प्रधानमन्त्री ओली भन्छन् – तिललाई पहाड बनाइँदैछ, केही अर्थ छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बर्खास्तीप्रति लक्षित गर्दै केही व्यक्तिले तिललाई पहाड बनाइरहेको आरोप लगाएका छन्।

मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाद्वारा लिखित पुस्तक ‘म र मेरो सानोबुबा’ आत्मकथाको लोकार्पणलाई सम्बोधन गर्दै उनले तिललाई पहाड बनाइन थालेको र यसको कुनै अर्थ नभएको बताएका हुन्।

उनले इस्यु पायौँ भन्ने हिसाबले केही समूहहरुले विरोध शुरु गरिसकेको आरोप लगाए। आफूले आइडोलोजी नभइ देशप्रतिको निष्ठा हेर्ने गरेको र देश सबैको साझा भएको उनको भनाइ थियो।

उनले आफूले देश र जनताको हितको लागि इमान्दारितका साथ काम गरिरहेको दावी गरे।

‘मैले आइडोलोजी त्यति धेरै हेर्दिनँ, देशप्रतिको निष्ठा हेर्दछु। आइडोलोजी आफ्नो-आफ्नो हुन सक्छन्‚ देश साझा हो। तरिका सोचहरु फरक फरक हुनसक्छन् तर गन्तव्य एउटै हो देश‚’ प्रधानमन्त्री ओलीले भने, ‘तिलको पहाड बनाएका छन्। त्यसैलाई समातेर खुब हल्लाखल्ला गर्ने चलन छ। अहिले पनि केही सानो एउटा त्यान्द्रो विषय पाएका जस्तो लाग्यो केही मानिसलाई उफ्रिरहेका छन्, कुदिरहेका छन्। इस्यु भेटियो भनेर हिजैदेखि वक्तव्यबाजी शुरु भएको छ‚ यही त्यान्द्रोलाई नाग बनाउनुपर्छ भनेर कुदेका छन्। केही अर्थ छैन।’

प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा रहेको व्यक्तिलाई सरुवा गरेर अवकाशप्राप्त भइसकेको व्यक्तिलाई नियुक्त गरेको होइन भन्दै प्रश्न गरे।

उनले पहिलो ४ वर्षमा कति उज्यालो आएको थियो र पछिल्लो पटक नियुक्ति गर्नेबित्तिकै उज्यालो आएको हो भन्दै प्रश्न गरे। वर्षौँ लगाएर गरेको मेहनतलाई जादु र चमत्कार भनेर प्रचार नगर्न पनि उनले चेतावनी दिए।

‘एकजना मित्रको मैले स्टाटस पढेको थिएँ। त्यहाँबाट अवकाश प्राप्त भइसकेको मान्छेलाई त्यहीँबाट हुर्किएर आएर त्यहीँ कुनै बाहिरबाट खोजेर ल्याएको होइन, त्यहीँको क्याडरलाई नियुक्त दिएको हो, बाहिरबाट कतैबाट खोजेर ल्याएर होइन‚ त्यस्तो मान्छे निष्काशन गर्नुभयो। अर्को ठाउँमा निकम्मा बनाएर सरुवा भनेर राखिदिनु भयो‚’ प्रधानमन्त्री ओलीले भने, ‘रिटायर्ड मान्छेलाई ल्याएर राखिदिनु भयो। उहाँले उज्यालो ल्याउनुभयो भनेर व्याख्या गर्नुभएछ। अघिल्लो ४ वर्षको कार्यकाल पूरै त्यहीँ काम गर्नुभएको हो। त्यसबेला ल्याउनुभएको थियो कि उहाँले नियुक्त गर्नेबित्तिकै आगो बोकेर आउनुभयो, बिजुली, चिम, ट्रान्समिसन लाइन बोकेर आउनुभयो कि? वर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई जादु, चमत्कारको रुपमा व्याख्या गर्ने!’

प्रधानमन्त्री ओलीले पूर्वराजा शाहप्रति लक्षित गर्दै एउटा व्यक्तिलाई मानेर, एउटा संस्था र एउटा व्यक्तिका खानदानलाई मानेर हिँड्ने सामन्ती चिन्तनमा अबको युग जान नसक्ने जिकिर गरे।

लोकतन्त्र दुनियाँको सबैभन्दा राम्रो प्रणाली भएको दावी गर्दै अझै यसलाई परिष्कृत गर्दै अघि बढाउने उनले बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation