
४ फागुन, घोराही
जन्म र मृत्यु सम्बन्धी संस्कारहरू कति रूढीवादी कति वैज्ञानिक भन्ने विषयको विमर्श कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । प्राणमञ्च राष्ट्रिय मासिक र उदाहरण समूह नेपालकाे संयुक्त आयोजनामा शनिबार साे बहस कार्यक्रम भएको हाे ।
धार्मिक अतिवादले संसारमा सबैभन्दा धेरै मानिस मारिएका छन्: शशिधर भण्डारी
प्राणमञ्च मासिकका सल्लाहकार, लेखक, विश्लेषक, माक्र्सवादी राजनीतिज्ञ एवम् अध्येता शशिधर भण्डारीले कुनै समय यूराेपमा स्वर्ग जाने टिकट गाउँ शहरका चाेक-चाेकमा वितरण भएको इतिहास सुनाउँदै संसारमा सबैभन्दा बढी मानिसको मृत्यु/हत्या धर्मबाट भएको बताए ।
कार्यक्रममा बोल्दै शशिधरले मानव सभ्यताका जननी संस्कार र संस्कृतिलाई तत्कालीन शासकहरुले धार्मिककरण गरेर मानिसहरूलाई मिथ्या कल्पनाकाे रनभुल्लमा पारेकाे बताए । समाज समयक्रमसँगै निरन्तर विकासकाे चरणमा जाने भएपनि दक्षिण एसियाका शासकहमा भ्रष्ट मानसिकताका हावी भएको कारण समाजलाई धार्मिक पगरीमै गुथाएर आफ्नो राजनीतिक स्वार्थ सिद्ध पार्ने मनसायबाट धार्मिक फण्डा मच्चाइराखेको शशिधर भण्डारीले बताए । शशिधरले पितृसत्ताकाे उदयपछि सत्ता खाेस्न सक्छन् भन्ने आतंकले महिलाहरुलाई भाग्नबाट राेक्न र भागिहालेपनि समातेर सतीचितामा चढाउन सजिलाे हाेस् भनेर सारी, पेटिकाेट र धाेति लगाउन तथा कपाल पाल्न बाध्य बनाइएको इतिहास सुनाउँदै समयक्रममा कट्टरपन्थकाे पराजय र प्रगतिशिलताकाे उदयसँगै समाज अगाडि बढिरहेकाेले धार्मिक आवरणमा विद्यमान कुरिति र कुसंस्कृतिले एक न एक दिन डाँडाे काटेरै छाेड्ने बताए । कार्यक्रममा बोल्दै शशिधर भण्डारीले युरोपमा सयौँ वर्ष अगाडि सामाजिक, सांस्कृतिक र आर्थिक जागरणका ठुलठुला क्रान्तिहरु भएको कारण त्यो त्याे समाज निकै अगाडि पुगेकाे बताए । मानव चेतनामा आएकाे वाैद्विक जागरणकै कारण यूरोप विज्ञान र प्रविधिकाे क्षेत्रमा ठुलाे फड्को सफल भएको तर दक्षिण एसिया अतिवादी धार्मिककरणको चंगोलमा डुबेको कारणले समग्र विकास निर्माण एवम् समाजकाे अग्रगामी चेतनाकाे जागरण निकै पछाडि परेकाे बताए । उनले धर्मले मानिसकाे मुक्ति कहिल्यै पनि नहुने जिकिर गरे । शशिधरले तथ्य र तर्कको कसीलाई छोडेर मिथ्या र कल्पनामा आजको मानिस पनि जकडिनु निकै दुःखद भएको र यसलाई परिवर्तन गर्नको निम्ति हर मानिसहरुमा परिवर्तनको जागरण पैदा हुन जरुरी भएको बताए । विचार र दृष्टिकोणको निर्माणकाे अभावमा आजको युवा झन नराम्रो कुलतमा फसेको प्रति दुःख व्यक्त गर्दै शशिधरले आजको युवा एक्काइसौं शताब्दीको आधुनिक विज्ञान प्रविधिबाट सुसज्जित भएर तथ्य र तर्कमा आधारित रहेर बहस र छलफलमा भाग लिन जरुरी भएकोमा जोड दिए । उनले गरुणपुराणलाई तत्कालीन समाजको नियम कानुन बनाएकाे प्रसंग राखे । सेना, प्रहरी, कानुन र सरकार नभएको अवस्थामा टाठाबाठाहरुले गरुण पुराण जस्ताेे अँध्यारो र पुरातन कथात्मक आतंक त्यतिबेलाकाे प्रतिष्ठित ब्राह्मणलाई लेख्न लगाएर समाजलाई त्यसैको वरिपरि घुमाउन विवस बनाएकोमा खेद प्रकट गरे । गरुण पुराणकाे परिधिभित्र रहन नसके उसलाई दण्डित गरिने, सामाजिक रुपमा बहिष्कार गरिने गरी त्यस्तो प्रकारको कुरिती र कुसंस्कारकाे आडमा समाजलाई रिंगाइरहेकोप्रति उनले दुःख व्यक्त गरे ।
मृत्यु हुँदा ६ महिना कुना बार्ने चलन १३ दिनमा फेरिएको, सतिप्रथा जस्ता जघन्य क्रुर कुप्रथा हटेकाे र अरु कैयौं धार्मिक, सामाजिक र सांस्कृतिक कुप्रथाहरु हट्दै गएकाेले सामाजिक रुपान्तरण लामाे प्रक्रियाबाट गुज्रने र पुरानाे ढाेंग र रुढीवादकाे अन्त्य भएर नयाँ प्रगतिशील संस्कार स्थापित हुँदै जाने बताउँदै वर्तमान राज्यसत्ता हिन्दु धर्मग्रन्थबाट सञ्चालित हुनु धर्म निरपेक्षताकाे मर्मविपरीत भएको बताए ।
कसैलाई पनि फाइदा नहुने काम गर्नु मुर्खता हाे: जनक सी
कार्यक्रमका अर्का वक्ता जनक सीले कुनैपनि कामले परिवार, समाज र राष्ट्रकाे प्रत्येक्ष हित नहुने काम गर्नु ढाेंगी र मुर्ख काम भएको बताए । जनकले मृत्युपश्चात् कुनाे बारेर गरिने काजकिरिया, दानदक्षिणा गर्ने कार्यले मृतक, परिवार र समाजलाई के लाभ दिन्छ ? प्रश्न गरे । उनले समाजकाे अग्रगामी रूपान्तरणको निम्ति युवा पंक्तिमा दृढइच्छाशक्ति हुनुपर्ने बताए । साेही मान्यताबाट आफू प्रभावित माक्र्सवादी विद्यार्थी भएको हुनाले आफू समाजमा विद्यमान रुढीवादी परम्परा विरुद्ध लाग्दै वैज्ञानिक तथ्य र तर्ककाे पक्षमा लागेको बताए । उनले कुनै पनि काम गर्दा कसै न कसैलाई लाभ हुनुपर्ने तर्क राख्दै कसैलाई पनि लाभ नहुने काल्पनिक र मिथ्या कुराहरु आजको युवाहरूले छोड्न जरुरी रहेको बताए । मृत्युपछि मृतक, परिवार र समाजकै हित हुनेगरी सामाजिक काम गरेमा मात्रै मृतकप्रतिकाे साँचाे सम्मान हुनेमा जनकले जाेड दिए । धर्मकाे पगरी गुथाएर मृत्युपश्चात् गरिने धार्मिक विधिमा कुनै सत्यता नभएको बताए । उनले काजकिरीया वा अन्य प्रकारका हिन्दू संस्कारभित्रका कुरीतिहरूले समाजलाई निकै पछाडी पारेको बताए । जनकले आफ्नो बुबा बितेपश्चात् पारिवारिक सरसल्लाहमा काजक्रियामा भाग नलिएको बताए । उनले भने, ´हामीले बुवालाई बिरामी हुँदा उहाँको औषधि उपचार गर्यौ, के गर्दा सहज हाेला भनेर नियमित हस्पिटलमा राख्यौं, उहाँको दिशा पिसाब सोहाेरेर राम्रोसँग स्याहारसुसार गर्याेँ । उहाँलाई मन लाखेकाे कुरा खान दियौं र यसरी प्राण छँदासम्म उहाँलाई हामीले जसरी सहयोग गर्न सक्थ्याैँ त्याे सबै गर्याैँ । उहाँको मृत्युपश्चात हामीले ढोङ्गी पाराले काजकिरिया, दानदक्षिणा वा कुनो बार्ने लगायतका कुनै पनि धार्मिक गतिविधि गरेनौं ।” यस्ताे कार्यले कसैकाे पनि फाइदा नहुने निष्कर्षसहित आफूहरुले त्यसाे नगरेकाे दाेहाेर्याए । जनकले धार्मिक कुसंस्कारबाट बचेर आफ्नो परिवारले पहिलाे दिन