मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु, १ गम्भीर

३० साउन, सर्लाही

सर्लाहीको चक्रघट्टा गाउँपालिका र ईश्वरपुर नगरपालिकामा भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। एक जनाको अवस्था गम्भीर छ।

चक्रघट्टा गाउँपालिका–५, पडरियामा गएराति बीआर ३० एजी ५०३६ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री पडरियाका ६० वर्षीय बरन बैठाको मृत्यु भएको हो। मोटरसाइकलको ठक्करबाट अर्का पैदलयात्री सोही ठाउँका २० वर्षीय दीपक मण्डल घाइते छन्।

मण्डलको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चक्रघट्टा गाउँपालिका–१, का २० वर्षीय हरेकृष्ण यादवलाई उपचारपछि नियन्त्रणमा लिइएको छ।

यस्तै, ईश्वरपुर नगरपालिका–१, चौलिखामा एचपी ५५ एसी ६१०५ नम्वरको भारतीय मोटरसाइकल अनियन्त्रित भएर नालामा खस्दा चालक ईश्वरपुर नगरपालिका–७, पोखरी टोलका २४ वर्षीय अमनदीप रामको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका रामको उपचारका क्रममा साँझ एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation