गरुण पुराण मिथकः के हो स्वर्ग नर्कको कहानी ? – गोपीरमण उपाध्याय

केही समय पहिले बुटवल क्षेत्रका बुद्धिजीवी लेखक एवं चिन्तकहरूमा माक्र्सवाद र गरुडपुराण सम्बन्धमा एउटा सार्थक वहस प्रारम्भ भएको थियो । यो निकै स्वागतयोग्य कुरा हो । ऐतिहासिक भौतिकवादी दृष्टिका आधारमा सिंगो पौराणिक साहित्यलाई मूल्यङ्कन गर्न सकिन्छ । हरेक साहित्यको आफ्नो खालको प्रभावभूमि रहेको हुन्छ । पौराणिक साहित्यको पनि निश्चित खालको सामाजिक आधार रहेको हुन्छ । यसबाहेक कुनैपनि साहित्यको परिकल्पना गर्न सकिदैन । पौराणिक साहित्यमध्ये गरुडपुराणको हाम्रो नेपाली समाजमा ठूलो प्रभाव रहेको छ । त्यसलाई ऐतिहासिक भौतिकवादी दृष्टिकोणका आधारमा विश्लेषण गर्ने यस लेखनको प्रमुख उदेश्य हो । समाज विकासको कुन चरणमा यस्ताखालको विचार प्रतिपादन भयो ? आदि विषयमा सुसङ्गत विश्लेषणको आवश्यकता छ। प्रसङ्गवस यस सम्बन्धमा एउटा घटनाको चर्चा गरिहालौं ः २०२४ सालतिरको कुरा हो त्यसवेला ११ दिन लगाएर पारायण गर्नुपर्ने महागरुडपुराणको कथा वाचन गर्ने अवसर पाएको थिएँ । त्यति बेला यस पुराणप्रति धार्मिक विश्वास पनि थियो । त्यसमा उल्लेख गरिएका अचम्म अचम्मका कुराहरूमा त्यति विश्वास थिएन तर पनि कथा वाचकको हैसियतले त्यो पारायणको कामलाई सफलतापूर्वक सम्पन्न गरेको थिएँ ।
वास्तविक रुपमा गरुडपुराण के हो ? नेपाली समाजमा यसको प्रभाव कस्तो छ, यो पुराणमा के छ, यसको रचना मानवसमाज विकासको कुन चरण र युगमा भएको हो र वर्तमान गरुडपुराणको सान्दर्भिकता के छ ? माक्र्सवाद र गरुडपुराणको के सम्बन्ध छ भन्ने बारेमा केही चर्चा गर्न गइरहेको छु ।
पूर्व मेचीदेखि पश्चिम महाकाली, उत्तर हिमालदेखि दक्षिण तराईमा बसोबास गर्ने सर्वसाधारण हिन्दूधर्म मान्ने नेपालीहरूले जम्माजम्मी ५ वटा पुराणका पुस्तकहरूको बारेमा केही न केही, कुनै न कुनै रूपमा ती कुराहरू सुनेका हुन्छन् । यिनै पाँचवटा पुस्तकहरूले जे– जस्ता दार्शनिक, धार्मिक र सामाजिक चेतनाको निर्माण गर्दछन् आम नेपालीहरूको औसत धार्मिक चेतना पनि तिनै पुस्तकहरूका कुराबाट बनेका हुन्। अहिले पनि तिनै पुस्तकहरूका कुरालाई हिन्दू धर्मावलम्बी नेपालीहरूले जबर्जस्त रूपमा मान्दछन् । यो क्रम आजभन्दा दुईतीन हजार वर्षदेखि शुरु भएको हो र अद्यावधि सोहीअनुसार अविच्छिन्न रूपले होम्रो समाजलाई मार्गदर्शन गर्ने चिन्तनका रूपमा क्रियाशील रहेको छ । अथवा हाम्रो समाजको धार्मिक सांस्कृतिक चेतनाको निर्माण यिनै पौराणिक पुस्तकहरूबाट भएको हो । ती पाँचवटा पुस्तकहरू भनेका “स्कन्द पुराण” बाट उद्धृत गरेको “स्वस्थानी व्रतकथा” र “सत्यनारायण व्रत कथा” महागरुड पुराणवाट उद्धृत गरेको “प्रेतकल्प” जुन पुस्तक मानिसको मृत्युमा क्रिया बस्दा सुन्ने÷सुनाइने गरिन्छ, “श्रीमद् भागवत पुराण” र “श्रीमद्देवी भागवत पुराण” हुन् । यी ग्रन्थहरूले जे–जस्ता विषयवस्तुहरू प्रस्तुत गरेका छन् जुन खालको फलश्रुतिको फल वर्णन गरेका छन् सोहिअनुसार धार्मिक पुजाआजादेखि लिएर जन्म, विवाह र मृत्यु संस्कार सम्मका मानव जीवनका आधारभूत कुराहरूका असली निर्देशन पनि यिनै पुस्तकहरूवाट निकालिएका निष्कर्षहरूवाट हुने गरेको छ। यिनै निष्कर्षहरूका आधारमा धार्मिक कानुनका रूपमा प्रस्तुत भएका पुस्तकहरू “निर्णय सिन्धु” र “धर्म सिन्धु” हुन् । आम नेपाली हिन्दूहरूको जन्म, कर्म, मृत्युको जुठो वार्नेदेखि लिएर मानव जीवनका धार्मिक समस्याहरूका टुंगो लगाउनुप¥यो भने यिनै ग्रन्थहरूको सहारा लिने गरिन्छ । यस्तो किसिमको धार्मिक महिमा गाएको पुस्तक नेपालीमा अर्को पुस्तक पनि छ त्यो हो “शिखरनाथ भाष्य”। हाम्रो सामाजको जे जस्तो रुढिवादी चिन्तन परिपाटी छ यी सबैको जड भनेको यही पुर्पुरो, परमेश्वर, परम्परा, परलोक र पुनर्जन्मका जन्मदाता उपरोक्त पुस्तकहरू नै हुन् । यस्ता विचारहरूको उत्पत्ति पनि समाज विकासको खास चरणमा पुग्दा भएको हुन्छ र समाज विकासको खास चरणमा पुग्दा स्वतः अनावश्यक भएर समाप्त हुन्छ । किनभने मानिसको चेतना सामाजिक रूपमा निर्माण भएको हुन्छ । जुन समाज जति अविकसित चरित्रको हुन्छ त्यो समाजमा यस्ता रुढिग्रस्त कुराहरू नै मौलाउने र झांगिने प्रशस्त आधारहरू हुन्छन् । यस्तै खालका विचार श्रृङ्खलाहरूको बोल–बाला रहन्छ र समाजको विकास रफ्तार जति विकसित हुँदै जान्छ त्यति नै मात्रामा यस्ता रुढिवादी अन्धपरम्पराजन्य कुरा स्वतः समाप्त हुँदै जान्छन् । कतिपय कुरा त हामीले आफ्नै जीवनकालमा पनि भोगिसकेका छौं । जुन प्रकारको धार्मिक र जातीय कट्टरता विगतमा हामीले भोग्नुपरेको थियो त्यो अहिले छँदैछैन । समयको क्रममा यो अझै विलुप्त भएर जानेछ । जति जति मानिसको जीवनपद्धतिमा आर्थात् शिक्षा, रोजगारी, यातायात, मनोरञ्जन र संचार माध्यमहरूमा परिवर्तन र विकास हुँदै जान्छ त्यति त्यति सामाजिक धार्मिक कट्टरताहरू पनि खुलुलिदै जानु अनिवार्य हुन्छ । यो वस्तुगत नियम हो । तर समाजका प्रगतिशील शक्तिहरूले समाजको विद्यमान उत्पादन पद्धतिलाई आमूल परिवर्तन गरेर नयाँ खालको उत्पादन पद्धतिमा जान चाहन्छन् । यसैलाई क्रान्ति वा आमूल परिवर्तन भनिन्छ र यस्तो आमूल परिवर्तनको कार्यमा लाग्दा राजनीतिक परिवर्तन जति छिटो हुन्छ आर्थिक परिवर्तन हुन अलि ढिलो हुन्छ र सांस्कृतिक र धार्मिक परिवर्तन हुन त्यो भन्दा पनि ढिलो समय लाग्छ । तर परिवर्तन अवश्य हुन्छ। यसलाई कसैले रोकेर पनि रोक्न सक्दैन । यो नै क्रान्ति वा परिवर्तनको विज्ञान हो । यस्तै खालको धार्मिक अवस्थाको चित्रण गर्दै एउटा अन्तर्वार्तामा कार्ल माक्र्सले भन्नुभएको छ:

“धर्मका विरुद्ध हिंसात्मक कारवाही गर्नु निरर्थक छ, समाजवादको विकाससँगै धर्म गायब हुदै जाने छ, धर्मको विलोप समाज विकासका कारणले हुनुपर्दछ र यसमा शिक्षाको नै महत्वपूर्ण भूमिका हुनुपर्दछ।”

(सन् १८७८ को अन्तर्वार्ता) मानवसमाजको विकासक्रमलाई नाप्ने प्रमुख मापदण्ड भनेको समकालिन उत्पादन पद्धति अर्थात उत्पादनका साधन, उत्पादक शक्ति र उत्पादन सम्वन्धहरू नै हुन् । समाज विकासको खास चरणमा जस्तो खालको उत्पादन पद्धति कायम हुन्छ सोहीअनुसारको सामाजिक चरित्रको निर्धारण हुन्छ । आजभन्दा १० लाख वर्ष पहिले मात्र समाजको अस्तित्व देखा परेको हो । त्यतिबेला समाज बन्नका लागि सामूहिक उत्पादन पद्धति भनेको भाषाको प्रयोग थियो । हतियारका रूपमा एक वस्तुनिष्ठ हतियारको उपयोग थियो । एक वस्तुनिष्ठ हतियार भनेको ढुङ्गो, लौरो वा यस्तै अन्य वस्तु हो । त्यस समाजमा वर्गीय अस्तित्व नै थिएन। यस्तो समाजलाई आदिम साम्यवादी वन्य युगको अवस्थाको निम्न चरण भनिन्छ । यस युगको अवधि करिव ५ लाख वर्ष रहेको खोजकर्ताहरुको अनुमान छ । समाज विकासको दोस्रो चरणको आदिम साम्यवाद युगका वन्य अवस्थाको मध्यचरण हो । यस अवस्थाको उत्पादनको साधन भनेको प्रमुख रुपमा आगो र द्विवस्तुनिष्ठका रुपमा अर्थात घन, बन्चरो र भाला हो, द्विवस्तुनिष्ठ हतियार भनेको एउटा वस्तुमा अर्को वस्तु जोडेर तयार गरिने हतियार हो । समाजको विकासको तेस्रो चरण आदिम साम्यवादी युगको वन्यअवस्थाको उन्नत चरण हो । यसमा मुख्य उत्पादनको साधन धनुषवाणको संयोजन हो । यो त्रिवस्तुनिष्ठ हतियार हो । यसमा तीनवटा कुरा, पहिलो काठ. दोस्रो डोरी र तेस्रो वाणवाट बन्दछ । यसरी एकवस्तुनिष्ठ, दिवस्तुनिष्ठ हतियार भन्दा त्रिवस्तुनिष्ठ हतियार धनुषबाणको दूर मारक क्षमता कता हो कता वृद्धि भयो । चौथो चरण भनेको आदिम साम्यवादी युगको बर्बर अवस्थाको निम्न चरण हो । यस युगका मुख्य उत्पादनका साधनहरु भनेको माटाका भाँडाहरुको उपयोग हो । पाँचौँ चरण भनेको आदिम साम्यवादी युगकै बर्बर अवस्थाको मध्य चरण हो । यस युगमा पशुपालन गर्ने चेतनाको अभिवृद्धि भयो । आदिम साम्यवादी युगको बर्बर अवस्थाको उन्नत चरणमा नहर प्रणालीको उपयोग हुनथाल्यो। यस युगको मुख्य उत्पादनको साधन पनि यही थियो । आदिम साम्यवादी युगको सातौं चरण भनेको विनियमका निम्ति उत्पादन हो। यसको मुख्य विशेषता भनेको एउटा समुदाय वा गणहरूले अर्को समुदाय वा गणसँग वस्तु सायसाट गर्ने चरण भनिन्छ। यसरी आदिम साम्यवादी युगको विकासलाई उसँग बस्तु साधनहरूका आधारमा वर्गीकरण गरेर बुझ्न सकिन्छ। यस युगको समयावधि करीब–करीब ९ लाख, साढे नौ लाख वर्ष जति रहेको अनुमान छ भने यस युगको दार्शनिक चिन्तन मूल प्राकृतिक भौतिकवाद रह्यो। यस युगमा वर्ग विभाजन थिएन । त्यसबेला न कुनै राज्य थियो न कुनै राजा थियो । न दण्ड दिनेवाला कोही थियो न त कुनै दण्डित नै थियो। त्यस अवस्थामा सबै मानिसहरू परस्पर सहयोग र समझदारीका आधारमा टिकेका थिए ।
समाज विकासका विभिन्न चरण र उपचरणहरू पार गर्दै आदिम साम्यवादी युग समाप्त भयो । त्यसपछि जब उत्पादकत्वमा वृद्धि भयो त्यसले समाजमा क्रमशः वर्ग विभाजन ल्यायो र व्यक्तिगत सम्पत्तिको विकासले वर्गयुक्त समाजमा दासयुगको सुत्रपात भयो । यो कुरा नै राज्यका उत्पत्तिको मुख्य कारकतत्व हो । जसरी आदिम साम्यवादी युगमा पनि पुराना चरणहरूभन्दा नयाँ चरणहरू स्वतः प्रगतिशील थिए, जसमा मानिसको जीवन पद्धति र चिन्तनपद्धतिहरूमा पनि क्रमशः परिवर्तन विकसित हुँदै गएको देखिन्छ । आदिम साम्यवादी युगको अन्त्यपछि विकसित उत्पादन पद्धतिको जगमा उभिएको समाज पुरानो समाजभन्दा प्रगतिशील हुनैपर्छ। त्यसकरण दास युग, आदिम साम्यवादी युगको अन्त्यपछि विकसित उत्पादन पद्धतिको जगमा उभिएको समाज पुरानो समाजभन्दा निश्चित रूपमा प्रगतिशील हुनैपर्छ। त्यसकारण दास युग, आदिम साम्यवादभन्दा प्रगतिशिल थियो र अहिलेको अवस्थाभन्दा दास युग स्वभाविक रुपमा पछौटे नै हुने गर्छ । त्यसैका आधारमा भन्न सकिन्छ दासयुगको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक, चिन्तनको प्रतिनिधित्व गर्ने साहित्य पुराण र पौराणिक ग्रन्थहरू नै हुन् । यी ग्रन्थहरूमा दास युगको सांस्कृतिक, आर्थिक, राजनीतिक झलक पाइन्छ । त्यही दास युगको उत्पादनपद्धति र त्यसबाट उब्जिएको चिन्तन पद्धतिहरूको संग्रहका रुपमा लेखिएका पुराणमध्ये गरुड पुराण पनि एउटा हो ।
पुराण भनेको पुराकथा हो । अथवा यो प्राग्ऐतिहासिक युगको जानकारी दिने “सेटेलाइट“ हो । जसरी आधुनिक विज्ञानले अहिलेसम्म प्राप्त गरेको ब्रम्हाण्डको दूरी २६ अरब प्रकाश वर्ष टाढा सम्मको छ । एक प्रकाश वर्ष भनेको ९.४६१०
१२ को स्क्वाएर हो । यो दूरी पत्ता लगाउन पृथ्वीबाट मात्र नाप्न नसकिने हुनाले अन्तरिक्षमा स्थापना गरेको भू–उपग्रहबाट हेर्दामात्र यो दूरी पत्ता लगाउन सकिएको हो । पुराणहरू पनि इतिहासका पुराकथाका सेटलाइट (भू–उपग्रह) जस्तै हुन् । त्यहाँबाट त्यो भन्दा धेरै पुरानो कुराहरूका बारेमा थाहा पाइन्छ । यसकारण पुराणहरू भनेको प्राचीन भन्दा प्राचीन समाजका कुराहरू बुझाउने सेटलाइट नै हुन् । पुराणहरूमा पाइने कथाहरू त्यो भन्दा पुरानो मानवसमाजका कथाहरू हुन् । यस्ता आधिकारिक कथावाचकहरूमध्ये शिव, वेदव्यास, भीष्म, वैशम्पायन, शौनक, शुकदेव, अगस्ति गरुड, मैत्रेय आदि कथा वाचकेहरू थिए । पुराणहरूमा यिनीहरूले बयान गरेको कुराहरूलाई नै पुराणकथाका रुपमा उल्लेख गरिएको पाइन्छ।
तत्कालीन समाजमा पुरानो जमानाका कुराहरू बताउने प्रसिद्ध व्यक्तित्वहरूबाहेक अरू पनि त्यस्ता व्यक्तिहरू थिए, जसले आफूभन्दा पुरानो जमानाका कुराहरू
सुनेको÷सुनाइएको रुपमा प्राप्त गरेका थिए, पछि तिनैलाई प्रस्तुत गर्थे । त्यसैकारण ती पुराण कथाहरू अधिकांश रुपमा चमत्कारी खालका अचम्म लाग्ने देखिन आएका हुन् । त्यस युगमा ईश्वरका चमत्कारी अवतारहरूले के गर्छन्, के गर्दैनन् त्यसको कुनै हिसाब किताब हुँदैन । यसरी नै पुराणहरूको निर्माण हुँदै गयो । यो समयको अन्तराल एक हजार वर्ष रह्यो । स्कन्दपुराणको रेवामहात्म्यमा अठार पुराणका प्रवक्ता, सम्पादक तथा लेखक व्यासदेव हुन् भनेर किटान गरेको छ ।
यी पुराणहरूमध्ये सबैभन्दा ठूलो आकारको पुराण स्कन्द पुराण हो जसमा ८१ हजार श्लोकहरू छन् । ब्रम्हपुराण र मत्स्यपुराण सबभन्दा साना पुराण हुन् जसमा १०÷१० हजार श्लोकहरू छन् । श्रीमद्भागवत र गरुडपुराणमा १८÷१९ हजार श्लोकहरू छन् । कुनै पनि यस्तो पौराणिक रचनाले पुराणको मान्यता पाउनको निम्ति निम्न कुराहरू अनिवार्य छन् जसका बारेमा स्कन्द पुराणमा भनिएको छ ।
“सर्गश्च प्रतिसर्गश्च वशो मन्वन्तराणि च
वशानुचरितश्चेति पुराणम्, पञ्चलक्षणम्”
अर्थात् जुन ग्रन्थमा सम्पूर्ण संसारको सृष्टि कसले गर्यो र त्यो कसरी भयो, यसको अन्त्य अथवा प्रलय कसरी भयो, यस धरतीमा कुन–कुन वंशका राजाहरूले राज्य गरे, मनु र मन्त्रतरहरूमा के कस्ता घटना र परिघटनाहरू भए ती कुराहरूको वर्णन गरिएको पुस्तकलाई पुराण भन्नुपर्दछ भन्ने मापदण्ड निर्धारित भयो । यी सम्पूर्ण पुराणहरू करीब ईशाको प्रथम शताब्दीदेखि दशौं शताब्दीसम्म एक हजार वर्षमा देखिएका हुन् । यी पुराणहरूमध्ये सबभन्दा पुरानो विष्णु पुराण हो, जसको भाषा वैदिक साहित्यको जस्तो कठीन छ । यी सबै पुराणहरूमा सबभन्दा राम्रो परिस्कृत कवितामा लेखिएको पुराण श्रीमदभागवत पुराण हो जसलाई समालोचकहरू सबैभन्दा राम्रो पुराण मानेका छन् । यसलाई पुराणहरूको राजा मानिएको छ । गरुडपुराण यिनै पुराण परिवारका महत्वपूर्ण सदस्य हो । जसको रचना ईशाको पहिलो शताब्दीमा भएको मानिन्छ । यस प्रसंगमा गरुड को हो ? भन्ने विषयमा उनको परिचय यसप्रकार छ । आदिम साम्यवादी युगका विभिन्न चरणहरूमा देखापर्ने गरेका गणहरू अनेकौं छन् । ती गणहरूले आफनो पहिचान दिनका निम्ति कुनै एउटा जनावरलाई आफ्नो झण्डामा अंकित गर्दथे । र त्यस गणले त्यो झण्डामा अंकित जनावरको मासु खाँदैन्थ्यो । त्यसै कुरालाई पौराणिक भाषामा “वाहन” वा “गणचिन्ह”भनिन्छ । जस्तै लक्ष्मीको वाहन “लाटोकोशेरालाई भने गणेशको वाहन “मुसो“ हो । त्यसैगरी वैनेतेय गणको चिन्ह “गरुड” जसलाई अंग्रेजीमा ‘इगल’ पनि भनिन्छ । यो गरुड वैनेतेय चिन्हधारी गणको गणपति हो । यसले आफ्नो आमा विनितालाई दासत्वबाट मुक्त पार्न अनेकौं संघर्षहरू गर्नुपर्यो । नागगणले गरुडकी आमालाई अपहरण गरेर दासी बनाएपछि आमालाई कसरी मुक्त पार्न सकिन्छ ? भन्ने कुरा गरेपछि इन्द्रका पासमा रहेको अमृत (त्यतिबेलाको बेजोड औषधि) ल्याएर दिन्छौं भने आमालाई दासत्वबाट मुक्त गरिदिन्छौं भनेपछि गरुडले इन्द्रसँग युद्ध गरेर त्यो औषधि ल्यायो र आफ्नी आमा विनितालाई दासत्वबाट विमोचित ग¥यो। यो एउटा प्रतिकात्मक कथा भए पनि यसको निहितार्थ दास व्यवस्थामा दासत्वका विरुद्धको संघर्षसँग लक्षित छ र यी नै गरुडसँग सम्बन्धित पुराणको नाम गरुडपुराण हो । १८ पुराणहरूमध्येको महत्वपूर्ण पुराण गरुडपुराणमा १९ हजार श्लोकहरू छन् । यसका दुईखण्ड छन् । एउटा पूर्वखण्ड अर्को उत्तर खण्ड । पूर्वखण्डमा तत्कालीन सामाजिक अनुसन्धान र विश्वासका आधारमा परिकल्पना गरिएको संसार कसरी उत्पत्ति भयो भन्ने कुरा, प्रजापतिको र गणपतिको उत्पत्ति कसरी भयो भन्ने बारेमा लेखिएको छ भने यसको उत्तरखण्डमा विभिन्न देवताको पूजा गर्ने तरिकाका बारेमा सम्झाइएको छ। कुनै पनि मतमा लाग्नुप¥यो भने कस्तो तरिका अपनाउनुपर्छ भन्ने सम्बन्धमा लेखिएको दीक्षाविधि छ । यस्तैगरी आफूबाट कुनै गल्ति भयो भने त्यसको आत्मालोचना र प्रायश्चित्त कसरी गर्ने भन्ने सवाल पनि छ । पुर्खाहरूको सम्मान र विहान बेलुका मानिसहरूले गर्नुपर्ने आचरण र तौर तरिका, जपतप र व्रतविधिका कुराहरू छन् । यस्तैगरी गरुड पुराणको उत्तर खण्डमा खानीबाट धातुहरूलाई निकालेर पगाल्ने तरिका, गृहस्थी जीवनको आचरण विधि, सन्यासी बनेका मानिसले गर्नुपर्ने कर्तव्य र रोगव्याधिको लक्षण र त्यसको पहिचान एवं उपचार विधि, कविता र गायनको नियम, छन्द शास्त्र, तरुनी आइमाईलाई कसरी फकाउन सकिन्छ भन्ने वंशीकरण मन्त्रका साथै त्यसको तौरतरिका उल्लेख छ । यसै पुराणको उत्तरखण्डमा “प्रेतकल्प”को वर्णन छ । मानिस मरेपछि कहाँ जाँन्छ? मरेका मानिसहरूप्रति जीवित मानिसहरूले शोक व्यक्त गर्ने तरिकाहरूका बारेमा पनि यथेष्ट वर्णन छ । यसै खण्डमा नरकको वर्णन पनि छ । नरकहरू भनेका दासयुगीन समाजमा दासका मालिकहरूले आफ्नो विरोध गर्ने विद्रोहीहरूलाई यातना र दण्ड दिने तौरतरिका हुन्। प्रत्येक पुराणमा दास मालिकहरूको सुखशयलहरूलाई स्वर्ग भनेर वर्णन गरिएको छ भने दासहरूलाई गरिने दण्ड र यातनाहरूको तौर तरिका बुझाउने गरी नरकहरूको वर्णन गरिएको छ । गरुड पुराणमा यी यातनास्थलहरू २७ किसिमका छन् र यिनीहरूमा अपराधअनुसार विद्रोही, पापी र सत्ताको विरोध गर्नेहरूलाई यथोचित रुपमा दण्ड दिने कुराको वर्णन गरिएको छ ।

गरुड पुराण र माक्र्सवादको सम्बन्धका बारेमा चर्चा गर्नुपर्दा माक्र्सवादी दर्शनको सबभन्दा महत्वपूर्ण दार्शनिक पक्षमध्येको एउटा प्रमुख विषय ऐतिहासिक भौतिकवाद हो ।

ऐतिहासिक भैतिकवाद भनेको यस्तो विश्वदृष्टिकोण हो जसका आधारमा मानवसमाजको विकासक्रमलाई वैज्ञानिक चिन्तनको आधारमा बुझ्न सकिन्छ । यही ऐतिहासिक भौतिकवादी दृष्टिकोणको आधारमा प्राच्यविद्या–विज्ञानको अध्ययन गनुपर्दछ । यी पुराणहरू भनेको मानवज्ञान र सभ्यताका विकासक्रम बुझाउने अमूल्य निधि र बौद्धिक सम्पदाहरू हुन् । यसका सम्बन्धमा महान् लेनिनले भन्नुभएको छ। “मानव जातिद्वारा सिर्जित र संग्रहित ज्ञान र विज्ञानको सम्पदालाई आत्मसात नगरिकनै कम्युनिष्ट बन्न सकिन्छ भन्ने सोच्नु भयंकर भुल हुनेछ । मानव जातिद्वारा सिर्जना र विकास गरिएको ज्ञान, विज्ञान, सम्पदावाट नै सांस्कृतिक सम्पदाको निर्माण हुन सक्दछ । यसै कुरालाई माओ त्से तुङ्गले भन्नुभएको छः “अतीतलाई आधुनिकताको सेवामा लगाऊ” भन्ने नीतिका आधारमा अध्ययन गर्नुपर्छ र त्यसबाट शिक्षा ग्राहण गर्दै आफ्नो सुदूर भविष्यको अनन्त यात्राका यात्रीहरू बन्न सकिन्छ । मुख्य कुरा दृष्टिकोणको सवाल हो । आफूसँग यदि प्रबल रूपमा ऐतिहासिक भौतिकवादी दृष्टिकोण छ भने यस्ता गरुडपुराणका कुराहरूबाट आतंकित हुनुपर्ने आवश्यकता रहँदैन । अहिलेको परिप्रेक्ष्यमा त्यसका सकारात्मक पक्षको मानवीय मूल्य र मान्यताको संरक्षण र त्यसैमा रहेका कतिपय मानवद्वेषी, परजीवी पछौटे चिन्तन सामाजिक रुपबाट नै परित्याग गर्नुपर्छ । माक्र्सवादले गरुडपुराणका विषयमा भनेका कुराहरू यिनै हुन् । माक्र्सवादले मानवीय ज्ञानसम्पदाको विरोध र अपमान कहिल्यै पनि गर्दैन अरू त्यसलाई वैज्ञानिक विवेचना गरेर त्यसमा रहेका भ्रान्त धारणाहरूलाई पन्छाएर प्रगतिशील चिन्तनका निम्ति अभिप्रेरित गर्दछ ।

के हो स्वर्ग–नर्कको कहानी ?

दास युगमा राज्यसत्ताको बागडोर खास गरेर दासमालिक ब्राह्मण, क्षेत्रीका हातमा रहेको थियो । समाजका अन्य उत्पादनशील जनताहरूमा राज्य शासनको शोषण चर्कोरूपमा विद्यमान थियो । पुराण, इतिहास, रामायण, महाभारत, मनुस्मृति, पराशरस्मृति, याज्ञवल्कस्मृति आदि हिन्दू धर्मग्रन्थहरूले दासका मालिक ब्राह्मण, क्षेत्रीय जातिको ऐश्वर्य र सुख सुविधा सम्पन्न विलासी जीवनलाई स्वर्ग र अन्य शोषित, उत्पीडित जातिहरूले भोग्नुपरेका दुःखमय जीवनलाई नरकको रूपमा चित्रित गरेको पाइन्छ । त्यसमा पनि खास गरेर शोषित उत्पीडित तल्ला जातका श्रमशील जनताका विद्रोहहरू दबाउन प्रयोग गरिएका विभिन्न किसिमका यातना दिइने पद्धतिहरू नै नरक थिए । यस्तो कि श्रीमद्भागवतको तृतीय स्कन्धमा साख्यदर्शनका प्रणेता कपिलले आफ्नी आमा देवहुतीलाई सुख, दुःख, नरककोबारेमा उपदेश दिदै भनेका थिए कि “अत्रैव नरकः स्वक इति मात ! प्रचक्षते
अर्थात् हे आमा ! स्वर्ग र नरक भन्ने कुरा यही जीवनमा र यहीं पृथ्वीमा छ ।
तत्कालीन समाजमा हुने अत्याचार, दासका मालिक बाहुन, क्षेत्री जातिको राज्यसत्तामाथि रहेको वर्चस्व र उनीहरूले अगाडि सारेका धर्म, स्वर्ग, नर्क, परलोक, पुनर्जन्म इत्यादि कुराहरूको तीव्र विरोध गर्दै तल्ला जातिहरूको विद्रोहको नेतृत्व गर्ने क्रममा एउटा सुसंगत भौतिकवादी चिन्तनको परम्परा पनि स्थापना हुँदै आएको पाइन्छ । आदिम सांख्यादर्शन भौतिकवादी भएको हुनाले त्यसका आचार्य कपिललाई ब्राह्मणहरूले प्रतिपादन गरेको स्वर्ग नरकको कुरामा पटक्कै विश्वास थिएन । त्यसैकारणले उनले स्वर्ग र नरक भन्ने कुरा यही जीवनमा छ भन्ने मानेका थिए। त्यस्तैगरी अन्य समाज सुधारक ऋषिमुनि र विचारकहरू समकालीन शासक वर्गको अन्याय अत्याचारका विरुद्धमा नै थिए ।

शासक जातिले तल्ला जातका श्रमशील जनतालाई सम्झाई बुझाई गरेर यस जीवनमा दुःख पाए पनि तिमीहरूले सहन गर्न सक्यौ भने मृत्युपछि अर्को जन्ममा स्वर्गको आनन्द भोग्न पाउँछौ भन्दथे तर स्वयं शासकहरूमा यस जीवनमा जस्तोसुकै दुःख भएता पनि अर्को जीवनमा स्वर्गको सुख पाइन्छ भन्ने कुरामा विश्वास थिएन परन्तु तल्ला वर्गले त्यसको प्रतिक्षा गर्नु उनीहरूको नियति नै थियो ।

कहिलेकाहीं दासका मालिक ब्राह्मण र क्षेत्रीहरूका विरुद्ध तल्ला जातका विद्रोहीहरूका संगठित वा असंगठित विद्रोहलाई दबाउन दिइएका यातनाहरू यतिसम्म भयानक हुन्थे कि अन्य विद्रोहीहरूले त्यस्तो विद्रोहलाई सहन हिम्मत गर्न सक्दैनथे। त्यसैले तल्ला जातिका मानिसहरूलाई जतिसुकै अपमानजनक व्यवहारहरू गरिएता पनि चुपचाप सहनुपर्ने बाध्यता थियो। यसै परिप्रेक्षमा दासका मालिक शासक जातिको जीवन यति विलासपूर्ण थियो कि त्यसैलाई उनीहरू स्वर्ग भन्ने गर्थे । आफूहरूले भने यही जीवनमा स्वर्गको जस्तो आनन्द भोगिरहेका हुन्थे भने अरूलाई त्यस्तो सुख भोग्न अर्को जीवन पर्खनुपर्ने बाध्यता थियो । कदाचित उनीहरूको ऐश आराम र विलासपूर्ण जीवनको आलोचना गरिएको खण्डमा त्यस्तो आवाज उठाउनेहरू नास्तिक, वेद निन्दक, लोभी, चोर व्यभिचारी आदि नाम दिएर अनेकौं किसिमका यातनाहरू दिने परिपाटी थियो । तत्कालीन दास युगमा भए गरेका घटनाहरू स्वर्ग र नर्कका रूपमा श्रीमद्भागवत, गरुड पुराण, मनुस्मृति आदि धर्मग्रन्थहरूमा व्यापकरूपमा उल्लेख गरिएको पाइन्छ । यसको प्रशंसा गर्दै स्वर्ग भनेको भारतवर्ष एउटा कर्म क्षेत्र हो । त्यसभन्दा बाहेकका हरिवर्ष, इलावर्ष, पुरुष वर्ष, भद्रवर्ष आदि ८ किसिमका वर्ष (क्षेत्रहरू) भनेका ठूलो पुण्य कमाएर त्यसको उपभोग गर्न जाने स्वर्ग भनिने ठाउँहरू हुन्। यी ठाउँहरूमा गएका मानिसहरूको स्वरूप देवताको जस्तो हुन्छ । हात्तीहरूको जस्तो बल हुन्छ । बज्रको प्रहारलाई सहन गर्न सक्ने एकदम सुन्दर बलिया र खुसियालीपूर्ण जीवन भएका, निरन्तर संभोगको आनन्द भोग गरिरहेका र त्यस्तो आनन्द त्रेता युगको समय जत्तिको लामो समयसम्म भोगिरहने मानिसहरू बस्छन् । ती ठाउँहरूमा देवताहरू आ–आफ्ना गणहरू मिलेर मोजमस्ती लुटिरहेका हुन्छन् । ती ठाउँहरूमा यस्ता यस्ता बगैचा र उपवनहरू छन् जसमा बाह्रै कालका फूलहरू फुलिरहेका हुन्छन् । रुखका लहराहरूमा पनि ढकमक्क फूलहरू र रुखहरूमा लटरसम्म फलहरू फुलिरहेका हुन्छन्। उतापट्टि हातले बनाइएका पहाडहरूबाट झर्र गर्दै झरनाहरू बगेका छन् । त्यही वरिपरिका पोखरीहरूमा निर्मल पानी छ जसमा राजहंस, पानी कौवा, सारस, काण्डा र चखेवा, चखेवीहरू प्रशस्त मात्रामा छन् र फूलहरूमा भंवराका झुण्डका झुण्ड उडिरहेका देखिन्छन । पोखरीका किनारहरूमा पौडी खेलेर थाकेका देवताका सुन्दरीहरूले कामोत्तेजना फैलाउने किसिमका हावभावहरू र हँसीठट्टा गरेर हेर्नेहरूलाई आफूतर्फ आकर्षित गर्दै स्वच्छन्द विचरण गरिरहने ठाउँ नै स्वर्ग भनेर जानिन्छ ।
यातनाका निम्न रूपहरू नै नरक हुन् भन्ने कुरा पुराण एवं धर्मशास्त्रहरूमा प्रशस्त रूपमा उल्लेख भएका छन् । नरक कहाँ छ, त्यो कस्तो र कति किसिमको हुन्छ ? त्यहाँ कस्ता–कस्ता अपराधीहरूलाई कुन–कुन प्रकारका अपराधहरूमा कस्ता–कस्ता दण्ड दिइन्छन् ? “एकपटक राजा परिक्षितले आफ्ना गुरु शुकदेवसँग प्रश्न गरे कि हे गुरु ! नरक भनेको कुनै देश विशेष हो कि अथवा यो लोकदेखि बाहिर कतै छ या यसै लोकमा छ त ? यसको उत्तरमा शुकदेवले भने कि यही लोकको माझमा दक्षिण दिशातिरको जमीनमाथि नै नरक भन्ने ठाउँ पर्छ । ती नरकहरू भनेका २१ किसिमका छन्, तिनीहरूको नाम र ती नरकहरूमा कस्ता अपराधीहरूलाई कस्तो दण्ड दिइन्छ भन्ने कुरा सविस्तार बताउँछु तिमी सुन। तामिक्ष, अँध्यारो, तामिस्र रौरव, महारौरव, कुम्भिपाक, कालसूत्र (अँध्यारो कुंवा), कृमिभोजना (कीरा ख्वाउने) सदेश, तप्सूर्भि जजकण्टशाल्मली, वैतरणी, यूदोद, प्राणरोध (सांस फेर्न नसकिने ठाउँ) विश्सनं लाल भक्ष, सारमेयोदन, अविचिरयवान् र यी बाहेक ७ किसिमका अरू पनि छन् । जस्तै क्षार कर्दम्, रक्षोगण भोजनशूल दन्दसूक अवद निरोधन, पर्यावर्तन, (उल्टो उटाँगेर झुण्ड्याउने) सूचिमुखम् (साँघुरो ठाउँमा भित्र बसाल्ने) आदि गरेर जम्मा २८ किसिमका विविध यातना दिने ठाउँहरू छन् ।
यी यातना दिन मुख्य मुख्य ठाउँहरूमा मुख्य मुख्य अपराधीहरूलाई यसरी यातना दिने गरिन्छ । कसैले पनि यो मेरो अधिकारको कुरा हो, मेरो पनि अस्तित्व छ, भनेर आफ्नो अधिकार देखाउन खोज्छ भने त्यस्ता अपराधीलाई यो ठाउँबाट छुट्याएर रौरव नामको यातना गृहमा लगिन्छ र त्यहाँ कठोर यातना दिइन्छ । जो मानिसले दासका मालिक बाहुनहरूको विरोध गर्दछ त्यस्तो उग्र स्वभावको मानिसलाई कुम्बिपाक (तताएको तेलको कराहीमा) हालेर यातना दिनुपर्छ– (यस्तु इह वै निज वेदपथात् अनपद्यगत पाखण्डं चउपगत तं असि पत्रवन प्रवेश्य कशाया प्रहरन्ति। तत्र हि असौ इतस्तत धावमान उभया धारै तलवन असि पत्रैः छिद्यमान सर्वाग हो ! हतोऽस्मि इति परमवेदनया मूर्तिछ पदे परे निपतति स्वधर्महा पाखण्डानुगत फल भुङते। (श्रीमद्भागवत पञ्चमस्कन्ध २६ अध्याय) “जसले वेद र धर्मशास्त्रको मान्यतालाई विरोध गरेर अर्को किसिमको मतमा विश्वास वा आचरण गर्न थाल्छ भने त्यस्ता अपराधीलाई तलवार जस्तो धारिलो पात भएको काँढैकाँढाको जंगलमा पसालेर कोर्राले हान्दै त्यही वनमा यताउति दगुराइन्छ । त्यहीं दगुर्दा त्यो अपराधीको शरीर धारिलो पातले काटेर सम्पूर्ण शरीर छियाछिया हुन्छ र लौ न म त मरें ! भन्दै मूर्छित हुन्छ । यसरी पाइला पाइलामा वेद, धर्मशास्त्र र यसको विधिविधानमाथि विश्वास नराख्ने पाखण्डीले आफूले गरेको अपराधको फल पाउँछ। (यस्तु इह वै स्तेयेन नलात वा ब्राहमणस्य हिरण्य रत्नदिनि अपरहरित अन्यस्य अनपादि पुरुष तं अमुत्र यम पुरुषः राजन् ! अयस्मयै अग्नपिण्डै संदेशै त्वचि निष्कुषनित । (श्रीमद्भागवत पञ्चमस्कन्ध २६ अध्याय) जुन तल्लो जातको भए पनि आत्मसम्मानको आधारमा बाँच्न चाहन्छ र त्यस मानिसले जात उपजातमा विभाजन गर्ने कुरालाई ठीक मान्दैन र त्यसको आलोचना गर्छ भने त्यस्तालाई ज्युदै दलदले हिलोमा उधोमुण्टो पारेर डुबाइन्छ र त्यस्ताले भयानक यातना भोग्नुपर्छ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation