रौतहटमा सम्पन्न उपनिर्वाचनमा राजनीतिक दलहरूले मिश्रित परिणाम हासिल गरेका छन्।
गढिमाई नगरपालिका वडा नम्बर ८ मा एकीकृत समाजवादी पार्टीका उम्मेदवार बजरंगी प्रसाद यादवले अप्रत्याशित जित निकालेका हुन्।
गढीमाई नगरपालिका-८ मा यादवले ६५५ मत प्राप्त गर्दै २४ मतको झिनो अन्तरले विजयी भएएका छ्न्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार जिउती देवी यादवले ६३१ मत प्राप्त गरिन् भने नेपाली कांग्रेसका सुबोध कुमार यादवले ६१७ मत पाए। यो वडामा २,२३७ मत खसेको थियो, जसमा मतदान प्रतिशत ८१।३१ रहेको थियो।
यसअघि २०७९ सालको स्थानीय तह निर्वाचनमा यस वडाबाट जनता समाजवादी पार्टीका रामअज्ञा यादव निर्वाचित भएका थिए। उनको निधनपछि यो वडामा उपनिर्वाचन भएको हो।
यस्तै नेपाली कांग्रेसले भने राजपुर नगरपालिका-६ र ईशनाथ नगरपालिका -७ मा विजय हासिल गरेको छ। राजपुर- ६ मा कांग्रेसका उम्मेदवार समसे आलमले ७४४ मत ल्याएर विजयी बनेका हुन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका जिकरुलाहले ४६३ मत र एमालेका मोहम्मद नसिम अख्तरले ४३१ मत पाए। यो वडामा १,७६६ मत खसेको थियो, जहाँ ६९.३६ प्रतिशत मतदान भएको थियो।
यस्तै, ईशनाथ-७ मा कांग्रेसकै उम्मेदवार शेख अब्दुल खलिकले ७२७ मत ल्याएर जित निकालेका छन्। उनका प्रतिस्पर्धी एमालेका शेख अनवारले ५७५ मत र एकीकृत समाजवादीका सदरे आलमले ४५२ मत पाए। यहाँ ६९.०८ प्रतिशत मतदान भएको थियो।
गढिमाइृ ८ मा काग्रेस पराजित हुँदा यसले मधेस प्रदेशमा राजनीतिक शक्ति सन्तुलनलाई प्रभाव पार्ने अनुमान गरिएको छ। गढिमाई-८ कांग्रेस मधेश प्रदेश सभापति कृष्णा यादवको गढ मानिएको थियो।