हराएका पुरुष जङ्गलमा मृत फेला

२८ फागुन, काठमाडौं

काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन घरबाट हराएको १७ दिनपछि शिवपुरी जङ्गलमा मृत भेटिएका छन् ।

फागुन १० गते महर्जन घरबाटै हराएकामा खोजतलासका क्रममा  मंगलबार तारकेश्वर नगरपालिका–३  पाँचमानेस्थित शिवपुरी जङ्गलमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

श्रीमतीसँग झगडा परेपछि घरबाट हराएको जानकारी प्राप्त भएको र घटनाको अनुसन्धान थालिएको उनले बताए । महर्जनको शव मुचुल्का उठाएर परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पठाइएको उनले बताए । मृत्युको कारण भने नखुलेको प्रवक्ता बोहराले जानकारी दिए ।

यस्तै तार्केश्वर नगरपालिका-१० मनमैजु फूलबारी टोल बस्ने गोरखा धार्चे गाउँपालिका-४ घर भएकी ६५ वर्षीया बिसानी गुरूङ आफ्नै कोठामा मृतावस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

उता काठमाडौँ गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा नयाँ पुलस्थित सडक किनारमा बिग्रिएर पार्किङ गरी राखेको हाल नम्बर नखुलेको स्काभेटरमा आगलागी हुँदा जलेर क्षति भएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation