बुद्धः क्षणभङ्गुरताका महान दार्शनिक

समाज, विचार, राजनीति सबैको उद्भव र विकास देश, काल र परिस्थितिमा निर्भर गर्छ ।
दर्शनमा यसलाई कार्यकारणवाद भनिन्छ । ईसापूर्व सातौँ/छैठौँ शताब्दीमा, जतिबेला दक्षिण एसियामा उपनिषद्का आध्यात्मवादी दार्शनिक विचारहरु परिपक्व हुँदै थिए, यसको विपरीत अन्य विचारधाराहरु पनि सक्रिय थिए । त्यतिबेला वैदिक धाराका आध्यत्मिक दार्शनिक विचारको विपरीत यस्ता दार्शनिकहरु पनि देखिन थालेका थिए, जो जीवन र जगतसम्बन्धी रहस्यहरुको हल वैदिक परम्पराभन्दा बाहिर भौतिकवादी विचारहरुको माध्यमबाट गर्न चाहन्थे । दक्षिण एसियाली आर्यहरुको प्रारम्भिक समाज जब पितृसत्तात्मक व्यस्थाबाट सामान्तवादी व्यवस्थामा विकास भयो, सुरुमा यसका दुईवटा शाखाहरु देखिए । पहिलो कुरुपञ्चाल, जसले हालको भारत र पाकिस्तानमा पर्ने पञ्जाब र यसका वरिपरी राज्यसत्ताको विकास गरायो । अर्कोे मल्लबज्जी जसले भारतको मध्यप्रदेश, बिहार र नेपालको सीमा क्षेत्रमा आफ्नो सामन्तवादी प्रजातान्त्रिक राज्यको विकास गरे । ईसापूर्व सातौँ /छैठौँ शताब्दीमा सामान्यतः दर्शनका तीनवटा प्रणाली विकसित थिए
वैदिक (ब्राह्मणनुयायी) आर्य
अवैदिक (ब्राहमणभन्दा स्वतन्त्र) आर्य
र अनार्य
वैदिक र अवैदिक आर्यहरु भिन्न भिन्न जनपदहरुमा बस्थे, तर अनार्यहरु दुबैखाले जनपदहरुमा बस्थे । राज्यहरु राजतन्त्र र लोकतान्त्रिक दुबैखाले राज्यहरु थिए । तर त्यतिबेला वैदिक आर्यहरुको राज्य अधिकांश राजतन्त्रात्मक थियो भने अवैदिक आर्य र अनार्यहरुमा अधिकांश लोकतान्त्रिक राज्य थियो । दार्शनिक विचारको विकासको दृष्टिले पनि वैदिक आर्यहरुमा अधिकांश कर्मकाण्ड र आध्यात्मिक विचारको विकास भैरहेको थियो, भने अवैदिक आर्य र अनार्यहरुको दर्शन, मनोविज्ञान र जीवनशैलीमा भौतिकवादी चेतनाको प्रभाव बढी थियो ।

सिद्धार्थ गौतम, जो पछि गौतम बुद्ध वा बुद्धको नामबाट प्रसिद्ध भए, अवैदिक आर्य परम्पराका थिए । त्यतिबेला वैदिक परम्पराभन्दा भिन्न स्वतन्त्र विचारकहरुको एउटा पंक्ति नै देखिन्छ । पूर्णतः प्रारम्भिक जड भौतिकवादी दार्शनिक चार्वाकहरु बुद्धभन्दा धेरै पुराना हुन् । बुद्धका समकालीन स्वतन्त्र विचारकहरुमा भौतिकवादी अजित केशकम्बल, मक्खलि गोशाल, नित्यतावादी पूर्ण काश्यप, प्रक्रुध कात्यायन; अनिश्चिततावादी सञ्जय वेलट्ठिपुत्त, निगंठ नाठपुत्त र सर्वज्ञतावादी बर्धमान महावीर (जैन)को नाम आउँछ । बुद्ध आफै अभौतिक क्षणिक अनात्मवादी थिए । बुद्ध लगायत वैदिक परम्पराभन्दा भिन्नका दार्शनिकहरुलाई वैदिकहरुले नास्तिक भने । नास्तिक, अर्थात् जसले वेदलाई प्रमाणिक मान्दैन, परलोकको अस्तित्वमा विश्वास गर्दैन । आस्तिक, जसले वेदलाई प्रमाण मान्छ र परलोकको अस्तित्वमा विश्वास गर्छ । मनुले वेद निन्दकलाई नास्तिक भने । बुद्ध यस्तै आस्तिक र नास्तिक अन्तर्विरोधी विचार तथा वैविध्यपूर्ण सामाजिक संरचना बीच जन्मे ।

ईसापूर्व ५८३ मा नेपालको लुम्बिनीमा सार्वकालिक महान विचारक मध्येका एक बुद्ध अर्थात् सिद्धार्थ गौतमको जन्म भयो ।

बुद्धको जन्मको समयमा दक्षिण एसियामा एउटा राजाका अधीन रहेका १६ वटा राज्य (जनपद)को नाम पाइन्छ ः अङ्ग, मगध, काशी, कौशल, बज्जि, मल्ल, चेदि, वत्स, कुरु, पाञ्चाल, मत्स्य, सौरसेन, अस्मक, अवन्ति, गान्धार र कम्बौज । तत्कालीन साहित्यहरुमा यस अतिरिक्त केही यस्ता राज्यहरुको उल्लेखपनि पाइन्छ जसमा कुनै एउटा राजाको स्थायी आधिपत्य थिएन । यस्ता राज्यहरुमा कपिलवस्तुका शाक्य, वैशालीका लिच्छवी, मिथिलाको विदेह, रामगामका कोलिय आदि थिए । जुन राज्यमा कुनै एउटा राजको आधिपत्य थियो, त्यसलाई ‘जनपद’, र एकभन्दा बढी राजकुलले राज्य सञ्चालन गर्ने राज्यलाई ‘संघ’ वा ‘गण’ भनिन्थ्यो ।

सिद्धार्थको जन्म र पालनपोषण
बुद्धको जन्म शाक्यहरुको कपिलवस्तु गणतन्त्रमा भएको थियो । त्यतिबेला कपिलवस्तुमा अनेक शाक्य राजकुल (परिवार)हरुले शासन गर्थे । बौद्ध साहित्यहरु विनयपिटक, बुद्धचर्या र मज्झिनिकाय अट्ठकथा आदि विविध ग्रन्थहरु अनुसार कपिलवस्तुमा राज्य गर्ने राजाहरुमा भद्दिय र दण्डपाणि आदिको नाम पाइन्छ । बुद्धको जन्मको समयमा उनका पिता शुद्धोधन राजा थिए ।

महामाया शुद्धोधनकी पत्नी थिइन् । महामाया गर्भवती भइन् । एकपटक महामायाले आफ्नो माइती देवदह जाने इच्छा व्यक्त गरिन् । शुद्धोधनले काँधमा बोक्ने डोलीमा राखेर सेवकहरुको साथ उनलाई माइती पठाइदिए । बाटोमा शालको रुख भएको वन थियो, जसलाई लुम्बिनी भनिन्थ्यो । महामायालाई प्रसव पीडा भयो । उनी डोलीबाट झरिन् र एउटा शालवृक्षको हाँगा समातेर उभिइन् । त्यो वैशाख पूर्णिमाको दिन थियो । शालवृक्ष मुनी नै महामायाले एउटा बालकलाई जन्म दिइन् । बालकको नाम सिद्धार्थ राखियो । बुद्ध जन्मेको स्थल लुम्बिनी हाल नेपालको रुपन्देही जिल्लामा पर्छ । त्यसको ३१८ वर्षपछि ईसापूर्व दोस्रो शताब्दीमा मौर्य सम्राट अशोकले आफ्नो बीसौँ राज्याभिषेकको अवसरमा बुद्ध जन्मेको ठाउँमा एउटा पाषाण स्तम्भ स्थापित गर्न लगाए ।

लुम्बिनीमा यो अशोक स्तम्भ हाल विश्वभरीका बौद्ध धर्मामवलम्बीहरुको आस्था तथा पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । सम्भवत वनमा बालक जन्माएको कारण तत्काल उनको उचित उपचार हुन सकेन होला, बच्चा जन्माउनुसँगै महामाया बिरामी भइन् र सात दिनपछि उनको मृत्यु भयो । शिशु बालक सिद्धार्थको पालन पोषण महामायाकी बहिनी प्रजापति गौतमीले गरिन् । तत्कालीन समयका अनेक आचार्य र दार्शनिकहरुबाट सिद्धार्थले शिक्षा र प्रचलित विद्याहरुको ज्ञान प्राप्त गरे ।
सिद्धार्थ सानै उमेरदेखि सम्वेदनशील र कारुणिक थिए । पिता शुद्धोधनसँग उनी गएको बेला किसानहरुलाई अतिशय परिश्रम गरिरहेको देखेर उनी द्रवित हुने गर्थे । उनका राजकुलका मित्रहरुको पारम्परिक मनोविज्ञान अनुसार श्रमजीवि मजदूरहरुको जन्म मालिकहरुको सेवाको निम्ति नै भएकोले किसानहरुले खेतमा श्रम गर्नु स्वाभाविक थियो । तर एउटाले अर्कोको मिहनेतमा मोज गर्नु उचित छैन, भनेर सिद्धार्थले भन्थे ।

उनका मित्रहरु उनको भनाई सुनेर हाँस्थे । सिद्धार्थ किशोरावस्थामा नै आफ्नो हातले हलो चलाउँथे । आमा प्रजापति गोतमीले छोरालाई क्षत्रीयहरुको धर्म शासन र युद्ध गर्नु हो भनेर सिकाउँदा सिद्धार्थले प्रतिवाद गर्थे । उनले भन्थे, ‘एउटाले अर्कालाई मार्नु धर्म हुनसक्दैन ।’ सिद्धार्थमा किशोरावस्थादेखि नै विरक्त भाव विकसित हुँदै गएको देखेर राजा शुद्धोधन चिन्तित भए । साधुहरुको बहकाउमा परेर छोरा कतै घर र राजकाज छाड्छन् कि भन्ने उनलाई डर लाग्यो । त्यसैले उनले कोलिय गणको राजा दण्डपाणिकी १६ वर्षीया सुन्दर र शालीन छोरी भद्रा कापिलायनी (यशोधरा)सँग उनको बिहे गरिदिए ।
सिद्धार्थ केही दिन रोकिए, गृहस्थ भए । २८ वर्षको उमेरमा उनलाई छोरा प्राप्त भयो । आफूभित्र विकसित हुँदै गइरहेको विचारका प्रवाहहरुलाई राहु झै ग्रसित गरिरहेको प्रतीक ठानेर उनले छोराको नाम राहुल राखे । तर विवाह र छोरा जस्ता सांसारिक भोगहरुले पनि उनमा विकसित दार्शनिक सम्वेदनशीलतालाई रोक्न सकेन । समाजमा व्याप्त अज्ञान, अन्धविश्वास, धोका, ऊँचनीच, जाति र वर्ण व्यवस्था, मानवीय तृष्णा आदि मानवीय विषयहरुले उनलाई कारुणिक र सम्वेदनशील बनाई रह्यो ।

गृह त्यागको निर्णय
बुद्ध कथाहरुमा सिद्धार्थ गौतमले गृह त्यागको निर्णय गर्नुको पछाडी उनले वृद्ध, रोगी मृत र प्रब्रजित (सन्यासी)को चारवटा दृश्य देखेर उनमा घोर विरक्ति जन्मेको प्रसंग प्रचलित छ । तर दिग्घनिकाय आदिमा रोहिणी नदीको विवादमा सिद्धार्थ गौतमले युद्धको विरोध गरेपछि राज्यको विरोधको कारण उनले गृहत्याग गर्नुपरेको भनिएको छ । शाक्य (कपिलवस्तु) र कोलिय (रामगाम)को बीचमा बग्ने रोहिणी नदी दुबै गणमा खेती र सिँचाईको एकमात्र साधन थियो । वर्षा नभएर नदीमा जलको कमीको कारण दुबै गणबीच विवाद सिर्जना भयो र युद्धको स्थिति समेत बन्यो । दुबै तर्फका नेता तथा सेनापतिहरुले यसलाई प्रतिष्ठाको विषय बनाए । तर सिद्धार्थले युद्धमा हजारौँ मानिसहरुको अनाहक मृत्यु हुने हुनाले वार्ताबाट समस्याको हल खोज्न युद्ध रोक्नुपर्ने प्रस्ताव गरे । शाक्य सभाले उनको प्रस्तावको विरोध ग¥यो र उनलाई कमजोर, काँतर र अनुभवहीन भन्यो । केही स्रोतहरुका अनुसार युद्धको विरोध गरेको कारण शाक्यसभाले उनलाई राज्य त्याग गर्न आदेश दिएको थियो भने केही अन्य स्रोतहरुमा उनको प्रस्ताव सुन्न र बुझ्न कोही तयार नभएपछि समाजमा विद्यमान हिंसा, अहंकार र स्वार्थको गहिरो जरा तर्कबाट मात्र बदल्न नसकिने र समाजलाई मानवताको नयाँ मार्ग देखाउन आवश्यकताको बोध गरेर आत्मचिन्तन गर्न उनले गृहत्यागको निर्णय गरेको भनिएको छ ।

२९ वर्षको उमेर (ईसापूर्व ५३४)मा एकरात पत्नी र छोरालाई सुतेकै अवस्थामा छाडेर सिद्धार्थ चुपचाप घरबाट बाहिरिए । सिद्धार्थको यो गृहत्याग उनको बुद्ध बन्ने प्रक्रियाको पहिलो पाइला थियो ।

बुद्धत्वको खोजी र प्राप्ति
गृह त्यागपछि बुद्ध ज्ञानको खोजीमा सबैभन्दा पहिले योगाचार्य आलार कालामको आश्रममा गए । आलार कालामले उनलाई केही योग विधिहरु सिकाए, तर यसले सिद्धार्थको जिज्ञासा पूरा भएन । तीनवर्ष आलार कालामको आश्रममा बिताएपछि उनि त्यहाँबाट हिँडेर उद्रक रामपुत्त (उद्रक रामपुत्र) कहाँ गए । उनले पनि सिद्धार्थलाई योगको शिक्षा नै दिए । उनले रामपुत्तको आश्रममा पनि तीनवर्ष बिताए । यसरी ज्ञानको खोजीमा भौँतारिँदै उनको छ वर्ष बित्यो । तर उनको ज्ञान जिज्ञासा अपूर्ण नै रह्यो । केही गरी वास्तविक ज्ञानप्राप्ति नभएपछि उनले घोर तपस्या गर्ने निर्णय गरे । त्यसपछि उनले भारतको बोधगया (उरुवेला)मा निरञ्जना नदीको किनारमा कठोर तपस्या गरे । कठोर तपस्याको कारण उनको शरीर सुकेर काँडा झैँ भयो, हिडडुल गर्न समेत कठिन हुँदै गयो । अनि सिद्धार्थले शरीर रक्षाको निम्ति अन्न ग्रहण गर्न सोँचे । अन्न ग्रहण गर्न थालेपछि उनीसँग रहेका पाँचजना भिक्षुहरु तपस्या भङ्ग गरेको भनेर उनीसँग रिसाएर गए । बौद्धहरुको महत्वपूर्ण ग्रन्थमा मझ्झिम निकायमा यसबारेमा बुद्धले स्वयं चुनार (सुंसुमागिरी)मा वत्सराज उदयको पुत्र बोधिराजकुमारसँग यसरी वर्णन गरेका छन् ।

“मेरो शरीर (दुर्बलता)को चरमसीमामा पुगिसकेको थियो । जसरी आसीतिक (असी वर्षको वृद्ध)का गाँठाहरु हुन्छन् त्यस्तै मेरा अङ्गप्रत्याङ्गहरु भएका थिए । ऊँटका पाउहरु झैँ मेरा कम्मर भइसकेका थिए । गहिरो कुआमा तारा (टल्के)झैँ मेरा आँखाहरु देखिन्थे ।आलोकाँचो लौका टिपेपछि हावा र घामबाट मुर्झाए झैँ मेरो शिरको छाला मुर्झाएको थियो कठाेर अनशनबाट मेरो पिठ्युँका हाडहरु र गोडाका छालाहरु ल्याप्पै टाँसिएका थिए ।….म दिसा वा पिसाप फेर्नका निम्ति उभिँदा त्यहीँ ढल्थेँ । मैले आफ्नो कायालाई हातले मुसार्दा….कुहिएका रौँहरु झर्थे, मानिस भन्थे —‘श्रमण गौतम कालो छ’ कसैले. भन्थ्यो, ‘कालो होइन स्याम’ । मेरो गोरो छालाको रंग नष्ट भइसकेको थियो । तर मैले यस (तपस्या) बाट त्यस चरम दर्शनलाई पाइनँ ।

(अनि विचार भयो) बोधि (ज्ञान)को निम्ति के कुनै अर्को मार्ग छ ? अनि मलाई लाग्यो, ‘मैले पिता शुद्धोधन शाक्यको खेतमा जामुनको चीसो छायाँमा बसेर प्रथम ध्यानलाई प्राप्त गरेर बिहार गरेको थिएँ, शायद त्यो मार्ग बोधिका हो । (तर) यस्तो अत्यन्त कृश पात्लो कायाबाट त्यो (ध्यान) सुख पाउनु सम्भव छैन । फेरी म स्थूल आहारदाल भात ग्रहण गर्न थालेँ (खान थालेँ) । त्यतिबेला मेरो नजिक पाँच जना भिक्षु रहने गर्थे । जब म स्थूल आहार ग्रहण गर्न थालेँ, अनि ती पाँचजना भिक्षुहरु उदासीन भएर गए ।”

अन्न ग्रहण गर्न थालेपछि उनको शरीर र इन्द्रियहरुमा केही शक्ति आयो । त्यसपछि उनी बोधिवृक्ष मुनि ज्ञान प्राप्तिको संकल्प सहित समाधिस्थ भए । यसपल्ट उनले दृढ संकल्प गरे, अब शरीर सुकेपनि, गलेपनि, ज्ञान प्राप्ति बिना समाधिबाट विचलित हुने छैन । आखिरमा उनले मनमा जाग्ने नकारात्मक वासनामय विचारहरु जसलाई ‘मार’ भनिन्छ त्यसलाई जितेर सम्यक सम्बोधि प्राप्त गरे ।

उनले स्पष्ट बोध गरे, दुर्विचार (खराब विचार)हरुको समूल नाश भएपछि नै नयाँ विचारहरुको उत्पत्ति हुन्छ । नयाँ विचारहरुबाट नै सम्पूर्ण मानवताको कल्याण गर्न सकिन्छ । यो निरन्तर गतिशील प्रवाहमयताको सिद्धान्त थियो ।

मझ्झिम निकायमा यस विषयलाई यसरी वर्णन गर्छन् ः
“मैले एउटा रमणीय भूभागमा, वनखण्डमा एउटा नदी (निरञ्जना नदी)लाई बगिरहेको देखेँ ।

त्यसको घाट रमणीय र श्वेत थियो । यो नै ध्यानयोग्य स्थान हो, (सोचेर) त्यहीँ बसेँ । (र) जन्म हुनुको दुष्परिणामलाई जानेर अनुपम निर्वाणलाई प्राप्त गरेँ, मेरो ज्ञान दर्शन (साक्षात्कार) भयो, मेरो चित्तको मुक्ति अचल भयो, यो नै अन्तिम जन्म हो, फेरी अब (अर्को) जन्म हुनेछैन ।”
सिद्धार्थको यस ज्ञान दर्शन थियो — ‘दुःख छ, दुःखको हेतु (समुदाय), दुःखको निरोध र दुःखको निरोधको मार्ग छ । ‘बुद्धले भने, जुन धर्म (वस्तुहरु, घटनाहरु) छ, त्यो हेतुबाट उत्पन्न हुन्छ। र ती हेतुहरुको (पनि) निरोध छ (निषेध सम्भव छ), यस्तो मत राख्नेहरु महाश्रमण (हुन्छन्)।’ यो नै बुद्धत्व थियो । सिद्धार्थले सम्बोधि प्राप्त गरेर बुद्धत्व प्राप्त गरेको रातपनि उनी जन्मेकै दिन वैशाख पूर्णिमा नै थियो । अब उनी सिद्धार्थबाट बुद्ध भैसकेका थिए ।

शिष्यको खोजी र बुद्धत्वको उपदेश
‘मेरो ज्ञानको उपयुक्त पात्र को हुनसक्छ?’
सम्बोधि प्राप्तिपछि बुद्धले सोँचे । उनले आफ्ना पूर्व आचार्यहरुलाई सम्झे । खोजी गर्दा ती आचार्यहरुले शरीर त्याग गरिसकेका थिए । अनि उनले आफूलाई त्यागेर गएका पाँचजना परिव्राजक (सन्यासी)हरुलाई खोज्न थाले । उनीहरु सारनाथको मृगदाव वनमा निवास गरिरहेको थाहा पाए । उनी त्यहाँ गए । बुद्धलाई आईरहेको देखेर ती पाँचजना परिव्राजकहरु मध्येबाट एकजनाले भने, ‘हेर, पथभ्रष्ट श्रमण गौतम आउँदैछ । त्यसलाई आसन दिनुहुँदैन ।’ अर्कोले भन्यो —’यो पथबाट विमुख भइसकेको छ, यसलाई भिक्षु होइन, गौतम भन्नुपर्छ ।‘ तर जब बुद्ध उनीहरुको निकट आए, उनीहरु बुद्धको व्यक्तित्वबाट अप्रभावित हुन सकेनन् । सबैले उठेर बुद्धलाई अभिवादन गरे र मित्र गौतम भने । बुद्धले भने —”मलाई मित्र भनेर नबोलाउ । किनभने म बुद्ध भइसकेको छु । अर्हन्त (वासनारहित) भइसकेको छु । बुद्धले सबै जीवहरुमाथी समान कृपादृष्टि राख्छ, त्यसैले उनी पिता हुन्छन् ।”
बुद्धले भने, ‘तथागत कठोर तपहरुमा मुक्ति खोज्दैनन्, न सांसारिक सुखहरुको लोभी र सुविधाभोगी हुन्छन् । तथागतले मध्यम (मझ्झिम) मार्ग प्राप्त गरिसकेका छन् ।’ बुद्धले ती पाँचजना परिव्राजकहरुलाई उपदेश (देसना) गर्दै भने,

‘मासु वा माछाबाट परहेज गर्नु (नखानु), वस्त्रहरुको त्याग गर्नु, शरीरमाथी खरानी घस्नु, अग्निमा आहुति दिनु, जो यस्ता भ्रममा फसेका छन्, यीमध्ये कुनैले पनि ती मानिसहरुलाई परिमार्जन गर्न सक्दैन ।’

उनले भने, ‘वेद पढनु, पुजारीहरुलाई भेटी चढाउनु, देउताहरुलाई बलि दिनु, ताप वा शीतमा शरीरलाई कष्ट दिनु, यसबाट मानिसको हित हुन सक्दैन । हे भिक्षुहरु ! यी दुबै अतिभन्दा भिन्न तथागतले मध्यम मार्गको खोजी गरेका छन् । यस्तो मार्ग जसले आँखा खोल्छ (अर्थात् भ्रमबाट मुक्त गराउँछ) र ज्ञानयुक्त बनाउँछ, जसले मानसिक शक्ति, उच्चतर विवेक, पूर्ण प्रबोधन र निर्वाणको दिशामा अग्रसर गराउँछ ।’
बुद्धले उनीहरुलाई अष्टाङ्गिक मार्ग सिकाए । सम्यकदृष्टि, सम्यक संकल्प, सम्यकवाक् (वचन), सम्यक कर्मान्त, सम्यक आजीविका, सम्यक व्यायायम (परिश्रम), सम्यक स्मृति र सम्यक समाधि। सम्यक भनेको ठीक वा सही दृष्टिकोण हो । उनले जीवन र जगतबारे ‘चार आर्य सत्य’ सिकाए, यस जगतमा जीवन दुःखमय छ, दुःखको कारण छ, दुःखको समाप्ति सम्भव छ र दुःखको समाप्तिका उपायहरु छन् । बुद्धले दुःखको कारण अविद्या र तृष्णा भने र सदाचार र पवित्र जीवनलाई सर्वोपरि भने । दुःखको समाप्तिको उपाय माथी उल्लेखित अष्टाङ्गिक मार्गहरु हुन् ।

बुद्धले अष्टाङ्गिक मार्गलाई ज्ञान (प्रज्ञा सम्यक दृष्टि, सम्यक संकल्प), सदाचार (शील) सम्यक वाक, सम्यक कर्मान्त, सम्यक आजीविका) र योग (समाधि—सम्यक स्मृति, सम्यक समाधि)तीनवटा स्कन्धमा विभाजित गरे ।
बुद्धको दर्शन अनात्मवादी र अनीश्वरवादी छ । उनले जगतका सबै पदार्थलाई अनित्य (नाशवान) र अनात्म भनेका छन् । बुद्धका अनुसार मुद्गल (जीव) एक चित्त प्रवाह (संतति) हो । नष्ट नहुने भनेर (अध्यात्मवादीहरुले दावी गरे झैँ) आत्मा नामक कुनै पदार्थ हुँदैन । बुद्धका विचारहरु कार्यकारणको आधारमा गतिशीलता वा प्रवाहमयतामा आधारित छ । यसलाई ‘प्रतीत्य समुत्पाद’ भनिन्छ ।

यसको मूल आशय ‘बिना कारण कुनैपनि कार्य सम्भव छैन’ भन्ने हो । आध्यात्मवादीहरु पञ्च महाभूत (पृथ्वी, अग्नि, वायु, जल र आकाश)को विपरीत बुद्धले चारवटा महाभूत (पृथ्वी, अग्नि, वायु, र जल)लाई सृष्टिको कारक मानेका छन् ।

बुद्धले ईश्वरलाई अलौकिक शक्तिहरुको अव्याकृत अर्थात् बहस गर्नु व्यर्थको विषय भनेका छन् । बौद्ध ग्रन्थहरुमा बुद्धलाई भगवान वा ईश्वर होइन, बुद्ध पुरुष मार्गदाता वा ज्ञानदाता भनिएको छ ।

ती पाँचजना परिव्राजकहरु जो बुद्धको पहिलो उपदेश सुनेर उनका प्रथम पाँच शिष्य बने, उनीहरुको नाम असाजी, मोगल्लन (मोदगल्यायन), उपली, सारिपुत्त र आनन्द थियो । बुद्धले भिक्षु संघको स्थापना गरे र भिक्षुहरुलाई निर्देशित गरे —‘हे भिक्षुहरु, जाओ, धेरै मानिसहरुका हितको निम्ति (बहुजन हिताय), धेरै मानिसहरुको सुखको निम्ति (बहुजन सुखाय) आफ्नो र संसारको अनुकम्पाको निम्ति प्रारम्भमा, मध्यमा र अन्तमा कल्याणकारी परिशुद्ध ब्रह्मचर्यलाई प्रकाशित गर ।’

बुद्धले भागवद् गीतामा कृष्ण झै वा कुनै अन्य धर्म प्रचारक झैँ आफूलाई मुक्तिदाता भनेर आफ्ना अनुयायीलाई कुनै प्रकारको चमत्कार र अलौकिकताबाट भ्रमित गरेनन् । बरु उनले चमत्कार, अलौकिक भ्रम र अन्धविश्वासबाट मुक्त हुन आफ्ना अनुयायीहरुलाई सचेत बनाए । आफ्ना परपप्रिय शिष्य आनन्दको पूजापाठबारे प्रश्नको जवाफ दिँदै भने, ‘आनन्द नदी तर्ने बेला तिमीले प्रार्थना गरेर नदीको अर्को किनारा तिमी नजिक आउँदैन । नदी तर्न तिमीले डुङ्गाको सहारा लिनुपर्छ, कि त पौडेर नै तर्नुपर्छ । त्यसैले प्रार्थना निरर्थक छ ।’

बुद्धका अर्का एकजना शिष्य सारिपुत्तले एकपटक प्रशंसा गर्दै उनलाई संसारको सबैभन्दा ज्ञानी भने । जंगलमा हिँडदा–हिँडदै बुद्धले भुइँमा झरेका पातहरुमध्ये केही पात मुठीमा उठाए र भने, मेरो ज्ञान मुठीभरी पात जतिकै छ, संसारको ज्ञान जंगलमा जति पात छन्, त्यसभन्दा पनि बढी छ । बुद्धको यस भनाईको सार ज्ञान निरन्तर र असीम छ, ज्ञानको जिज्ञासुले यसको खोजी सतत गरिरहनु पर्छ भन्ने नै हो ।

सही विचार र सही दृष्टिकोणबारे बुद्धको यो उपदेश विचारोत्तेजक छ । बुद्धको जीवन बाँचुन्जेल उपदेश र भ्रमणमा नै बित्यो । एकपटक उनी श्रावस्तीको निकट कौशल जनपदमा केसपुत्रिय नामक एउटा गाउँमा बास बसे । बुद्ध आएको थाहा पाएर कालाम भनिने गाउँलेहरु आए । कालामहरुले भने कि यस गाउँमा अनेक श्रमण, ब्राह्मण र आचार्यहरु आउने गर्छन् र सबैले आफ्नो मतको स्थापना गर्छन् र अरुको मतको निन्दा गर्छन् । हामीले कसको मत मान्ने वा नमान्ने भन्ने समस्या छ ।

कुन ठिक, कुन बेठिक भन्ने कसी के हो ? दर्शनको दृष्टिले यो सबैभन्दा महत्वपूर्ण मध्येको एक हो । बुद्धले भने —‘हे कालामहरु, तिमीहरुले उचित विषयमा सन्देह ग¥यौ । बुद्धले (मैले) अनुभवलाई विश्वासभन्दा माथि स्थान दिएको दिन्छन् (दिएको छु) । धेरैले मान्छन् भनेर कुनै कुरा (विचार) लाई ठिक (सम्यक) नमान। परम्पराबाट चलेको छ । पुराण, धर्मग्रन्थहरुमा लेखिएको सुन्दा प्रिय लाग्छ । उपरी तवरले हेर्दा सत्य प्रतीत हुन्छ । विख्यात आचार्य वा गुरुले भनेको (स्वयं) गौतम बुद्धले नै भनेको छ (भनेपनि) नमान ।’

बुद्धको यस उपदेशको सार हो, कुनैपनि महापुरुष (बुद्ध नै भएपनि) विचारहरुबारे सोँचविचार नगरी, अनुभव र तर्कको कसीमा जाँच पडताल न गरी स्वीकार गर्नुहुँदैन । यसले मानवीय र सामाजिक हितलाई कसीको रुपमा अघि सार्छ र यस कसीमा सफल उत्रने विचार र व्यवहारहरु मात्र ठिक (सम्यक) छन् भन्ने पनि बोध गराउँछ ।

बुद्धका दार्शनिक विचारका मूख्य आधार प्रतीत्य समुत्पाद र चार आर्य सत्यबारे माथी चर्चा गरियो । उनको विचारको अर्को मूख्यपाटो जनतन्त्रवाद हो । उनको दर्शन पोङ्गापन्थी भक्ति र कर्मकाण्डको मूर्खताको अपेक्षा ज्ञान र बुद्धिवादलाई प्रमुखता दिन्छ । बुद्धका विचारहरुले वैदिक कर्मकान्ड र पुरोहित ब्राह्मणहरुको दबाबको विकल्प खोजीरहेका नयाँ सामन्तवादी गण र राजाहरुलाई बढी आकर्षित गरिरहेको थियो । उनको सम्मान राजतन्त्र र गण दुबैखाले जनपदहरुमा थियो ।

तर जनतन्त्रीय प्रणालीप्रति उनको झुकाव यसैबाट बुझ्न सकिन्छ, कि मगधका शक्तिशाली सम्राट अजातशत्रुसँग हार्दिक सम्बन्ध भएर पनि मगधका विरोधी वैशालीका लिच्छवीहरुले राष्ट्रलाई अपराजित राख्ने सातवटा विशिष्टताहरुको उनले प्रशंसा गरेका थिए । उनले बताएका सातवटा विशिष्टताहरुमा समान हैसियतमा जम्मा भएर सामूहिक निर्णय गर्नु, व्यवस्था (कानुन र विनय)को पालन गर्नु, वृद्धहरुको सम्मान गर्नु, महिलाहरुमाथि बलजफ्ती नगर्नु, जातीय धर्मको पालन गर्नु र धर्माचार्यहरुको सत्कार गर्नु थियो । यी सातवटामा सामूहिक निर्णय, सामूहिक कर्तव्य पालन र स्त्री स्वातन्त्र्य अग्रगामी विचारहरु थिए तर नीतिगत स्तरमा बाँकी चारवटा विशिष्टताहरुमा जोड दिनुले उनी तत्कालीन सामाजिक व्यस्थामा हस्तक्षेप गर्न चाहँदैन भन्ने बुझिन्छ ।

दार्शनिक विचारका व्यावहारिक
त्रुटि र द्वन्द्व
वस्तुतः बुद्धका दार्शनिक विचारहरु जति नवीन र क्रान्तिकारी थिए, त्यसको राजनीतिक प्रयोगमा भने उनी यथास्थितिवादी नै देखिएका थिए । उनको सम्बन्ध राजकुल र धनकुबेरहरुसँग बढी थियो । उनीहरुले बुद्धको संघमा हृदय फुकाएर धनदान गर्नेगर्थे । उनको स्वागत सत्कारमा हरहमेशा तयार रहन्थे । त्यसैले बुद्ध सामाजिक मात्रै होइन, राज्यव्यवस्थामा पनि हस्तक्षेप गर्न चाहँदैन। बरु उनको वचन र व्यवहारले राज्यव्यवस्थालाई नकारात्मक प्रभावित ग¥यो भने उनले आफ्नो संंघको अनुशासनमा संशोधन गर्नपनि पछि पर्दैनथ्ये ।

शुरुमा बुद्धको संघ सबैको निम्ति खुला थियो र संघमा प्रवेश गर्ने भिक्षु र भिक्षुणीहरुलाई राज्यको कानुनले छुँदैनथ्यो । यसैकारण धनीको ऋण तिर्न नसक्ने ऋणिहरु, स्वामीको यातना खप्न नसक्ने दासहरु, युद्धमा जान नचाहने सिपाहीहरु र पुरुष यातना झेल्न नसक्ने स्त्रीहरु भागेर संघमा प्रवेश गर्ने गर्थे । क्रमशः यसले तत्कालीन राज्य व्यवस्था र सामाजिक व्यवस्थामा समस्या उत्पन्न हुन थाल्यो। राजाहरु, धनीहरु, दासहरुका स्वामीहरु, तथा अभिजात्य पुरुष (पति, पिता, छोराहरु)हरुले बुद्ध समक्ष गुनासो व्यक्त गरे । परिणाम, बुद्धले संघको नियममा परिवर्तन गरे । राज्य सेवामा रहेका राजसेवकहरु, ऋणिहरु, सेवारत दासहरु संघको सदस्य हुन नपाउने, स्त्रीको हकमा भने संघको सदस्य हुनका निम्ति पिता, पति वा पुत्रको अनुमति हुनुपर्ने व्यवस्था गरियो ।

आलोचनात्मक कोणबाट विचार गर्ने हो भने बुद्धको संघ स्त्रीको हकमा केही बढी नै संकीर्ण थियो कि जस्तो लाग्छ । संघमा भिक्षुणीहरु जतिसुकै ज्ञानी भएपनि वा उच्च पदमा भएपनि पुरुष भिक्षुलाई उनले अभिवादन गर्नुपथ्र्यो ।
त्यसरी नै भिक्षु सभामा स्त्रीको प्रवेश वर्जित थियो भने भिक्षुणीको सभामा निर्णायक निरिक्षकको रुपमा कुनै उच्च ओहदाका पुरुष भिक्षु उपस्थित हुने गथ्र्यो । बुद्ध संघमा यो व्यवस्था स्वयं बुद्धको जीवन कालमा नै थियो । बुद्धको पालनपोषण गर्ने उनको दोस्री आमा प्रजापति गौतमीले पनि पछि संघमा भिक्षुणी भएर प्रवेश गरेकी थिइन, तर उनले पनि पुरुष भिक्षुहरुलाई अभिवादन गर्नुपथ्र्यो ।

यसबाट के देखिन्छ भने बुद्धको घोर क्षणिकवादी दर्शन अग्रगामी र तत्कालीन परिवेशमा क्रान्तिकारी देखिएपनि, विशेष गरेर राजनीतिक र समाजको आर्थिक व्यवस्थामा यसको प्रयोग गर्न उनले चाहेनन् । सम्भवतः यसैकारण तत्कालीन परिवेशमा बुद्धका अनुयायीहरुमा राजपुरुष, धनकुबेर र अभिजात्यहरु बढी थिए । हुनपनि बुद्ध तत्कालीन आर्थिक व्यवस्थाको विरुद्ध गएको भए उनले यतिको सुविधा पाउनु सम्भव हुँदैन्थ्यो ।

सम्भवतः बुद्धको दार्शनिक विचारको व्यवहारमा रुपान्तरणमा देखिने समस्या तथा लचकदार प्रवृत्तिकै परिणाम थियो, कि बुद्धको अवसानपछि वर्चस्वको प्रतिस्पद्र्धा वैचारिक र साम्प्रदायिक रुपमा शाखा प्रशाखामा देखियो । यद्यपि दार्शनिक विचारको स्तरमा बुद्धका विचारहरु आफैमा अनात्मवादी भाववादी (प्रत्यवादी) भएपनि वैदिक अलौकिक आदर्शवाद तथा कर्मकान्डको छली भ्रमलाई उजागर गर्न तथा मानवीय हार्दिकताको हकमा अग्रगामी र क्रान्तिकारी छन्, भन्नेमा दुईमत छैन । कालान्तरमा बुद्धको संघ दुईवटा शाखामा विभाजित भयो हीनयान र महायान। महायानीहरुले बुद्धका मौलिक अनात्मवादी विचारहरुमा संशोधन गरेर बुद्धलाई नै ईश्वरको रुपमा प्रस्तुत गरे । यद्यपि उनीहरुले पनि तर्क र अनुभवलाई प्राथमिकतामा राखे । हीनयानी (थेरवादी वा स्थविरवादी)हरु बुद्धको कठिन र अनुशासनबद्ध अष्टाङ्गिक मार्ग र मूल उपदेशहरु प्रति दृढ थिए भने महायानीहरुले बौद्धधर्मलाई सहज बनाएर बुद्धको निर्वाण प्राप्तिलाई सबैको निम्ति सहज बनाउनुपर्ने तर्क सारेर संघको कठोर अनुशासनमा खुकुलोपना तथा विचारमा समयानुकूल अद्वैतवादी परिवर्तन गरे । नागार्जुनको प्रसिद्ध शून्यवादी दर्शन यसैको उपज थियो ।

केही आलोचकहरुको मतमा यो बुद्धको अनात्मवादी र प्रतीत्य समुत्वादी क्षणिकवादी गतिशील सिद्धान्तबाट पछि हट्नु थियो । महायानीहरुले वैदिक औपनिषदिक शैलीमा बुद्धभन्दा पहिलेका तथा सम्भावित बुद्धको अवतारको परिकल्पना गरे । बुद्धको जन्मको प्रसंगमा समेत अलौकिक चमत्कार कथाहरुको सिर्जना गरे ।
यद्यपि सहजताको कारण हीनयानको तुलनामा महायान बढी प्रचलित र लोकप्रिय भयो ।
बुद्धले ३५ वर्षको उमेरमा सम्बोधि ज्ञान वा बुद्धत्व प्राप्त गरेका थिए । त्यसपछि उनी ४५ वर्ष बाँचे र बाँचुन्जेल वर्षा ऋतुको तीनमहिना बाहेक निरन्तर आफ्नो विचार धम्म, दर्शन र संघको उपदेश गरिरहे।

अन्तिम दिनहरु र महापरिनिर्वाण
बुद्धले निर्वाणगत् पुरुष (तथागत, बुद्ध)को मृत्युपछि के हुन्छ ? भन्ने प्रश्नको जवाफ दिन अस्वीकार गरेका थिए । तर उनले निर्वाणलाई जल्दा जल्दै निभ्ने दीपसँग पनि तुलना गरेका छन्।
जहाँ तृष्णा क्षीण हुन्छ, आस्रव अर्थात चित्तमल (अर्थात् भोग, जन्मान्तर र विशेष मतवादको तृष्णा) समाप्त हुन्छ । पुरानो तेल बत्तीमा तेल सकिएपछि वा ईन्धन बलेपछि नयाँ बल्ने सम्भावना नभएपछि जसरी दीपक वा अग्नि निभ्छ, सम्भावनाहरु सकिन्छन्, यस अवस्थालाई बुद्धले निर्वाणको अवस्था भनेका छन् । बुद्ध ८० वर्ष बाँचे । उनको मृत्यु ईसापूर्व ४३३ मा भयो । जीवनको अन्तिम समयमा उनी महापरिनिर्वाणको तयारीमा थिए । एकजना सुभद्र नामक परिव्राजक उनीसँग भेट्न आए । बुद्धको प्रिय शिष्य आनन्दले तथागत कसैसँग भेट्ने स्थितिमा छैनन् भनेर सुभद्रलाई जानकारी दिए । आनन्दको स्वर बुद्धले सुने । उनले आनन्दसँग भने, ‘सुभद्रलाई भित्र आउन देउ । ऊ मलाई पीडा दिन होइन, केही जिज्ञासा लिएर आएको छ ।’ बुद्धले महापरिनिर्वाणभन्दा पहिले सुभद्रलाई दिएको उपदेश परिनिर्वाण सूत्तमा संग्रहित छ ।

बुद्धको अन्तिम उपदेशको अन्तिम वाक्य थियो —“व्ययधम्मा संखारा अप्पमादेन सम्यादेथ ।” संसार नाशवान छ, आफ्ना उद्देश्यपूर्तिको दिशामा सचेत भएर निरन्तर लागिरहनु । एक्काइसौँ शताब्दीमा उभिएर बुद्धलाई हेर्दा उनका कयौँ सामाजिक र राजनीतिक दार्शनिक मान्यताहरु पुराना भइसकेका छन् । उनको दार्शनिकतामा निहित व्यावहारिक अतिशय अप्रतिरोधले श्रमजीवि समाजको प्रतिरोधी चरित्रलाई शिथिल र निरीह नै बनाउने काम ग¥यो । सत्ता नजिकको एकखाले बौद्धिक वर्गले सत्ताको हितमा यस अप्रतिरोधितालाई अझै हतियार बनाइरहेको छ । तर जगत र जीवनबारे उनको अनात्मवादी र प्रतीत्य समुत्पाद जस्ता परिवर्तशील क्षणिकवादी सिद्धान्त, युग परिवर्तनसँगै झन् सामयिक र अपरिहार्य हुँदै गएको छ । अहिले जतिबेला मानवीय सामाजिकता र सामूहिकता विखण्डित, मौद्रिक र असम्वेदनशील ढंगले अमानवीय हुँदै गइरहेको छ, बुद्धका दार्शनिक मानवीय अहिंसा विश्व मानव तथा विश्व बन्धुत्वको दृष्टिले अपेक्षित छ ।
सन्दर्भ सामाग्रीः
(१) देवीप्रसाद चट्टोपाध्याय — भारतीय दर्शन मे क्या जीवित है क्या मृत, पीपुल्स पब्लिशिंंग हाउस, नई दिल्ली, १९८४ ।
(२) डा. रमेन्द्र — महात्मा गौतम बुद्ध ÷ भारत के प्रख्यात नास्तिक, सम्पादक डा. रणजीत सम्पादित संकलनमा संकलित लेख, प्रकाशक – प्रकाशन संस्थान, नयी दिल्ली, २०१५ ।
(३) राहुल सांकृत्यायन — दर्शन दिग्दर्शन, किताब महल, इलाहाबाद, १९४४ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation