उत्तराखण्ड बाढीमा हराएका १३ नेपालीको उद्धार

२४ साउन, काठमाडौं

भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर हराएका १३ जना नेपालीको सकुशल उद्धार गरिएको छ ।

दिल्लीस्थित नेपाली दूतावासलाई भारतीय अधिकारीहरूले १३ जना नेपालीको उद्धार भएको जानकारी गराएका छन् ।

उद्धार गरिएकाहरूमा वीरेन्द्र कामु, प्रशंसा शाह, कोमल शाह, रमन शाह (श्रीमान्, श्रीमती र छोरा), दिनेश र गंगा (श्रीमान् र श्रीमती), सूर्य शाही, प्रविण सिंह, नवराज बोहोरा, गणेशबहादुर शाही, राज बहादुर शाही, दिपेन्द्र शाही र नरेन्द्र शाही रहेका छन् ।

उद्धार भएकाहरूमध्ये तीन जना हरिद्वार जाँदै गरेको र अन्य उतै बस्ने गरेका थिए ।

गत बुधबार दिउँसो आएको बाढीमा परेर एक सय बढी बेपत्ता छन्, ५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

उत्तरकाशी जिल्लाको धराली बजारमा बाढीले सबैभन्दा बढी क्षति गरेको छ । धराली समुद्री सतहबाट झन्डै ३ हजार १०० मिटरको उचाइमा छ । यो चारधाम यात्रा मार्ग पनि हो । यहाँबाट गंगोत्री करिब २० किलोमिटर टाढा छ । त्यसक्षेत्रमा सुदूरपश्चिमका धेरै नेपालीहरू काम गर्नका लागि जाने गरेका छन् ।

सो बाढीमा परेर कम्तीमा २२ नेपाली बेपत्ता भएका थिए । त्यहाँ खोजी कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation