२७ असार, काठमाडौं
त्रिभुवन विश्वविद्यालयले अब दीक्षान्त समारोह तामझामकासाथ नगर्ने भएको छ । त्रिविले दीक्षान्त समारोहको मोडालिटी नै परिवर्तन गरेको छ ।
अब दीक्षान्त समारोह अध्ययन संस्थान र संकाय अनुसार फरक–फरक समयमा गर्ने त्रिविले निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको त्रिविको सभाले फरक–फरक समयमा दीक्षान्त समारोह गर्ने प्रस्ताव पारित गरेको हो ।
गत १३ पुसमा दशरथ रंगशालामा १४ हजार ३०८ जना विद्यार्थीलाई दीक्षित गर्दा अस्तव्यस्त भएपछि त्रिविले समारोहको मोडालिटी नै फेरेको हो ।
‘ठूलो तामझाम नगरी विद्यार्थीलाई दीक्षित गर्न लागेका हौँ । एकै पटक गर्दा ट्राफिक जाम र सुरक्षा चुनौती पनि भयो । अब अध्ययन संस्थान र संकायको फरक–फरक समयमा गर्ने निर्णय भएको छ,’ त्रिविका रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले भने, ‘एकै पटक रंगशालामा गर्दा सुरक्षामा गाह्रो भयो ।´
यसअघि त्रिविले कुलपति बोलाएर सबैलाई एकै दिन दीक्षित गर्ने गरेको थियो । दीक्षान्त समारोह व्यवस्थित नभएको भन्दै प्रश्न उठ्ने गरेको थियो । दीक्षान्त समारोहलाई व्यवस्थित गर्न फरक-फरक समयमा गर्न लागिएको त्रिविले जनाएको छ ।
‘सबैभन्दा धेरै म्यानेजमेन्टको छ त्यो एक दिन गर्ने । इन्जिनियरिङको आफ्नै कम्पाउन्डभित्र गर्दा भयो । कानुनको एक दिन गर्ने…। जति पनि संकाय र संस्थान छन् सबैको छुट्टाछुट्टै गर्नै सभाबाट पारित भएको छ,’ रजिस्ट्रार रिजाललले भने ।
एउटा समारोहमा भने कुलपति बोलाएर गर्ने तयारी त्रिविको छ । ‘डिन कार्यालयले आफ्नो क्षेत्रमा काम गरेको धुरन्धर व्यक्तिलाई बोलाएर दीक्षान्त समारोह गर्दा हुन्छ । सबैमा कुलपति बोलाउने होइन । एउटा कुनै समारोहमा कुलपति बोलाउने भन्ने हो । जस्तै- पीएचडीमा उपकुलपति बोलाउँदा भयो । संसारभरि नै छुट्टाछुट्टै दीक्षान्त समारोह गर्ने चलन पनि छ,’ रिजालले भने ।
त्रिविले यही आर्थिक वर्ष २०८२/८३ देखि नयाँ मोडालिटी लागु गर्ने भएको छ । ‘१५ पुसभित्र दीक्षान्त समारोह गर्न सबैलाई निर्देशन दिन्छौं,’ उनले भने, ‘यो वर्ष झन ८९ हजार विद्यार्थीको ग्रेसलिस्ट पारित भएको छ । एकैपटक दीक्षान्त समारोह गर्न गाह्रो हुन्छ ।’
८९ हजार विद्यार्थीले लिए ट्रान्सक्रिप्ट
यो वर्ष त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट ८९ हजार १९१ जना विद्यार्थीले ट्रान्सक्रिप्ट लिएका छन् । यो संख्या १ असार २०८१ देखि २०८२ जेठ मसान्तसम्म आवश्यक प्रक्रिया पूरा गरेर ट्रान्सक्रिप्ट लिएका हुन् । जसमध्ये संकाय अन्तर्गत ७७ हजार २६३ अर्थात ८६.६३ प्रतिशत र अध्ययन संस्थान अन्तर्गत ११ हजार ९२८ अर्थात् १३.३७ प्रतिशत विद्यार्थी छन् ।
पारित भएको ग्रेसलिस्ट अनुसार सबैभन्दा धेरै विद्यार्थी व्यवस्थापन संकायमा छन् । व्यवस्थापन संकायमा ४३ हजार ६१० अर्थात् ४८.९० प्रतिशत हो । शिक्षाशास्त्र संकायमा १६ हजार ४६७ जना अर्थात् १८.४६ प्रतिशत, मानविकी तथा सामाजिकशास्त्र संकायमा १४ हजार ८५१ जना अर्थात् १६.६५ प्रतिशत विद्यार्थी छन् ।