जिप दुर्घटनामा तीन जनाको मृत्यु, पाँच घाइते

६ असार, डोटी  

डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

शुक्रबार दिउँसो आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीस्थित दिपायल–सायल सडकखण्डमा सुप्रप०१००१ज १३९५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनामा परी सायल गाउँपालिका–४ सुण्डकी ४१ वर्षीया देवी विक, जिपचालक आदर्श गाउँपालिका–७ दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका–६ कटुवाल गाउँकी ३५ वर्षीया काली कटुवालको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमा र कालीको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी आदर्श गाउँपालिका–३ नुवाकोटकी १४ वर्षीया अनिता विक, १६ वर्षीया स्यानु विक, सोही पालिकाको वडा नम्बर ७ दडिमानाका २२ वर्षीय कैलाश विष्ट, १४ वर्षीय दीपक विष्ट र मृतक काली कटुवालकी १० वर्षीया छोरी साविता कटुवाल घाइते भएको प्रहरी निरीक्षक जोशीले बताए । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दिपायलबाट मौवातर्फ गइरहेको जिप सडक घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation