा तल्लो तहको मान्छे पनि धनी हुनेगरी मोडालिटी बनाउनुपर्ने बताए। पैसा नहुनेहरुले पनि जलविद्युतमा लगानी गर्नसक्ने अवस्था बनाउनुपर्नेमा उनको जोड छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation