१ मंसिर, बुटवल
लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नेपालमा ७ प्रदेश आवश्यक नभएको तर्क गर्दै तीनवटा मात्र प्रदेश भए पुग्ने बताएका छन् ।
अन्तर धार्मिक सद्भाव संघले बुटवलमा गरेको अन्तर्क्रियामा बोल्दै प्रदेश प्रमुख घर्तीले नेपालमा तीन प्रदेश, ७५ जिल्ला, संघीय सांसद बढीमा एक सय ५० जना, बढीमा १५ जना मन्त्री र ५०० भन्दा कम पालिका भए बनाउनुपर्ने बताएका हुन् ।
उनले अगाडि भने, ‘केन्द्रमा १५ जना मन्त्री भए पुग्छ, कामै नभएका उपराष्ट्रपति, राज्यमन्त्रीहरु हटाउनुपर्छ ।’ प्रदेश प्रमुख घर्तीले फुटाइएका रुकुम र नवलपरासी जिल्लालाई फेरि एउटै बनाउनुपर्ने धारणा राखे । राष्ट्रियसभा र समानुपातिक नेताका तलुवा चाटेर जाने पद भएको प्रदेश प्रमुखले टिप्पणी गरे ।
नेपालको राजनीतिमा आर्थिक रुपमा कमजोर वर्ग राजनीतिमा लागेर अकूत कमाउने, सुविधाभोगी हुने प्रवृत्ति र अर्कोतिर धनाढ्यले सांसद र मन्त्री पद किनेर पार्टीहरुलाई नै आफ्नो कब्जामा लिएर सिंगो राजनीतिलाई विकृत बनाएको प्रदेश प्रमुख घर्तीले टिप्पणी गरे ।
घर्तीले नेपालको राजनीति सही दिशामा नगएको र जनता सन्तुष्ट नभएको धारणा राख्दै तर राजतन्त्रतिर फर्किन सम्भव नभएको बताए ।
उनले आफू पदबाट राजीनामा दिन तयार रहेको तर देशलाई हानी नोक्सानी गर्ने कुरा स्वीकार्य नहुने बताए ।