बिआरआई नेपालको सर्वोत्तम हितमा रहेको झलनाथको दाबी

पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले देशले राष्ट्रिय आवश्यकता र हितका आधारमा बिआरआईको उपयोग अधिकतम गर्नुपर्ने बताए।

उनले अनुदान, साझेदारी, सहुलियतपूर्ण ऋण र व्यावसायिक ऋणको कुरा गर्दा नेपालले व्यावहारिक र तर्कसंगत विकल्पहरूसहित परियोजनाहरू छनौट र वार्ता गर्नुपर्ने बताए।

सन्तुलित र अग्रगामी दृष्टिकोण अपनाएर नेपालले दिगो विकास र आर्थिक वृद्धि हासिल गर्न बिआरआईका फाइदाहरू उपयोग गर्नसक्ने बताए। पूर्वप्रधानमन्त्री खनालले चीनले आफ्नो विश्वव्यापी प्रभुत्वको लागि बिआरआई ल्याएको हो भनेर पश्चिमी देशहरुले गलत प्रचार गरिरहेको पनि बताए।

पूर्वप्रधानमन्त्री खनालले भने, ‘चीनले आफ्नो विश्वव्यापी प्रभुत्वको लागि बिआरआई ल्याएको हो भन्ने प्रचार भइरहेको छ। यो पश्चिमी संसारको आवाज हो। व्यावहारिक रूपमा हामी बिआरआई प्रयोग गरेर नेपाल वा अन्य देशहरूमा चीनको प्रभुत्वको कुनै प्रमाण र संकेत देख्दैनौँ। बेल्ट एण्ड रोड इनिसिएटिभ सम्बन्धी नेपालको नीति सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रिय हितको सिद्धान्तमा आधारित छ। हाम्रा दुई महान छिमेकीहरू छन्। तिनीहरू दुवैको अर्थतन्त्र द्रुत गतिमा विकास भइरहेको छ। यी दुई द्रुत गतिमा विकासशील छिमेकीहरू पनि हाम्रा अवसर हुन्। हामीले तिनीहरूको विकासबाट लाभ उठाउन यो अवसरलाई सदुपयोग गर्न सक्षम हुनुपर्छ।’

पूर्वप्रधानमन्त्री खनालले केही मानिसहरूले पोखरा विमानस्थल चीनको ऋणको पासो हो र यसलाई निर्माण गर्नु गल्ती थियो भनेर प्रचार गर्ने गरेको र लुम्बिनी विमानस्थलको बारेमा पनि यस्तै हल्ला फैल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation