ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु, स्थिति तनावग्रस्त

१० चैत, बाँके

पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्यु भएपछि बाँकेको डुडुवा गाउँपालिका–२, बेतहनी क्षेत्र तनावग्रस्त बनेको छ। विद्यालयबाट घर फर्किँदै गरेका दुई बालकलाई ट्यांकरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो।

बेतहनीस्थित नौरीगौडी एकेडेमीको एलकेजीमा अध्ययनरत बालक विशाल गोडिया र शिवकुमार गोडियालाई भे१ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिएको हो।

बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार स्कुलबाट फर्किँदै गर्दा बेतहनी चोकमा ट्यांकरले उनीहरूलाई ठक्कर दिएको थियो। प्रत्यक्षदर्शीका अनुसार ट्यांकरको ठक्करबाट सडकमा लडेर चिच्याउँँदै गरेका बालकलाई पछाडिबाट ट्यांकरले किचेको थियो।

मृतक बालक दाजुभाइ भएको प्रहरीले जनाएको छ। घटनापछि स्थानीयले ट्यांकरमा आगजनी गर्नुका साथै प्रहरी चौकीमा ढुंगामुढा र आगजनी गरेका छन्। स्थानीयवासीले ढुंगामुढा गरेपछि घटनास्थल तनावग्रस्त बनेको हो।

प्रहरी र स्थानीयबिच झडप भएपछि प्रहरीले दर्जनौँ अश्रु ग्याँस र केही राउन्ड हवाई फायरसमेत गरेको छ।

चालकलाई कारबाहीको माग गर्दै स्थानीयले प्रहरी चौकी बेतहनी घेराउसमेत गरेका छन्। प्रहरीले चालकको संरक्षण गरेको आरोप स्थानीयले लगाएका छन्। अहिले घटनास्थलमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ। बालकको घटनास्थलमै मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको एसपी कार्कीले बताए। स्थानीयले दुवै बालकको शव सडकमै राखेर प्रदर्शन गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation