पाल्पामा गुडिरहेको मोटरसाइकलमाथि पहिरो खस्दा मंगलबार पतिको मृत्यु भएको छ भने पत्नी घाइते भएकी छन्।
मृत्यु हुनेमा रामपुर नगरपालिका-५ तालपोखराका ३६ वर्षीय जनक भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।
गम्भीर घाइते भण्डारीलाई उपचारका लागि रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको उनले बताए।
पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु५१प ६६३३ नम्बरको मोटरसाइकललाई सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका-३ माथिल्लो सिद्धबाबा खण्डमा ढुङ्गा सहितको पहिरोले लागेर उछिट्टिएको थियो।
बेलुकी करिब ६ बजे खसेको पहिरोले लागेर चालक भण्डारी राजमार्गभन्दा करिब ३० मिटर तल खसेका थिए। उद्धार गरेर उपचारका लागि अस्पताल लैजाँदा बेलुकी साढे ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
मोटरसाइकलको पछाडि सवार पत्नी २९ वर्षीया कल्पना चापागाईं घाइते भएकी छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।