
४ चैत, काठमाडौँ
नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले संविधानको गम्भिर र निर्मम समीक्षा गर्ने वेला भएको बताएका छन्।
राष्ट्रियसभाको सोमवारको बैठकमा उनले यस्तो बताएका हुन्। उनले संविधान जारी भइसकेपछि संसदका प्रायः सबै पार्टीहरुले सरकारको नेतृत्व गरे पनि अपेक्षाकृत उपलब्धि दिन नसकेको बताए।
उनले संविधानले प्रत्याभूत गरेको जनताको हक र अधिकार दिन सकियो कि सकिएन यसको समीक्षा गर्न अब विलम्ब गर्न नहुने बताउनु भयो ।
‘संविधान जारी भइसकेपछि यहाँसम्म आइपुग्दा हामी सबैले जसरी भए पनि सरकारको नेतृत्व गरेकै छौँ। यो संविधानको कार्यान्वयनबाट हामीले जनतालाई के कति उपलब्धि दिनसक्यौँ? संविधानले ल्याएका संरचना र यसको भावको समीक्षा गर्ने वेला आएको छ‚’ उनले भने, ‘हामीले संविधानलाई जनताको हितमा प्रयोग गरेका छौँ कि छैनौँ? हामीले नयाँ संविधानबाट जनताको स्वास्थ्यमा जनताको शिक्षामा‚ जनताको अधिकार प्रचलनमा ल्याउन सकेका छौँ कि छैनौँ? यसको गम्भिर र निर्मम समीक्षा गर्ने वेला भएको छ।’
फरक प्रसंगमा सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिहरुबारे परिवर्तनकारी दलहरुले गम्भिरतापूर्वक ध्यान दिन नसकेको समेत बताए।
उनले पूर्वराजा शाहले पनि स्पष्टरुपमा जनतासामु आफू पनि राजनीतिको मैदानमा आएको भन्नुपर्ने बताए। उनले पूर्वराजा शाहले समेत राजनीतिक दलहरुजस्तै जनतासामु नीति तथा कार्यक्रम पेश गर्नुपर्ने धारणा राखे।
उनले संविधान मान्ने र परिवर्तनको पक्षमा रहेका दलहरुसमेत एकजुट भएर उभिने वेला आएको बताए।
‘उहाँले जनतासामु म अब राजनीतिक खेलाडीको रुपमा मैदान आए भन्न सक्नुपर्छ। उहाँले मेरो नीति तथा कार्यक्रम यो हो भनेर भन्न सक्नुपर्छ तर राजा आउँछ है भन्ने सन्देश दिएर सर्वसाधारण जनतालाई भड्काउने जुन काम भएको छ‚’ उनले भने, ‘त्यसमा हामी परिवर्तनकारी दलहरुको जुन किसिमको दृढता हुनुपर्ने थियो त्यो म देखिरहेको छैन। परिवर्तन र संविधानको मूलभूत विषयको पक्षमा रहेका सबै राजनीतिक दलहरु एकपटक फेरि एकताबद्ध भएर उभिने वेला हो।’
राज्य सञ्चालनको अथवा संविधानको त्रुटी पहिचान गरी जनताको आवश्यक सुधारको लागि सबै तयार हुनुपर्ने उनको भनाइ छ।