आजदेखि भैरहवाबाट कतार एयरको दैनिक उडान

२७ कात्तिक, काठमाडौं 

कतार एयरवेजले आजदेखि दोहाबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कतारले दैनिक एक उडान दोहा–भैरहवा–काठमाडौं रुटमा गर्ने गरी अनुमति लिएको छ ।

दोहाबाट २ः४५ बजे आउने जहाज त्यसपछि काठमाडौं प्रस्थान गर्नेछ । कतारले काठमाडौंबाट दैनिक ३ उडानको अनुमति पाएको छ ।

भैरहवामा उडान गर्ने कतार अब पाँचौ कम्पनी बनेको छ । यसअघि नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा र थाई एयर एसियाले भैरहवाबाट उडान थालिसकेका छन् ।

कतार एयरवेजले दैनिक दुई उडान काठमाडौं र एउटा भैरहवाबाट गर्नेछ । विमानस्थलमर्मत सुरु हुनुअघि कतारले काठमाडौंमा दैनिक चार उडान भर्दै आएको थियो ।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले कतार एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्नु सांकेतिक रुपमा ठूलो उपलब्धि भएको बताए ।

‘भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुनु भनेको आफैंमा नेपालको इन्टरनेशनल एयरपोर्टलाई अन्तर्राष्ट्रिय एरोनोटिकल समुदाय इन्टरनेसनल एरोनोटिक कम्युनिटीले रिकनाइज गर्नु हो’, सूचना अधिकारी भूलले भने, ‘यसले भविष्यमा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन हुने वातावरण सिर्जना हुन्छ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation