प्रधानमन्त्री ओलीलाई राजीनामा दिन प्रचण्डको सुझाव

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन्।

आइतवार धनुषामा जनतासँग माओवादी तराई-मधेश जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारको काम कारबाहीमा सरकार सञ्चालन गरेयता प्रधानमन्त्री ओलीले उत्तीर्णाङ्क समेत नल्याएको भन्दै राजीनामा दिन आग्रह गरे। उनले प्रधानमन्त्री ओलीले शिक्षकमाथि गाली गरेको भन्दै आफैँ अनुत्तीर्ण हुने अनि शिक्षकलाई गाली गर्ने भन्दै प्रश्न गरे।

उनले मन्त्रिपरिषद्को कार्यसम्पादनमा प्रधानमन्त्री ओलीले २८ प्रतिशत मात्रै ल्याएको उल्लेख गर्दै अनुत्तीर्ण भएपछि पनि किन पदमा बसिरहेको  भन्दै चुनौती दिए। शिक्षकलाई गाली गर्न छोडेर स्वमूल्यांकन गरेर प्रधानमन्त्री छोड्न उनको सुझाव छ।

प्रचण्डले भने, ‘तपाईंले प्रधानमन्त्रीको कुरा सुन्नुभयो होला। ४८ प्रतिशत मात्रै पास गराउने टिचरलाई केको सुविधा भनेर उनले अझ मास्टरलाई गाली गरे। राज्यले उचित बजेट दिनुछैन। व्यवस्थापन गर्नुछैन। अझ शिक्षक र कर्मचारीलाई गाली गर्ने प्रधानमन्त्रीको बुद्धि। म के भन्न चाहन्छु भने प्रधानमन्त्रीजी तपाईंको क्याबिनेटको कार्य सम्पादन मूल्यांकनमा तपाईं २८ प्रतिशतमा पर्नुभएको छ। तपाईं त फेल नै हुनुभएको छ। किन बसिराखेको प्रधानमन्त्रीमा ? तपाईंले शिक्षकलाई गाली गर्न मिल्छ। तपाईंका मन्त्रीहरूको कोहीको १८, कसैको २१ प्रतिशत छ। तपाईंको २८ छ। यु आर फेल। आफ्नो मूल्यांकन गरेर प्रधानमन्त्री छोड्नु उचित हुन्छ तपाईंले। होइन भने जनताले तपाईंको नौटंकी हेरिरहेका छन्।’

प्रचण्डले नेपाली नागरिकमाथि वर्तमान सरकारले केही महिनाभित्रै ३ खर्ब ऋण बोकाएको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation