जीर्ण झोलुङ्गे पुल धराप बन्दै, स्थानीय जोखिममा

६ महिना अघि खच्चड फसेको कर्णाली नदीको झोलुङ्गे पुल अहिलेसम्म पनि मर्मत नहुँदा स्थानीय बासिन्दा मारमा छन् । नजिकै अर्को झोलुङ्गे पुल भए पनि आसपास मन्दिर रहेकाले सुत्केरी तथा छाउ भएका महिला त्यहाँबाट आवतजावत गर्दैनन् ।

२७ जेठ २०८१ मा खच्चड अड्किएर जोखिमपूर्ण भएको कर्णाली नदी माथिको झोलुङ्गे पुल मर्मत नहुँदा अहिले पनि स्थानीय जोखिममा आवतजावत गर्न बाध्य छन् ।

४ मंसिर, बाजुरा

६ महिना अघि खच्चड फसेको कर्णाली नदीको झोलुङ्गे पुल अझै मर्मत हुन सकेको छैन । स्थानीयबासी त्यही जोखिमपूर्ण अवस्थाको जीर्ण पुलमा आवतजावत गर्न बाध्य छन् ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–९ र दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्यूला जोड्ने कर्णाली नदी माथिको झोलुङ्गे पुलमा २७ जेठ २०८१ मा १४ वटा खच्चड अड्किएका थिए । उद्धारका क्रममा दुइवटाको मृत्यु भएको थियो ।

सो दिन बिहान अछामबाट दैनिक उपभोग्यवस्तु लिएर दैलेख हिडिरहेका खच्चड एक्कासी सो पुलको बिचमा फसेका थिए । फसेका १३ वटा खच्चडको झण्डै ६ घण्टापछि स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।

११ वटा खच्चड जीवितै उद्धार गरिएको थियो । तिनीहरुलाई पुलको जाली काटेर कर्णाली नदीमा खसाइएको थियो । ११ वटाको जीवितै उद्धार गरिए पनि दुईवटा भने बाँचेनन् । एकको पुलमै र अर्को एकको नदीमा खस्दा ज्यान गएको स्थानीयहरु बताउँछन् ।
कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा खटिएका २ प्रहरी पुरस्कृत गरिएको थियो

सो झोलुङ्गे पुलमा खच्चड फसेको खबर संसारभरी पुग्दा सरोकारवालाहरुले तत्काल उक्त पुल मर्मत गर्ने वाचा गरेका थिए । झण्डै दुई दशकअघि बनेको सो पुलको नियमित मर्मत नहुँदा जीर्ण बनेको थियो । त्यसपछि खच्चड फसेर झनै जीर्ण भएको सो झोलुङ्गे पुलको हालसम्म पनि मर्मत गर्न कसैको ध्यान नगएको खिड्कीज्यूलाका स्थानीयबासीले गुनासो गरेका छन् ।

स्थानीय गणेश शाहीले भने, ‘सम्बन्धित निकायले सो पुल मर्मत गर्नुपर्छ या तत्काल आवतजावत बन्द गर्नुपर्छ ।’
पुल नजिकै रहेको कालेकाँडा स्वास्थ्य चौकीका इन्चार्ज अर्जुन बमले जीर्ण पुलको मर्मततिर सम्बन्धित निकायहरूले चासो नदिएको र अहिले पनि स्थानीयबासी जोखिम मोलेर आवतजावत गरिरहेको बताए ।

स्थानीयका भनाइमा, खिड्कीज्यूला नजिकै अर्को झोलुङ्गे पुल भएपनि त्यसको नजिकै मन्दिर रहेकोले सुत्केरी तथा छाउ (महिनावारी) भएकाहरु पनि त्यहाँबाट आवतजावत गर्दैनन् । त्यसैले खच्चड फसेको यो झोलुङ्गे पुल नै धेरैले प्रयोग गर्ने गरेका छन् ।

विद्यालय आउनेजाने छात्राहरुले पनि महिनावारी हुँदा यही जीर्ण पुल प्रयोग गरेर विद्यालय जानुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मी बम बताउँछन् । ‘सुत्केरी तथा छाउ भएका त तलबाट जाँदैन थिए, अरुलाई पनि टाढा भएकाले धेरैले यही पुल प्रयोग गर्छन्,’ उनले भने ।

दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले यो खच्चड फसेको घटनापछि आफू जिल्लामा आएकाले पुलबारे धेरै बुझ्न नपाएको बताए । अब तत्काल सो स्थानमा गएर अवस्था बुझने उनको भनाइ छ । ‘म अवस्था बुझेर पुल बनाउन सम्बन्धित निकायलाई तत्कालै आग्रह गर्नेछु’ प्रजिअ जैसीले भने ।

-अ.ख.

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation