पत्रु खाना र बेवारिसे जीवनशैलीले बिग्रेको स्वस्थ्य

मानिसलाई बाँच्नको लागि खाना अनिवार्य सर्त हो । आजको समयमा हर मानिसलाई बाँच्नुभन्दा स्वस्थ्य रहनु ठुलो चुनौति बनेको छ । जीवन स्वस्थ राख्नका लागि स्वस्थ खानासँगै हावापानी र वातावरण पनि स्वस्थ हुनुपर्छ । यी सबै कुराको लागि ज्ञान चाहिन्छ । ज्ञान प्राप्तिको लागि उपयूक्त शिक्षा चाहिन्छ । सही शिक्षा र ज्ञानविना जीवनमा मानिसले सार्थक रुपमा केही गर्न सक्दैन । स्वस्थ हुनलाई कस्तो खाना खाने, के खाने, कसरी खाने, कहिले–कहिले र कति खाने ? भन्ने कुरा निकै महत्वपूर्ण सवाल हो । नरसंहारकारी मानवीय गतिविधिका कारणले नासिदै गएको वातावरणलाई दुरगामी ढंगले स्वस्थ राख्नको लागि हरेक जिम्मेवार नागरिकले के गर्नुपर्छ, के खाने र कति खाने भन्नेमा चासो र चिन्ता शुन्य छ । सही ज्ञानको चरम अभाव छ ।

अहिले बजारमा पत्रु (जंक फुड) खानाको वर्चस्व छ । हामी पत्रु खानाको शिकार भएका छौँ । पत्रु खाना र अस्वस्थ जीवनशैलीका कारण अहिलेको नयाँ पुस्ता कलिलै उमेरमा दम, प्रेसर, सुगर लगाएतका विभिन्न रोगको शिकार भएको छ । हामीकहाँ रैथाने अन्नबालीको भणडार छ तर, रैथाने खानापिनमा कसैको ध्यान छैन । ध्यान, योगा र स्वस्थ्य जीवनशैली अपनाउनेबारे अधिकांशको चासो नै छैन । अहिले हाम्रो भान्सामा विष पाकिरहेको छ । हामीलाई दिर्घरुपमा पोषिलो होइन कि जिब्रोको लागि मिठो र स्वादिलो खाना चाहिन्छ । ट्वाक्क जिब्रोमा लाग्ने हुनुपर्‍यो । युवा पुस्ता चाउचाउ, चाउमिन, मम, पिज्जा, बर्गर, चटपटे, चाट, समोसा र विभिन्न प्रकारका मिठाइतिर आकर्षित छ ।

लागुपदार्थ, धुम्रपान र मध्यपानजन्य हानिकारक पदार्थको लत र त्यसले निम्त्याएको कहालिलाग्दो स्थितिको त बखान गरेर साध्य छैन । घरमा बा–आमाले बनाएको अर्गानिक खाना छोडेर होटेलमा गएर विभिन्न स्वादहरु चाख्ने र शरीरलाई प्रेसर, कोलस्ट्रोल, सुगरजन्य रोगहरुलाई आमन्त्रण गरेर बेडमा पल्टने नवपुस्ताको प्रतिस्पर्धा जस्तै छ । मोबाइल लत, पबजी र फ्रीफायरजन्य अनलाइन गेमले किशोरहरु रोबोर्टजस्तै बनेका छन् ।

मकै, कोदो, फापर, जौ जुनेलो, भट्टमास, लट्टे, गहुँ, गहत, सिमी र सागसब्जीमा स्थानीय रायोको साग, सिममा पाइने सिमे साग, निउरो, सिस्नो लगायत थुप्रै खाद्यान्न बाली तथा तरकारीहरु पाइन्छन् । यी खाद्यान्न तथा तरकारीहरु अत्यन्तै पोषिलो र स्वादिष्ट हुन्छन् । यी खानाहरुले बालबालिकाको वृद्धि विकासमा ठुलो सहयोग गर्छ । आजकल सहर बजारका साना ठुला सबै होटेलहरुमा कोदोको ढिडो र फापरको रोटी पाक्न थालेको छ । भात भन्दा कोदो र फापरको खाना अत्यन्त महंगोमा बिक्छ । तर हाम्रो गाउँघरमा बजारको कुहिएको चामलको भात पाक्छ । नजिकको तिर्थ हेला भने झै औषधीय गुणहरु भएको हाम्रो आफ्नै मौलिक पोषिलो खानालाई हेला गरेर बजारिया पत्रु खानामा आकर्षित हुनु दिर्घ स्वास्थ्यको लागि विषबमन हो ।

हामीभन्दा अघिल्लो पुस्ताले बजारिया पत्रु खानाको सामना गर्नुपरेन । रुघाखोकी लाग्दा तुलसी र टोप्रे नामको वनस्पति राखेर पकाएको पानी पिउदा रुघाखोकी÷ज्वरो छनक्क हुन्थ्यो । चिसोले सताएको बेला टिमुर, ज्वानो, अदुवा आदिको झोल पिउँदा सर्दी भाग्छ भन्ने कुरा थाहा छ तर, त्यसो नगरेर हामी तुरुन्त मेडिकलमा दौडेर औषधी लिइहाल्छौँ । अहिलेपनि भट्टमासलाई गरिबहरुको मासु मानिन्छ । मासुमा भन्दा बढी प्रोटिन भट्टमासमा पाइन्छ । भट्टमास मासु भन्दा सस्तो पनि पर्दछ । गाउँघरमा खाजाको रुपमा भट्टमास र मकै भुटेर खाने चलन अझै पनि छ ।

कोदो र फापरलाई उत्कृष्ट पौष्टिक तत्व भएको अन्न हो । त्यस्तै आलस र तीलमा पनि उत्कृष्ट पौष्टिक तत्व पाइन्छ । हामीकहाँ पाइने दालचीनी चिया र मसलाको रूपमा प्रयोग गर्दा प्रेसर र सुगर नियन्त्रण हुन्छ । सिस्नोको तरकारी वा खाना जे बनाएर खाएपनि शारीरिक तन्दुरुस्तीको लागि अब्बल ठहरिन्छ । हामीलाई थाहा नभएको र हाम्रो जानकारी भन्दा बाहिर रहेका थुप्रै खाद्यान्न, अन्नबाली र सागसब्जी तथा वनस्पतिहरु छन् जो हाम्रो शरीरका लागि बहुउपयोगी ठहरिन्छन् ।

हामीसँग जेजति उपलब्ध छ, त्यसैलाई सदुपयोगका साथ उपभोग गरेर स्वस्थ र सन्तुलित जीवनयापन गर्न सकिन्छ । हरेक कुरा राज्यले गर्देला भनेर आशा नगरी स्वास्थ खानपिन र जीवनशैली अपनाउने र नयाँ पुस्तालाई हाम्रा रैथाने खानपिन, जडीबुटी र बहुगुणी वनस्पतिको महत्व बुझाउन र प्रयोग गर्न सिकाउन जरुरी छ । तसर्थ अर्गानिक खानामा जोड दिउ बजारिया पत्रु खानाबाट सतर्क रहौँ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation