
धान दिवसका अवसरमा खेतमै गीत, दही-च्युरा, रोपाइँ र रमाइलो
१५ असार, रोल्पा
चन्द्रप्रभा माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीहरू र स्काउट टिममा आवद्ध विद्यार्थीहरू शिक्षक अभिभावक संघका अध्यक्ष मेघनाथ विष्टसहित रोपाइँ गर्न खेत पुगेका थिए । ‘असार १५’ अर्थात् धान दिवसको अवसरमा विद्यार्थी, शिक्षक र अभिभावकहरूले खेतमा उत्रिएर हिलोमा खेल्दै रोपाइँ गरेका हुन् ।
शिक्षक घनश्याम अस्तित्व, शसिराम विष्ट र जितबहादुर ओलीको संयोजनमा विद्यार्थीहरू खारा नजिकको खाराबारी खेतमा धान दिवस मनाउन पुगेका थिए । त्यहाँ उनीहरूले दही-च्युराको स्वाद लिंदै, गीतगाउने, हिलो खेल्ने, आली बनाउने, बिउ ओसार्ने, खोप लगाउने र रोपाइँसम्मका सम्पूर्ण कृषिजन्य कार्यहरूमा सक्रिय सहभागिता जनाए ।
विद्यालयबाट बाजागाजा र ब्यानरसहित अगाडि बढेका विद्यार्थीहरूको समूहले बाटोभर नाराहरू घन्काउँदै वातावरणलाई जागरुक बनाएका थिए — शिक्षक–विद्यार्थी एकता जिन्दावाद !, श्रम र पसिनाको मूल्य बुझौं !, कृषिको सम्मान गरौं ! जस्ता नाराले गाउँ–टोल गुञ्जायमान बनायो ।
खेतको छेउमा रहेको चौपारीमा सर्वप्रथम गीतसंगीत र शुभकामना आदान–प्रदान भएको थियो । त्यसपछि दही-च्युरा ग्रहण गरेपछि विद्यार्थीहरू रोपाइँका लागि खेतमा उत्रिए । खेत प्रवेश गरेपछि उनीहरूले बिउ सार्ने, खोप लगाउने, आली बनाउने, रोप्ने लगायतका विविध कृषिजन्य गतिविधिमा सहभागी हुँदै कृषि कर्मको अनुभव लिएका थिए ।
करीब तीन घण्टा खेतमै बिताएका विद्यार्थीहरूलाई शिक्षक अभिभावक संघका अध्यक्ष मेघनाथ विष्टले श्रमको मूल्य, कृषि कर्मको महत्त्व र कृषकहरूको योगदानबारे संक्षिप्त प्रशिक्षणसमेत दिनुभएको थियो। उहाँले कृषिलाई जीवनको आधार भन्दै यसप्रति सम्मान र सहानुभूति जागाउने खालका सन्देश प्रस्तुत गरे ।
कार्यक्रम सफल बनाउन आर्थिक व्यवस्थापनमा गाउँका विभिन्न बौद्धिक व्यक्तित्वहरूले पनि सक्रिय सहयोग पुर्याएका थिए । विशेष रूपमा गाउँका अग्रज बौद्विक व्यक्तित्व भूपनारायण घर्ती मगर, सिमबहादुर विष्ट, हुकुमबहादुर विष्ट, विद्यालयका निमित्त प्रअ ओमप्रकाश विष्ट, शिक्षक अभिभावक संघका अध्यक्ष मेघनाथ विष्ट, शिक्षक दुर्गाप्रसाद रोका, कानुनी सल्लाहकार फत्ते प्रचण्ड घर्ती मगर लगायतले दही–च्युरा खुवाउने कार्यक्रमका लागि आर्थिक सहयोग गर्नुभएको थियो।
धान दिवसको यो विशेष अवसरले विद्यार्थीहरूमा कृषि र श्रमप्रति सकारात्मक दृष्टिकोण विकास गर्नुका साथै शिक्षा र व्यवहारको संयोजनमार्फत जीवनोपयोगी अनुभवसमेत दिलाएको शिक्षक जितबहादुर वलीले बताउनुभयो ।