
गृहमन्त्री रमेश लेखकले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्।
गृहमन्त्री लेखकले सो उपनिर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गराउनका लागि सुरक्षा निकायका सबै अंगहरुलाई निर्देशन दिइएको पनि बताए। उपनिर्वाचन केन्द्रित सुरक्षा निकायको बैठक बसेको र त्यसले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा उपलब्ध गराउने आवश्यक निर्णय गरिरहेको उल्लेख गर्दै उनले त्यसका लागि निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने कुरामा सरकार तयार रहेको पनि बताए।
निर्वाचन आयोगसँग समन्वय गरेर सरकारले आवश्यक सुरक्षा प्रवन्ध मिलाउने पनि गृहमन्त्री लेखकले बताए।
उनले भने,‘उपनिर्वाचनको प्रक्रिया अघि बढेको छ । मैले सरकारको तर्फबाट र मेरो तर्फबाट के आग्रह गर्न चाहन्छु भने उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र ढंगले सम्पन्न हुन्छ।’ गृहमन्त्री लेखकले निर्वाचनका लागि आवश्यक सबै खालको सहयोग जुटाउने कुरामा सरकार लागि परेको बताए।