ढोरपाटनमा शिकारको पहिलो याम शुरु, डेढ करोड आम्दानी

३ कार्तिक, काठमाडौं 

मुलुकको एक मात्र ढोरपाटन शिकार आरक्षमा नाउर, झारल र बँदेलको शिकार गर्नका लागि पहिलो याम शुरु भएको छ। वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि १२ नाउर, आठ झारल र ११ बँदेलको शिकारका लागि अनुमति दिएको हो।

आरक्षमा दुई याममा शिकार खेलाइन्छ। पहिलो याम असोज–कात्तिक र दोस्रो याम चैत–वैशाखसम्म हुने गर्छ। यो यामको शिकार लागि नेपाल ट्राभल एक्सपिडिसन कम्पनीको नेतृत्वमा पहिलो टोली गत असोज २३ गते आरक्षमा पुगेको थियो। सो कम्पनीमार्फत अष्ट्रेलियाली नागरिकले यस याममा पहिलो नाउरको शिकार गरेका छन्। नाउरको तौल औसतमा ७० केजीभन्दा बढी हुने गरेको छ। शिकारको अनुमति लिएका बाँकी तीन कम्पनी आरक्षमा जाने क्रममा छन्।

निकुञ्जका वरिष्ठ व्यवस्थापन अधिकृत पेम्बा शेर्पाका अनुसार यस याममा चार कम्पनीमार्फत १२ विदेशी शिकारीले शिकारको अनुमति लिएका छन्। विभागले शिकार गर्नका लागि न्यूनतम राजस्व निर्धारण गर्ने गरेको हुन्छ। हाल नाउरको एक लाख ५० हजार र झारलको ७५ हजार र बँदेलको १० हजार रुपैयाँ न्यूनतम राजस्व तोकिएको छ।

न्यूनतमभन्दा धेरै बोलपत्र बढाबढमा कम्पनीले शिकारको अनुमति प्राप्त गर्ने गर्छन्। यो याममा नाउरको सबैभन्दा बढी १२ लाख ३० हजार रुपैयाँ बोलपत्र कबोल गरिएको छ। त्यस्तै झारलको सात लाख २५ हजार रुपैयाँ कबोल गरिएको अधिकृत शेर्पाले जानकारी दिए।

एक करोड ४५ लाखभन्दा बढी राजस्व

नाउरको शिकार गर्न बँदेलको पनि अनुमति लिनैपर्छ, तर विदेशी शिकारीहरु बँदेलको शिकार गर्न भने खासै इच्छुक देखिदैनन्”, अधिकृत शेर्पाले भने, ‘बँदेलको शिकारका लागि न्यूनतम् राजस्व रु १० हजार भने तिर्नैपर्छ। शिकारका लागि अनुमति दिएका नाउर, झारल र बँदेलको गरी कूल रु एक करोड ४५ लाख ९२ हजार चार सय राजस्व आम्दानी भएको छ।’

शिकार कम्पनीले वन्यजन्तु संरक्षणमा टेवा पुगोस् भन्ने उद्देश्यले नाउर र झारलको शिकार गरेबापत केही रकम स्थानीय समुदायलाई समेत दिने गरेका छन्। यसबाट मुलुकले विदेशी मुद्रा आर्जन गर्न पाएको छ भने स्थानीयस्तरमा पर्यटनको समेत विकास भएको छ। विभागले यो वर्षको पहिलो यामका लागि आरक्षमा नाउर, झारल र बँदेलको प्रतिस्पर्धाबाट शिकार गराउन गत भदौ १९ गते १५ दिने सूचना जारी गरी शिलबन्दी दरभाउ पत्र आह्वान गरेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation