आज धान्य पूर्णिमा, योमरी पुन्हि, उधौली पर्व

मार्गशीर्ष शुक्ल अर्थात् मंसिरे पूर्णिमा। सनातन धर्मावलम्बीमाझ यो पूर्णिमा धान्य पूर्णिमाका रूपमा परिचित छ।

धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ। यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ।

नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले देवता र पितृलाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र संस्कृतिमा छ। विशेषगरी पहाडी भेगमा आज गोठपूजा (गोठधुप) गर्ने चलन छ। गोठ सफासुग्घर गरी गाईबस्तुको पूजा गरिन्छ।

कतिपय समुदायमा यो दिन  कुलदेवताको पूजा गर्ने चलन छ। स्थानीय भाषामा कुलदेवताको पूजालाई देवाली पनि भनिन्छ। कुलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर, नयाँ धानबाट बनेको चामलको खीर भोग लगाइन्छ।

नयाँ चामलबाट बनेको खीर, चामलको पीठोको बाबर र चामलको पिठोबाटै बनेको पुवा पकाएर कुलदेवतालाई चढाउने परम्परा पनि कतिपय समुदायमा  छ। कतिपय स्थानमा कुलदेवताका पूजामा पशुबलि पनि दिइन्छ।

नेवार समुदामा योमरी पुन्हि

नेवार समुदायमा ‘थिन्ला पुन्हि’ वा ‘योमरी पुन्हि’का रूपमा यो पर्वको महत्त्व छ। अघिल्लो दिनदेखि घर र शरीर शुद्ध गरी योमरी पकाउने चलन छ। लक्ष्मी, गणेश, कुमार, कुवेरलगायतका देवी देवतालाई चढाएर मात्र खाने चलन छ। धानको भकारीमाथि यी देवी देवतालाई राखी पूजा गर्ने परम्परा नेवार समुदायमा छ।

किरात समुदायमा उधौली

किरात समुदायका कतिपय जातजातिमा आज प्रकृति, पितृ र कुलदेवताको पूजा गर्ने चलन छ। उधौली किरात समुदायको मुख्य चाड हो।

अन्य जातिमा मंसिरे पूर्णिमा

लिम्बू जातिमा बाली भित्र्याएपछिको न्वागी खाने पर्वको रूपमा मंसिरे पूर्णिमा मनाइन्छ। लिम्बुहरूले चासोक तङनाम, राईहरूले साकेला, याख्खाहरुले चासुवा र सुनुवारहरूले फोलष्याँदर मनाउँछन्।

गुरुङले सिमेभूमेको पूजा गर्ने न्वागी खान्छन्। पूर्वका थारूहरूले नेमान गर्ने, आगनको ध्वजा फेर्ने गर्छन्। यस्तै यसै दिन छोराको ‘वर्तमन’ गर्ने चलन पनि छ। धानको च्युरा बनाएर सख्खर मिसाएर लड्डु बनाई देउतालाई चढाउँछन् र ‘नेमान’मा पूजा गर्छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation