कसरी बनेकाे थियाे १२५ वर्ष पहिले बिन्दावासिनी मन्दिर ?

आज बैशाख २५ गते आजभन्दा ठिक १५८ वर्ष अगाडि आज हामीले देख्ने गरेको विन्द्यवासिनीको मन्दिर पूननिर्माण भएको थियो । यस अगाडि कस्तो थियो वा कसले बनाइदिएका थिए भन्ने स्पष्ट इतिहास भने कतै भेटिदैन । किंवदन्तीहरु भने धेरै भेटिन्छ ।

कतै कास्कीका राजा सिद्दीनारायण शाहले चारधाम भ्रमण पछि बिन्ध्याचल पुग्दा त्यहाँबाट मुर्ति लिएर आएको भन्ने गरिन्छ भने कतै पाङका राजा खड्ग मल्लले ल्याएका थिए भनिएको छ । तर पाङ लिएर जान खोज्दा भरियाले उठाउन नसके पछि यहिँ नै मन्दिर स्थापना गराएका थिए भनिन्छ । सत्य कतै नभेटिए पछि किंवदन्तीका रुपमा लेखिएका कथाहरु नै दोहोर्याउने गरिन्छ ।

श्री गणेशायनम श्री श्री श्री माहाराज सुरेन्द्र बिक्रम शाहदेव ।। श्री शाके १७८९ ।। श्री सम्वत १९२४ साल मिती बैशाख सुदि ३ रोज २ शुभम् ।

बिन्दवासिनी मन्दिरमा रहेको ढोकामा यसरी ताम्रपत्रमा राजा सुरेन्द्रले बि.सं. १९२४ बैशाख सुदि ३ रोज २ मा अर्थात १९२४ बैशाख २५ गते सोमवारका दिन कौशी समेत भत्केर जिर्ण भएको मन्दिरको जिर्णोद्वार गरेको उल्लेख गरिएको छ । मन्दिर जिर्णोद्वार गरेको समयमा नै पोखरी पनि बनाइ नारायणलाई अर्पण गरेका थिए भनेर लेखिएको छ । साथै घरवारी लगायतको तिरोभरो भराइ मन्दिर ब्यबस्थापनको समेत ब्यबस्था गरिएको भन्ने देखिन्छ ।

केही बलिया आधारहरुले पाङका राजा खड्गवम मल्लले १८ औं शताव्दीको शुरू तिर बनाएको भन्ने अनुमान गरिएको यो मन्दिर ध्वस्त भइसकेकोले नै बि.सं. १९२४ मा राजा सुरेन्द्रले पूननिर्माण गरि दिएको भन्ने बुझिन्छ । बि.सं. १८७२ मा राजा गिर्वाणको समयमा पुजारी हरिवंश पाध्यालाई हटाइ महिन्द्र पाध्या पौडेललाई पुजारी बनाइएको थियो । बि.सं. १८६३ मा रानी सुवर्णप्रभा (गिर्वाणका ठूली आमा) पाल्पाबाट मुक्तिनाथ दर्शन गर्न गएका थिए । यस भ्रमणको खर्च बापत रू १७०० त्यसबेलाका पोखराका नेवार ब्यापारी जिताराम नेवारले दिएका थिए । यिनै जितारामले नै पोखराको भिमसेन मन्दिर पनि बनाईदिएका थिए ।

पोखराको बिन्द्यवासिनी (विन्दूवासिनी) घण्टाकृति शैलीमा बनाइएको मन्दिर हो । अष्टकोणाकार यस मन्दिर पोखराको पुरानो बजारको उत्तर तर्फ केही उच्चाइमा बनेको मन्दिर हो । मन्दिरको माथिल्लो भाग भने शिखराकार बनाइएको छ । टुप्पामा बिशाल गजुर राखिएको यस मन्दिर पोखराको प्रमुख धार्मिक तिर्थस्थल पनि हो । पोखरा आउने हरेक आन्तरिक पर्यटकहरु यस मन्दिरमा पुग्ने गर्दछन् । उपत्यकामा मन्दिरहरुमा झै यस मन्दिरमा पनि मूल प्रवेशद्वारमा बिशाल तोरण राखिएको छ । यो तोरणमा बनाइएको आकृतिहरु हेर्दा उपत्यकाका कालिगढहरुबाट नै बनाइएको भन्ने बुझिन्छ । नेवारी भाषामा द्यः तोलँ भनिने यस किसिमका तोरणमा जनावरका आकृतिहरु राखिने गरिन्छ । यस मन्दिरको तोरणमा पनि बिचमा दुइ हातले दुइ नाग समाएर मुखमा च्याप्दै गरेको छेपु (छिपः) राखिएको छ । यसको तल दाँयाबाँया दुइवटा मकरामुखाकृति बनाइएको छ । यस मुखाकृतिबाट पानीको धारा बगेको देख्न सक्दछौ । जुन हिति मंगःको प्रतिक हो । यसले मन्दिरको रक्षकको काम गर्दछ । छेपु र हिति मंग राखिदा मन्दिर भित्रका वस्तुहरुको चोरी हुने सम्भावना हुदैन भन्ने विश्वास गरिन्छ । तोरणको बिचमा तल तिर तीनवटा मुर्ति बनाइएको छ । बिचमा देवीको मुर्ति छ भने दाँया वाँया गणेश र कुमारलाई देख्न सकिन्छ ।

मूल द्वारमा ताम्रपत्र राखिएको थियो । जसमा यस मन्दिर पूनर्निमाणको विवरण लेखिएको थियो । ढोका जिर्ण भइ मर्मत गर्ने क्रममा ताम्रपत्र पनि त्यहाँबाट हटाइएको छ । अहिले यो ताम्रपत्र देख्न सकिदैन । यहाँ तस्विरमा मसंग सुरक्षित रहेको सोही ढोकामा रहेको ताम्रपत्रको तस्विर राखेको छु ।

मन्दिर विन्द्यवासिनी नामले प्रख्यात भए पनि यस मन्दिरमा रहेको मुर्ति भने दुर्गा भगवतीको हो । यस मुर्तिको शिरमा मुकुट लगाएको देखिन्छ भने दाँया हातमा माथिबाट तल वाण, खड्ग, त्रिशुल र पद्म बोकेको देखिन्छ भने बाँया हातमा माथि देखि तल धनुष, ढाल, गदा र चक्र बोकेको देखिन्छ । उर्ध्वपद्मपीठ अर्थात एकपत्रिय कमलको फूलमाथि उभिएको कालो पत्थरको मुर्ति हेर्दा यसको निर्माण भारतमा भएको वा किंवदन्तीहरुमा भनिए झै विन्ध्याचलबाट ल्याइएको भन्ने सत्य नभएको अडकल काट्न सकिन्छ ।

इतिहासमा पोखरा धेरै चोटि डुवानमा परेको भनिए पनि यस मन्दिर रहेको क्षेत्र भने कहिल्यै नडुबेको हुँदा यस टुप्पोलाई पोखराको विन्दुका रुपमा लिने गरिन्थ्यो । शायद यहि विन्दुमा वास गरेको देवी भएको हुँदा यस देवीका नाम विन्दूवासिनी रहेको होला । तर बोलिचालिमा विन्द्यवासिनी वा बिन्ध्यवासिनी भन्न थालिएको हुन सक्छ ।

ढुङ्गाका मुर्तिहरुमा वाष्पिकरणले गर्दा यदाकदा पानीका मसिना थोपाहरु देखिने गर्दछ । जसलाई हामीले मुर्तिमा पसिना आएको रुपमा लिने गर्दछौ । दोलखाको भीमसेनमा पसिना आएमा अपसगुन हुने विश्वास गर्ने गरिन्छ । इतिहासमा पोखराको विन्द्यवासिनीमा पनि एकपटक पसिना आएको थियो ।

बि.सं. १९६७ आषाढ २३ गते बुधवार औसीका दिन बिन्द्यवासिनीको मुर्तिमा पसिना आएको थियो । जसले गर्दा यस क्षेत्रमा पनि कुनै अपसगुन हुने वा दैवीप्रकोप हुने त्रास फैलिएको थियो । यस घटनाको करिव ४५ दिन पछि भदौ ६ गते देखि १२ गतेसम्म श्री ३ चन्द्रशम्शेरको पोखरा सवारी भयो । यस समय श्री ३ बाट क्षमा पूजा सहित यहाँ केही निर्माण गरिदिएका थिए । तर के निर्माण गरिदिएका थिए भन्ने स्पष्ट उल्लेख गरिएको भेटिदैन । पिपलको बोटको तल रहेको हनुमानको मुर्ति वा मन्दिरको मूल ढोकामा रहेको तोरण हुन सक्छ ।

पुराना कागजपत्र, ताम्रपत्र तथा शिलालेखहरू नियतवश वा समयकालसंगै हराउदै जाँदा इतिहास पनि हराउदै जाने गर्दछ । केही कागजपत्र नियतवश लुकाइ जलाइएको भन्ने पनि देखिन्छ भने केही महत्वपूर्ण कागजपत्र २००६ सालको आगलागीमा जलेर नष्ट भएको भन्ने पनि देखिन्छ । ताम्रपत्र, शिलापत्र तथा मुर्तिमा राखिने किँकिपाहरुले इतिहास बोल्ने गर्दछ । तर यी हराएमा इतिहास पनि हराउन सक्दछ । नयाँले आफ्नो नाम राख्न सक्दछ । राजा सुरेन्द्रले मन्दिर पूनर्निमार्ण गराउँदा पुराना मन्दिरको इतिहासका बारेमा पनि केही लेखिदिएको भए हामी मन्दिर स्थापनाका इतिहासमा अन्यौल हुनुपर्दैनथ्यो । तर त्यो बेला पनि यो हुन सकेन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation