काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

३१ वैशाख, काठमाडौं 

काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

आगलागीमा परी एकजना महिलाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए ।

सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको ४ तले घरबाट आगलागी सुरू भएको थियो । माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।

दयारामको घरसँगै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत आगो सल्किएको थियो ।

आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation