
आजको नेपाल कृषिमा आत्मनिर्भर छैन तर यो देश कृषिप्रधान देश हो । नेपाल हावापानीमा विविधता भएको प्राकृतिक सम्पदा र स्रोतहरूले भरिपूर्ण र सुन्दर छ । यहाँ उच्च हिमालको ट्रुण्डा हावा पानीदेखि उष्ण हावापानी पाइन्छ । एउटा अग्लो पहाडको फेदीबाट ५÷६ घण्टाको उकालो पैदल यात्रामा नै उष्ण, उपोष्ण र समसितोष्ण हावापानीको अनुभूति गर्न पाइन्छ । नेपालको तराइ तथा पहाडका खोँच, फाँट र बेसीहरू अन्न भण्डारका रूपमा परिचित छन् । नेपालमा असारदेखि मनसुनी वर्षा सुरु भएर असोजको पहिलो हप्तासम्म चल्दछ । नेपालको सबैभन्दा धेरै पानी पर्ने स्थान पोखरा हो । जहाँ ३,३४५ मिलिमिटरसम्म पानी पर्दछ । सबभन्दा कम पानी पर्ने क्षेत्र मुस्ताङ हो। मुस्ताङमा ३०० मिलिमिटर मात्र पानी पर्दछ। एक तथ्याङ्कअनुसार नेपालमा वार्षिक औसत १६०० मिलिमिटरसम्म पानी पर्दछ । नेपालको अधिकांश खेती प्रणाली मनसुनी वर्षामा निर्भर छ। विश्वका १० वटा अग्ला हिमश्रृङ्खलाहरूमध्य आठवटा हिम हिमश्रृङ्खला नेपालमै पर्दछन् ।
विश्वको सबभन्दा अग्लो हिम चुचुरो सगरमाथा नेपालमै पर्दछ । जसको उचाई ८८४८.८६ मिटर छ। नेपाल मनोरोम तालतलैया, हिमश्रृङ्लाहरू, मनोरम पहाडहरू, पुरातात्विक महत्व राख्ने मन्दिर, पौवा र स्मारकहरूले सम्पन्न छ । नेपाल कृषिका लागि मात्र होइन पर्यटन, जडिबुटी तथा ऊर्जा उत्पादनका लागि असिम सम्भावना बोकेको मुलुक हो । नेपालको हिमाल, पहाड तथा तराईका भूगोलहरु विभिन्नखाले पशुपंक्षी पालनका लागि उत्तम छ। नेपालको जुम्लामा विश्वको सबैभन्दा अग्लो ठाउँमा धान फल्ने गर्दछ । लुईचे (काँडेभ्याकुर)चरा पाइने देश विश्वको नेपाल मात्र हो । जर्मनीको ह्यामबर्गमा फल्ने विश्वका सबभन्दा मिठो र राम्रो अङ्गुर पनि नेपालको अरुण उपत्यकामा फल्दछ ।
हिन्द महासागरको किनारमा फल्ने फलफुलदेखि विश्वका अग्ला पहाडमा फल्ने फलफुलहरू नेपालको हावापानीमा फल्दछन् । नेपाल विश्वमा उत्पादन हुने अधिकांश अन्न तथा फलफुल सहजै उत्पादन हुनसक्ने मुलुक हो। नेपालको उत्तरी भागमा अवस्थित महाभारत पहाड तथा हिम श्रृङ्खलाहरूलाई विश्वको
‘वाटर बैंक’ भनिन्छ । नेपालबाट मात्र ६ हजार नदीनालाहरू भारततिर बग्दछन् । विश्वको सबभन्दा सस्तो मूल्यमा जलविद्युत उत्पादन गर्न सकिने माथिल्लो कर्णाली नेपालमै पर्दछ । ४ हजार १ सय ८० मेगावाट जलविद्युत उत्पादन गर्न सकिने जलाशययुक्त परियोजनाका रूपमा निर्माण गर्न सकिने सो परियोजनाको कुल लागत बढीमा ७ खर्ब मात्र हो भन्ने कुरा अमेरिकी तथा नेपालका जलस्रोत विज्ञहरूले आँकलन गरेका छन् । चीनको ‘थ्री गर्जेज’ परियोजना त्यहाँको विकासको स्वर्णद्वार भएजस्तो नेपालको आफ्नै बलबुतामा माथिल्लो कर्णाली परियोजना सुरु गर्ने हो भने त्यो नै नेपालको विकासको स्वर्णद्वार बन्न सक्दछ ।
नेपालको प्रसिद्ध नदि कालीगण्डकीको बगरमा शालिग्राम भेटिए जस्तै रोल्पा उद्गम भएर प्युठान दाङ हुँदै भारततिर बग्ने माडी राप्ती नदिको बालुवामा सुन भेटिन्छ । माडीमा मिसिन आउने लुङग्रीका एउटा शाखा सुनछहरीकै नामले प्रसिद्ध छ । नेपालमा फलाम, तामा, अभ्रख, सिसा लगायतका धातुहरूको खानी तथा प्राकृतिक ग्याँसका खानी पनि छन् ।
नेपाल एउटा हरियालीपूर्ण तथा मनोरम मुलुक हो । देशलाई समृद्ध बनाउन सक्ने भारी सम्भावना भएको मुलुक हो । यो मुलुकमा राम्रो सरकार र राम्रो व्यवस्था स्थापना हुने हो भने यो देशलाई दक्षिण एसियाको सबैभन्दा समृद्ध, सम्पन्न र सुखी बनाउन सकिन्छ । त्यसका लागि यो मुलुकले कृषि, ऊर्जा, जडीबुटी र पर्यटनको क्षेत्रमा हात हाल्न जरुरी छ । नेपाल एउटा त्यस्तो देश हो जहाँका प्रत्येक जडीबुटी औषधीय गुणले भरिपूर्ण छन्। तर यो मुलुकको ठूलो दुर्भाग्य हामीले राम्रो नेता र राम्रो व्यवस्था पाउन सकेका छैनौं । त्यसैले आज भएका प्राकृतिक स्रोत साधन तथा सस्तो जनशक्ति भएर पनि नेपाल परनिर्भर र पछौटेपनको सिकार भइरहेको छ । यति धेरै सम्भावना बोकेको देश सस्तो जनशक्ति निर्यात गर्ने हरिकंगाल मुलुकका रूपमा उभिन विवश छ । खराब राजनीति, खराब व्यवस्था र खराब नेताहरूको पल्टनका कारण यस्तो भएको हो ।
नेपालमा भएका विभिन्न अध्ययनहरू अनुसार नेपालमा २१ प्रतिशत जमिनमा खेती गर्न सकिन्छ । ७ प्रतिशत जमिन बाँझा छन् । पाँच लाख घरपरिवारको गाउँका घरमा कोही बस्दैनन् । नेपालका ६६ प्रतिशत जनताको पेशा कृषि रहेको छ । कृषिले तिनको आधारभूत खर्च पनि धान्दैन । कृषि प्रणाली परम्परागत छ । ८१ लाख जनता गरिबीको रेखामुनि रहेका छन् । २७ प्रतिशत जनता बहुआयामिक गरिबीको रेखामुनि रहेका छन् । मुक्त कमैया, भूमिहीन किसान र सुकुम्बासीका समस्या जहाँको त्यही छन्। मुक्त हलिया, गोठाला तथा हरुवा–चरुवा लगायत समाजको तल्लो तहका जनताको अवस्था अत्यन्त दयनीय छ । यो देशमा दास युग बिर्साउने जात व्यवस्था छ । देशमा वर्गीय उत्पीडनका अतिरिक्त जातीय, क्षेत्रीय, लिङ्गीय, भाषिक, सांस्कृतिक तथा धार्मिक विभेदहरूको अन्त्य भएको छैन । राज्यसत्ता दलाल नोकरशाह तथा बचेखुचेको सामन्तवादको हातमा छ । शासन सत्तामा जो गए पनि उस्तै नै हुँदै आएको छ । जनताले मात्रात्मक अन्तरको पनि राम्ररी अनुभूति गर्न पाएका छैनन् । नवउदारवादी अर्थनीति, कमिसनतन्त्र, दलालीकरण तथा निजीकरणमा आधारित भूमण्डलीकृत पुँजीवादी शोषणका कारण दुनियाँलाई पाल्ने किसान वर्ग सबभन्दा उत्पीडित, दमित र पीडित छ । नेपालको दलाल संसदीय व्यवस्था अन्तर्गत शासनसत्तामा जाने राजनीतिक पार्टीहरु किसान मैत्री छैनन् । हाम्रा शासकहरु दलाल तथा नोकरशाही पुँजीपति र राष्ट्रिय चोरमैत्री छन् । तिनीहरूले देशका असीमित सम्भावनाहरूलाई पर्दा हालेर देशलाई परनिर्भर तथा हरिकंगाल बनाएका छन् । शासन सत्तामा बस्नेहरू स्वयं दलाल छन् । यस्ता देशघाती तथा राष्ट्रिय चोरहरूको सरकारसँग कुनै राष्ट्रवादी भिजन छैन । साम्राज्यवाद तथा विस्तारवादको सेवा, चाकरी, राष्ट्रघात जनघात नै यिनको राजनीतिक जिन्दगी भएको छ ।
नेपालमा सन् १९७८ मा एउटा कृषि अड्डाको स्थापना भएको थियो । त्यो सरकारी संस्थाको स्थापना भएपछि नेपालको कृषि क्षेत्रको विकास र आत्मनिर्भर अर्थतन्त्रमाथि धमिरा लाग्न सुरु भएको देखिन्छ। त्यस यताको नेपालको कृषि क्षेत्रको विकासको इतिहास एउटा मृत्युको इतिहास हो । त्यस यता देशमा धेरै राजनीतिक परिवर्तन भए तर किसानका जिन्दगीमा परिवर्तन ल्याउने एउटा पनि वैज्ञानिक कार्यक्रम आएन। देशमा परनिर्भरताको चक्र सुरुवात भयो। देश नवउदारवादी अर्थतन्त्रको दिशामा गएपछि भूमण्डलीकृत पूँजीवादले किसानलाई निचोर्न थाल्यो । राष्ट्रिय उत्पादनलाई हाइबी्रड उत्पादनले निल्दै जान थाल्यो । नेपाल जस्ता देशको उत्पादन ह्रास सिद्धान्तको जगमा भरपर्दै जान थालेपश्चात् नेपालमा परनिर्भरताको ग्राफ पनि उकालो लाग्दै लाग्दै जान थाल्यो । त्यसको परिणाम आज नेपालले एक अरबको त गुन्द्रुक बाहिरबाट आयात गर्छ। वार्षिक ३० अरबको चामल, फलफुल, तरकारी, माछाको तेल, मसला, विभिन्न प्रकारका तेलसहित ६१ अरबको र अन्य मासुजन्य पदार्थ करिब ३ अरबको आयात हुन्छ । नवउदारवादी अर्थतन्त्रको लाइनमा नेपाल उभिन थालेपछि देशका दर्जनौं कलकारखाना सरकारले कौडीको मूल्यमा दलाल पुँजीपति वर्गलाई बिक्री ग¥यो। त्यसबाट नेताहरुले अरबौं कमिसन हात पारे । दलाल पुँजीपति वर्ग कलकारखाना चलाउन छोडेर व्यापारमा लाग्यो । त्यसबाट नेपालको अवस्था थप परनिर्भरतातिर धकेलियो । आज मुलुकमा एक खर्बको त खाद्यान्न तरकारी र फलफुल मात्र आयात हुन्छ । यो नेपालको कृषि क्षेत्रको दारुण चित्र हो ।
नवउदारवादले जुटमिल बन्द गरेपछि तराईको सनपाट खेतीलाई नष्ट पा¥यो । बुटवल धागो कारखाना तथा हेटौडा कपडा कारखाना बन्द भएपछि नेपालमा कपास खेतीले बजार पाएन र ध्वस्त भयो। भृकुटी कागज कारखाना बन्द भयो । नेपालको चुरे पहाडको खर बिक्री हुन छोड्यो । नेपालका गरिब किसान तथा मजदुरको चुरे पहाडमा घाम ताप्दै खर काट्ने हिउँदे रोजगारी समाप्त भयो । वीरगञ्ज चिनी कारखाना बन्द भयो । त्यससँगै तराईका फाँटमा उखु खेती हरायो । दलाल पुँजीपतिले केही चिनी कारखाना सञ्चालन गरे तर दलाल पूँजीपतिहरूले झण्डै तीन दशकदेखि उखु किसानहरूलाई ठग्दै आएका छन् । आफूले उधारो बेचेको उखुको पैसा नपाएर वर्षौंदेखि उखु किसानले आन्दोलन गरिरहेका छन् । पटकपटक खालीखुट्टा माइतीघर मण्डलामा धर्ना बस्दछन् । सरकारसँग हारगुहार गर्दछन् तर यो दलाल संसदीय व्यवस्थाका मन्त्रीहरू उखु किसानलाई ठग्ने दलाल पुँजीपतिसँग पाचतारे होटलमा विदेशी ब्रान्डको रक्सी पिएर बस्दछन् ।
विभिन्न तथ्याङ्कका अनुसार आज नेपालका ३४ वटा जिल्लाहरूले खाद्य असुरक्षाको संकट झेलिरहेका छन् । नेपालका दर्जन बढी पहाडी तथा हिमाली जिल्लालाई आफ्नो उत्पादनले ३ महिना पनि खान पुग्दैन । देशको झन्डै आधा खाद्यान्न अवैध घरेलु मदिरा उत्पादनमा खर्च भइरहेको छ । त्यसलाई व्यवस्थापन गर्ने भनिएका नियामक निकायहरू आफैं भक्षक छन्। हाइब्रेट उत्पादनका लागि रासायनिक मल नभई हुँदैन बीउ पनि महँगो मूल्यमा बजारबाटै किन्नुपर्ने हुन्छ । तर किसानलाई समयमै मल बीउ उपलब्ध गराउनुपर्छ भन्ने कुरामा सरकार जवाफदेही छैन । समयमा मल बीउ नपाएर किसानहरु चिन्ताग्रस्त भएर बजारमा घुमिरहन्छन् । यो दलाल संसदीय व्यवस्थाका मन्त्रीहरु स्टार होटलमा मनोरञ्जन गरिरहेका हुन्छन् । सरकारले राष्ट्रिय उत्पादनलाई प्राथमिकतामा राखेर बजार व्यवस्थापनसम्म ग्यारेन्टी गर्न सक्दैन । दुनियाँलाई दानापानी उपलब्ध गराउने किसान सफा र सम्मानित हुनुपर्ने हो तर नेपालमा किसानभन्दा बित्तिकै फाटेका कपडा लगाएको होला, अनजान होला, कपडाहरु महिला होलान् र फोहरी होला भन्ने मनोविज्ञानले हामी सबैको दिमागमा घर गरेर बसेको हुन्छ । जहानिया राणा शासनको अवस्थादेखि आजसम्म धेरै राजनीतिक परिवर्तन भए तर समाजको आधारभूत वर्ग किसान वर्गको जीवनस्तरमा परिवर्तन हुन सकेको छैन ।
यस्तो गए गुज्रेको अवस्थामा रहेको मुलुकलाई सकारात्मक संक्रमणको दिशामा अगाडि बढाउन नेपालमा ठूला–ठूला किसान आन्दोलनहरू भएको इतिहास छ । पश्चिम नेपालमा भीमदत्त पन्तको नेतृत्वमा ‘कि जोत हलो कि छोड थलो’ भन्ने नारामा आधारित आन्दोलन चलेको थियो । त्यस दौरानमा किसान नेता भीमदत्त पन्तको हत्या नै गरिएको थियो । कम्युनिस्ट पार्टीहरूको नेतृत्वमा पनि देशमा ठूलाठूला किसान आन्दोलनहरु भएका थिए तर किसानका मूलभूत समस्या समाधान भएनन् र यो दलाल तथा नोकरशाही पूँजीपति वर्गको व्यवस्था अन्तर्गत हुँदैनन् पनि । त्यसैले किसानलाई वास्तविक रूपमा मुक्त गराउन दलाल पुँजीपतिरहित नेपाल, भ्रष्टाचार, कमिसनतन्त्र र विचौलिया रहित नेपाल, सामन्तवादको बचेखुचेको तत्वरहित नेपाल, समग्रमा आजको कर्पोरेट पूँजीवाद, क्रोनी पूँजीवाद तथा दलाल पूँजीवाद ध्वस्त भएको नेपाल स्थापना गर्नुको विकल्प छैन । यसका लागि जनताको जनगणतन्त्रात्मक नेपाल र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना भएको नेपाल सिर्जना गर्नु सच्चा क्रान्तिकारी कम्युनिस्ट क्रान्तिकारीहरुको ऐतिहासिक अभिभारा हो । त्यो अभिभारा पूरा गर्न प्रतिक्रियावादी राज्य सत्ताका विरुद्ध लाखौं किसान तथा मजदुरको संगठित पहलमा प्रथमतः चोटिलो र प्रभावकारी जनसङ्घर्ष, प्रतिरोध सङ्घर्ष र अन्त्यमा सशस्त्र जनविद्रोह मार्फत विजय प्राप्त गर्दै अगाडि बढ्नुपर्ने कार्यदिशा नै आजको सही क्रान्तिकारी कार्यदिशा हो । जुन कार्यदिशा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अवलम्बन गरेको छ । यही कार्यदिशामा आधारित निर्णायक संघर्षले मात्र उत्पीडित किसान मजदुरलाई वास्तविक मुक्तिको मञ्जिलमा पुर्याउन सक्दछ । नेपालका किसानहरुको मूक्ति र राष्ट्रिय उत्पादन तथा आत्मनिर्भरताको शत्रु दलाल पुँजीवाद हो । दलाल पुँजीवादको समुल ध्वस्त पार्न कर्तव्य सच्चा क्रान्तिकारीहरुको हो ।