प्रगतिशील दाहसंस्कार, दाेस्राे दिन त्रिफल (फल, फूल र वृक्ष) वृक्षारोपण, तेस्राे दिन विपन्नलाई राहत वितरण, चाैथाे दिन अक्षयकोषकाे स्थापना र पाँचौ दिन श्रद्धाञ्जली सभा गरेकाे बताए । यसरी उनले सामाजिक रुपान्तरणको दिशामा आफ्नो परिवारले क्रान्ति नै गरेको बताए । उनले तर्क र तथ्यकाे जगमा घरघरमा युवाहरुले सचेत पहल लिन निकै ढिलो भएको बताउँदै सबैले अग्रगामी समाज रुपान्तरणको निम्ति अगाडि बढ्ने हो भने समाज परिवर्तन हुन धेरै समय नलाग्ने दावी गरे । २१ औं शताब्दीको विज्ञान र प्रविधिले अन्तरिक्षमा (मङ्गल ग्रह)मा मानव जीवन खोजीरहेको वर्तमान परिस्थितिमा नेपाली समाजले काजकिरिया तथा अनेकौं कुसंस्कारकै नाममा महिनाैसम्म आफूलाई अल्झनमा राख्नु उसको समग्र व्यक्तिगत, पारिवार र राष्ट्रको विकासमा पनि ठूलो क्षति पुगेकाे बताउँदै धर्म निरपेक्ष राज्य नै हिन्दु धर्मकै व्यवस्था अनुसार सञ्चालित हुनु दुःख भएको बताए । एक प्रसङ्गमा उनले आफू आबद्ध रहेको नेपाल कम्युनिष्ट पार्टीले जन्म र मृत्युसम्बन्धी संस्कार नै पारित गरेर अगाडि बढाएको बताए। उनले भने, “हाम्रो पार्टीले मृत्यु संस्कारमा पाँच दिनसम्ममा सक्ने कार्यक्रम लिएकाे छ, मैले मेराे बुबाकाे मृत्युमा यही संस्कारलाई अंगाले । हरेक कामलाई वैज्ञानिक र वस्तुवादी बनाउने दिशामा आफू निरन्तर अगाडि बढेको बताए ।
महिलालाई मानिसकाे दर्जा नै दिइएको छैन: रिता सुवेदी
कार्यक्रमको अर्को वक्ता रिता सुवेदीले सामन्तवादी चरित्र बोकेको पुँजीवादी राज्यसत्ताले नारीहरूलाई मानिसको स्तरबाट कुनै पनि व्यवहार नगरेको, महिलाहरूलाई सधैं उपभोग्य वस्तुको रूपमा मात्र लिने र बच्चा उत्पादन गर्ने फ्याक्ट्रीको रुपमा परिणत गरेको दुखद स्थिति भएको बताइन् । उनले आफू बचपनदेखि नै समाजमा विद्यमान हरेकखाले कुरिती र कुसंस्कृतिको विरुद्ध लडेको र आफूलाई सो काममा लाग्नको निम्ति आफ्ना हजुरबुवाले निकै प्रेरित गरेको बताईन् । सुवेदीले महिलाबाट मातृसत्ता खाेसेपछि पितृसत्ताले विभिन्न दण्डस्वरुप चुरापाेते, सरी-धाेति आदि पहिर्याइदिएकाे र समयक्रममा त्याे बजारीकरणमा बदलिएको बताइन् । उनले आफू विवाह, व्रतबन्ध, घर-माइत, बजार जता जाँदा पनि गरगहना, सारी, चुरा-पोते, टिकी-डोरी आदि कुनै पनि पहिरन नगरेकाे बताइन् । यस्तो किन गर्दैनस् भन्ने प्रसङ्ग कसैले सोधेमा यी सबै लगाउनेहरूका पनि श्रीमानहरू बितेकै छन्, छोराछोरीहरु मरेकै छन् घर जलेकै छन्, प्राकृतिक एवं दैवी प्रकोपजन्य घटनाहरु घटेकै छन्। उनीहरुले धार्मिक संस्कार मान्दामान्दै पनि किन त्यसो भएको हो त ? उनले प्रश्न गरिन्याे साेह्र श्रृङ्गार पितृसत्तात्मक राज्यव्यवस्थाले लादेकाे पुँजीवादी विश्वकाे व्यापारवाहेक अरु केही नभएको तर याे कुरा नारिहरुले नै नबुझ्नु निकै लज्जास्पद भएको बताइन् । आफूले यस्ता प्रकारका रूढीवाद र कुसंस्कृतिका विरुद्ध बोल्दा ठाउँ ठाउँमा विभिन्न प्रश्नहरु आउने गरेपनि अबको समाजले यस्ता विषयहरुलाई सहज रुपमा स्वीकार्ने वातावरणको सिर्जना गर्न अबको पुस्ता दत्तचित्त भएर लाग्नुपर्नेमा रिता सुवेदीले जोड दिइन्।
धार्मिक जडबाट मुक्त नभए समाज बन्दैन- प्रमोद धिताल
कार्यक्रममाथि टिप्पणी राख्दै प्राणमञ्च मासिकका सल्लाहकार, अभियन्ता, लेखक एवं विश्लेषक प्रमोद धिताले समाजमा युवा वर्ग याे वा त्यो रूपमा घुमीफिरी धर्मकै पगरी भिर्ने लठैत समूह भएको बताए । उनले अब पनि उही धार्मिक अन्धविश्वास र कुरितिकै जालोमा जकडिने र बाउ-बाजे वा पुर्खाहरुले नै गरेको संस्कार ठिक थियो भन्ने हो भने विज्ञानले आविष्कार गरेका मोबाइल किन चलाउने, किन कम्प्युटर चलाउने, किन विज्ञान र प्रविधिले निर्माण गरेका यावत प्रकारका प्रविधिहरुको प्रयोग गर्नुपर्ने ? कुनै भगवानलाई पुकारेर सारा चिज प्राप्ति हुन्छ ? खाना, लुगाफाटो, बासस्थान आदि कुन भगवानकाे आविष्कार हाे ? तर्क छ कसैसँग ? उनले प्रश्न गरे । उनले छद्मविज्ञानले संसारमा झन् ठुलाे भ्रम पैदा गरेकाेप्रति सचेत हुन आग्रह गरे । धितालले संस्कृतिको रूपान्तरण जरुरी रहेको बताउँदै यो समग्र कुरा विचार निर्माणसँग जाेडिएकाे हुनाले मानिस वैचारिक रुपमा चेतनशील नहुँदासम्म समाजमा परिवर्तनको आवाज कसैले पुकारेर मात्रै नहुने हुनाले अबको पींढी सशक्त ढंगले विचार दृष्टिकोणकाे निर्माणमा लाग्न जरुरी रहेको बताए । हर मानिसमा हर वस्तुप्रति प्रश्न गर्दै तथ्य र तर्ककाे उन्नत चेतनाको विचारले नै समाज रुपान्तरण हुने उनकाे तर्क छ । एक प्रसङ्गमा उनले आजभन्दा दुई दशक अगाडिको पिढी अध्ययन, लेखन र बहसमा दत्तचित्त भएर लाग्ने भएपनि आजको समाज अध्ययन, बहस र छलफलमा भाग लिने विषय शून्य हुँदा मानिस चेतनाविहीन दुईखुट्टे पशुमा रुपान्तणित हुनु समाजको निम्ति ज्यादै दुःखद भएको बताए । उनले आफ्नो बुबाकाे मृत्युमा काजकिरिया नगर्दा कतिपय इष्टमित्रबाट निषेध सामना गरिएको अनुभूति सुनाए । उनले सांस्कृतिक अन्धविश्वास र कुसंस्कारको विरुद्ध लड्दा धेरै प्रकारका अनुभूतिहरू लिन पाएको बताए ।
कार्यक्रममा सहभागीहरुले धेरै एङ्गलबाट अतिथिहरुलाई प्रश्न गरे । कतिपयले “सबै परम्परा रूढीवादी हुँदैनन्” भने त केहीले “१६ संस्कार पूर्णतः रूढीवादी छन्” भन्ने तर्क प्रस्तुत गरे । हाम्रा संस्कार, परम्परा, र धार्मिक अभ्यास कति उपयोगी वा अनुपयोगी छन्? कति भ्रम हुन् वा वास्तविकता? याे तथ्य र तर्ककाे जगमा आम रुपमा बहस हुन जरुरी छ ।
सर्वोदय पुस्ताकालय घाेराहीमा आयोजित कार्यक्रममा साहित्यकार, राजनीतिकर्मी, पत्रकार, बुद्धिजीवी, नवजिज्ञासु विद्यार्थी लगायतकाे उपस्थिति रहेको थियो । प्राणमञ्च मासिकका प्रधान सम्पादक पदम प्रसाद पाेख्रेलकाे संयाेजकत्वमा भएको कार्यक्रमको सहजीकरण प्राणमञ्च राष्ट्रिय मासिकका सम्पादक घनश्याम अस्तित्वले गरेका थिए ।