लोडसेडिङ ओलीले हटाउनुभयो, जस अरूले पाए : शंकर पोखरेल

७ मंसिर, काठमाडौं 

 नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री बन्दा लोडसेडिङ हटाउने काम गरेको दाबी गरेका छन्।

पार्टीले काठमाडौंमा शुक्रबार गरेको जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले ओलीको योजनामा मुलुक लोडसेडिङमुक्त भएको जिकिर गरे।

नेकपा माओवादी केन्द्र र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङतर्फ लक्षित गर्दै पोखरेलले लोडसेडिङ अन्त्यको जस अरूले लिइरहेको गुनासो गरे।

‘केपी ओली पहिलो पटक प्रधानमन्त्री बन्दै गर्दा यो मुलुकमा १८ घण्टा लोडसेडिङ हुने गर्‍थ्यो। उहाँ प्रधानमन्त्री भइसकेपछि नेपालका जलश्रोतमा देखिएका समस्या समाधान गरी आधारभूत लोडसेडिङ एक वर्षभित्र अन्त्य गर्ने योजना बनाउनुभयो।’ पोखरेलले भने, ‘त्यही योजना अनुसार हामीले भारतबाट विद्युत आयात गरी नेपाललाई अँध्यारो युगबाट उज्यालो युगतर्फ फर्काउने कामको नेतृत्व गर्‍यौं । तर विडम्बनाको कुरा हाम्रो समाजमा काम एउटाले गर्दछ जस अर्कालाई दिने परम्परा छ।’

उनले ओली नेतृत्वको अघिल्लो सरकारले लगातार तीन वर्षसम्म देशमा उच्च आर्थिक वृद्धि दर हासिल गर्न सफल रहेको दाबी पनि गरे।

विश्वका उच्चतम आर्थिक वृद्धि हासिल गर्ने मुलुकहरूमा नेपाललाई दशौं स्थानमा पुर्‍याउन सफल पार्टी पनि एमाले भएको र त्यसको सरकारको नेतृत्वकर्ता केपी ओली भएको उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation