
रिचर्ड डकिङ्स (Richard Dawkins) को जन्म २६ मार्च १९४१ मा भएको थियोे। उनी बेलायतका प्रख्यात जीववैज्ञानिक, लेखक र प्रोफेसर थिए। उनी विशेषगरी विकासवाद, जीवविज्ञान र विज्ञानको प्रसारमा योगदान पुर्याउने व्यक्तित्वका रूपमा परिचित छन्। डकिङ्सले अक्सफोर्ड विश्वविद्यालयबाट जीवविज्ञान अध्ययन गरे र पछि त्यहीं प्राध्यापकको रूपमा कार्य गरे। उनका प्रसिद्ध पुस्तकहरूमा The Selfish Gene (१९७६), The Extended Phenotype (१९८२), र The God Delusion (२००६) पर्छन्।
उनको पुस्तक The God Delusion (‘भगवान भ्रम हो’) मा उनले धर्म र अन्धविश्वासको आलोचना गर्दै वैज्ञानिक दृष्टिकोण, तर्कशक्ति र तथ्यमा आधारित सोचको महत्व प्रस्तुत गरेका छन्। डकिङ्सले धर्मलाई सामाजिक नियन्त्रण र शक्ति संरचनाको उपकरणको रूपमा विश्लेषण गरेका छन्, र यसले जनतालाई सक्रीय, आलोचनात्मक र स्वतन्त्र सोचका लागि प्रेरित गर्छ। उनी भन्छन्- “धर्मले मानिसको जीवनमा डर र दोषको भावना जगाउँछ, र उनीहरूलाई आत्म-नियन्त्रण र अधीनता स्वीकार गर्न बाध्य पार्छ। यसले मानिसको स्वतन्त्र सोच र आलोचनात्मक विवेकलाई कमजोर बनाउँछ।”
(Religion instills fear and guilt in people’s lives, compelling them to accept self-restraint and subservience. It weakens independent thought and critical reasoning.)
मानव सभ्यताको इतिहासमा भगवानको अस्तित्वबारे विभिन्न तर्कहरू अघि सारिएका छन्। कतिपयले संसारको उत्पत्ति कुनै अदृश्य शक्तिको कारण भएको दाबी गर्छन् भने अरूले जीवनको जटिलता केवल बुद्धिमान डिजाइनरकै परिणाम हो भन्छन्। तर रिचार्ड डकिङ्सले यस्ता सबै तर्कहरूको वैज्ञानिक खण्डन गर्छन्। उनका अनुसार यदि संसारलाई एउटा पहिलो कारण चाहिन्छ भने त्यस पहिलो कारण अर्थात् भगवानको पनि कारण खोजिनु पर्छ। संसार स्वतः-अस्तित्वमा हुन सक्छ भने भगवानलाई पनि स्वतः-अस्तित्वमा मान्नुपर्ने कारण छैन। त्यसैगरी जीवनको जटिलतालाई भगवानसँग बाँध्नु बेकार छ किनकि डार्विनको विकासवादले जीवन कसरी सरल स्वरूपबाट क्रमशः जटिल स्वरूपमा विकसित हुन्छ भन्ने कुरा स्पष्ट प्रमाणसहित प्रस्तुत गरिसकेको छ। यसरी भगवानलाई व्याख्याको आधार बनाउँदा अझ ठूलो प्रश्न उठ्छ-यदि सबै जटिल वस्तुको डिजाइनर भगवान हुन् भने स्वयं भगवानको जटिलता कसरी उत्पन्न भयो? त्यसैले भगवान भन्नु केवल एउटा अनुत्तरित प्रश्नलाई अर्को अझ गहिरो प्रश्नले ढाक्ने प्रयास मात्र हो।
डकिङ्सका अनुसार भगवान भन्नु कुनै वस्तुगत तथ्य होइन, बरु मान्छेको डर, अज्ञान र अज्ञातलाई बुझ्ने चाहनाबाट जन्मिएको एउटा सामाजिक-मनोवैज्ञानिक अवधारणा हो। मृत्युको भय, प्रकोपको त्रास र जीवनको अर्थ खोज्ने इच्छाले मानिसलाई भगवानको परिकल्पनातर्फ धकेलेको हो। तर जब विज्ञानले ब्रह्माण्ड र जीवनको उत्पत्ति वैज्ञानिक आधारमा व्याख्या गरिदिएको छ, भगवानको अवधारणा अनावश्यक देखिन्छ। यसकारण डकिङ्सले “God Hypothesis” लाई वैज्ञानिक रूपमा परीक्षण योग्य नभएको र त्यसैले अस्वीकृत गर्नुपर्ने परिकल्पना ठहर गर्छन्।
धर्म र अन्धविश्वासले मानव स्वतन्त्रता र सामाजिक परिवर्तन रोक्छ। (Faith and superstition hinder human freedom and social progress.)
रिचर्ड डकिङ्सले आफ्नो पुस्तक The God Delusion (भगवान भ्रम हो) को सुरूवातमा भगवानलाई “संसारका स्रष्टा, सर्वशक्तिमान, सर्वव्यापी र नैतिकताको स्रोत” को रूपमा परिभाषित भए पनि यसलाई असिद्ध परिकल्पना मात्र ठहराउँछन्। उनका अनुसार यो वैज्ञानिक रूपमा परीक्षण गर्न सकिने दाबी हो, तर कुनै पनि प्रमाणले यसलाई समर्थन गर्दैन।
सबैभन्दा पहिले उनले भगवानको अस्तित्वका परम्परागत तर्कहरूलाई खण्डन गर्छन्। प्रथम कारणको तर्क (cosmological argument) मा संसारको उत्पत्तिको कारण भगवान भन्ने दाबीलाई उनले उल्ट्याउँदै “भगवानलाई कसले बनायो?” भन्ने प्रश्न उठाउँछन्। डिजाइनको तर्क (teleological argument) अर्थात जीवन र प्रकृतिको जटिलता भगवानको योजना हो भन्ने धारणा उनले डार्विनको विकासवाद (theory of evolution) मार्फत अस्वीकार गर्छन्। त्यस्तै नैतिकताको तर्क लाई खण्डन गर्दै, नैतिक मूल्य मानव समाज, चेतना र सहअस्तित्वबाट उत्पन्न हुन्छन् भन्छन्, कुनै अलौकिक आदेशबाट होइन।
उनका अनुसार ब्रह्माण्डलाई बुझ्न विज्ञानकै व्याख्या पर्याप्त छ। भौतिकशास्त्रले ब्रह्माण्डको उत्पत्ति बुझाउँछ, जीवविज्ञान र विशेषतः विकासवादले जीवनको विविधता व्याख्या गर्छ, र न्युरोसायन्सले चेतना र विश्वास प्रणालीको आधार खोल्छ। यसरी वैज्ञानिक प्रमाणहरूले देखाउँछन् कि ‘अलौकिक सत्ता’ को आवश्यकता छैन।
अन्ततः उनी भन्छन्, भगवानको अवधारणा “सम्भाव्य व्याख्या” होइन, बरु “झन् जटिल समस्या” हो, किनकि यस्तो सर्वज्ञानी र सर्वशक्तिमान सत्ता स्वयं कसरी उत्पन्न भयो भन्ने प्रश्न अझै अनुत्तरित रहन्छ। त्यसैले भगवान असम्भाव्य परिकल्पना हो।
तर नास्तिकता भने निराशाको अवस्था होइन। डकिङ्सका अनुसार नास्तिक हुनु भनेको तथ्य, प्रमाण र विज्ञानको सुन्दरता देख्न सक्ने स्वतन्त्र चेतनाको अवस्था हो। यसले मानिसलाई भ्रमबाट होइन, वास्तविकताबाट मार्गदर्शन गर्छ।
सबैभन्दा पहिला उनी धर्मलाई केवल विश्वास नभई सत्ता संरचना कायम राख्ने शक्तिशाली सामाजिक उपकरणको रूपमा व्याख्या गर्छन्। शासकहरूले धर्मलाई प्रयोग गरेर जनतालाई नियन्त्रणमा राख्छन्, किनकि “भगवान रिसाउँछन्” वा “परलोकमा सजाय हुन्छ” भन्ने भयले मानिस स्वतन्त्र विवेक होइन, आज्ञापालनमा बाध्य हुन्छ। यसरी धर्मले स्वतन्त्र सोचलाई दवाउँछ।
डकिङ्सले धर्म र हिंसाको सम्बन्धलाई पनि तीब्र रूपमा आलोचना गर्छन्। उनले क्रुसाड युद्ध, धर्म सुधारपछिका नरसंहार, र हिन्दु-मुस्लिम विभाजनजस्ता उदाहरण दिँदै “धर्मले प्रेमभन्दा बढी द्वेष र हिंसा फैलाएको छ” भन्छन्। त्यसैले धर्म शान्तिको होइन, विभाजन र असहिष्णुताको आधार बनेको छ।
त्यस्तै, उनी नैतिकतालाई धर्मसँग नजोड्न चेतावनी दिन्छन्। मानिसको सहअस्तित्व, सहयोग, र परस्पर सामाजिक आवश्यकताबाट नैतिक मूल्य जन्मिन्छ भन्ने उनको तर्क छ। नैतिकताको विकास सामाजिक जीवनको अपरिहार्य परिणाम हो, तर धर्मले त्यसलाई आफ्नो नाममा कब्जा गरेको मात्र हो।
बालबालिकामाथि धर्मको थोपथापसमेत उनी विशेष रूपमा उल्लेख गर्छन्। “हिन्दु बच्चा”, “क्रिश्चियन बच्चा”, वा “मुस्लिम बच्चा” भन्ने भनाइ नै गलत हो, किनकि बच्चा जन्मिँदा कुनै धर्म लिएर आउँदैन। बच्चा जन्मदा उ नास्तिक नै जन्मन्छ। धर्म परिवार र समाजले उसको चेतनामा जबर्जस्ती थोपर्दछन्। यसले स्वतन्त्र सोचको विकासमा अवरोध गर्छ।
अन्ततः उनी भन्छन्, धर्म चेतनाको कैद हो। विज्ञान प्रश्न गर्न सिकाउँछ भने धर्म “विश्वास गर, शंका नगर” भन्छ। यसरी धर्मले मानव स्वतन्त्रतालाई सीमित गर्छ। डकिङ्सको निष्कर्ष स्पष्ट छ- धर्मविहीनता मात्रले मानिसलाई मुक्त र स्वतन्त्र बनाउन सक्छ, किनकि नास्तिकता भनेको स्वाधीन चेतना र स्वतन्त्रताको अर्को शक्तिशाली नाम हो।
डकिङ्सले आफ्नो पुस्तकमा स्पष्ट रूपमा उल्लेख गरेका छन् कि धर्मलाई सामान्य जनताले सत्य, ज्ञानीहरूले झूटो र शासकहरूले उपयोगी मान्ने गरेको प्रचलन रहिआएको छ। नेपाली समाजमा पनि यही संरचना देखिन्छ। सत्ता र पुँजीवादी समूहहरूले धर्मको प्रयोग गरेर आफ्नो हित सुरक्षित गर्दै आएका छन्। मठ-मन्दिर, पूजा-पाठ, व्रत-उपवास र धार्मिक उत्सवहरू केवल सांस्कृतिक परम्परा मात्र नभई शक्ति संरचनालाई कायम राख्ने औजारको रूपमा प्रयोग हुन्छन्। उदाहरणका लागि, जातीय विभाजन, वंश वा क्षेत्रका आधारमा असमान व्यवहार, आर्थिक शोषण वा राजनीतिक अनुशासन कायम राख्न धर्म प्रायः प्रयोगमा ल्याइन्छ।
साधारण जनता धर्मलाई नैतिक मार्गदर्शन वा जीवनको सत्यको रूपमा लिन्छन्, तर वैज्ञानिक दृष्टिले हेर्दा यी अभ्यासहरूले वास्तविक जीवनका समस्या समाधान गर्दैनन्। शासक वा शक्तिशाली वर्गले धार्मिक विश्वासलाई आफ्नै अधिनायकत्व र समाजमा नियन्त्रण कायम गर्न औजारको रूपमा प्रयोग गर्ने हुँदा जनतामा आलोचनात्मक सोच र स्वतन्त्र निर्णय क्षमता कम हुन्छ। यही कारणले धार्मिक अन्धविश्वासले समाजको विकासलाई रोक्छ र परिवर्तनका क्रान्तिकारी प्रयासलाई कमजोर बनाउँछ। उनी भन्छन्- “ईश्वरको अस्तित्वमा विश्वास गर्न खोज्ने प्रयासले विज्ञान र तार्किक विश्लेषणलाई ढाकछोप गर्छ। यसले मानिसलाई वास्तविकता बुझ्न र समस्याको वैज्ञानिक समाधान खोज्नबाट रोक्छ।”
(The attempt to believe in God obscures science and logical analysis. It prevents people from understanding reality and seeking rational solutions to problems.)
डकिङ्सको दृष्टिकोण अनुसार धर्मको वास्तविक मूल्य केवल सामाजिक-सांस्कृतिक संरचनामा सीमित छ; यसले मानिसलाई आध्यात्मिक समाधान दिनु भन्दा आफ्ना भय, असुरक्षा र सामाजिक दबाबबाट जोगिन सहयोग गर्छ। नेपाली समाजमा यसलाई अनुभव गर्दा, हामी पाउँछौं कि धार्मिक उत्सव र परम्परागत पूजा-पाठले केवल व्यक्तिगत शान्ति र सांस्कृतिक पहिचानको अनुभव दिन्छ, तर संरचनागत असमानता र वर्गभेदको अन्त्य गर्न असफल हुन्छ। यसले हामीलाई स्पष्ट संदेश दिन्छ की धर्मको सामाजिक प्रयोगको विश्लेषण नगरी समाजलाई परिवर्तन गर्न सकिँदैन।
विज्ञान र धर्मको सम्बन्धलाई बुझ्नु महत्त्वपूर्ण छ। डकिङ्सले स्पष्ट गरेका छन् कि जब विज्ञानले ब्रह्माण्ड, जीवन र प्राकृतिक घटनाहरूको वस्तुगत व्याख्या प्रदान गर्यो, तब भगवान र धार्मिक विश्वासहरू केवल सामाजिक-मनोवैज्ञानिक अवधारणा मात्र बनेकोछ। नेपाली समाजमा पनि यही कुरा देखिन्छ-मानिसले प्राकृतिक प्रकोप, रोग, मृत्युवापतिका घटनाहरूको कारण अलौकिक शक्ति वा देवतामा खोज्छन्, तर विज्ञानले यी घटनाहरूको वास्तविक कारण स्पष्ट पारेको छ। उदाहरणका लागि, भूकम्प, आँधी-हुरी, बाढी, रोग महामारी वा सूर्य-चन्द्र ग्रहण जस्ता प्राकृतिक घटनाहरू धर्मसंग सम्बन्धित छैन यी प्राकृतिक नियमद्वारा नियन्त्रित हुन्छन् र वास्तविक व्यवस्थापन र रोकथाम विज्ञान र प्रविधिमा आधारित हुन्छ।
मानव विकासको हिसाबले विज्ञान र भौतिकवादी दृष्टिकोण आवश्यक छन्। यदि धार्मिक विश्वास र अन्धविश्वासलाई मात्र आधार मानेर मानव जीवनको व्यवस्थापन गर्ने हो भने समाज विकासशील हुँदैन, मानव क्षमता सीमित रहन्छ र सामाजिक असमानता कायम रहन्छ। डकिङ्सले भनेझैं, धर्मले केवल भय, आशा र सांस्कृतिक पहिचान दिन सक्छ, तर यसले उत्पादनशीलता, सामाजिक समानता र वैज्ञानिक चेतनालाई बढाउँदैन। नेपाली समाजमा पनि वैज्ञानिक दृष्टिकोणको अभावले धेरै सामाजिक-आर्थिक समस्या यथावत् छन्-शिक्षा, स्वास्थ्य, जलस्रोत व्यवस्थापन, कृषि उत्पादन, जनस्वास्थ्य सबैमा धर्मको सापेक्षिक भूमिका सीमित र प्रायः गैर-उपयोगी देखिन्छ।
यसले स्पष्ट गर्दछ कि वास्तविक मानव विकास र समाजको प्रगतिका लागि विज्ञान, तथ्य-आधारित विश्लेषण र भौतिकवाद आवश्यक छन्। धर्मलाई पूर्णतः नकार्नुको अर्थ होइन, तर यसको प्रयोग सामाजिक नियन्त्रण र भय सिर्जनाका लागि गरिएको छ भने त्यसको आलोचनात्मक समीक्षा गर्न आवश्यक छ। वैज्ञानिक दृष्टिकोणले मात्र समाजलाई भ्रम र अन्धविश्वासको जालबाट मुक्त गर्दै वास्तविक क्रान्ति र विकासतर्फ लैजान सक्छ।
डकिङ्सले धर्म र अन्धविश्वासको सामाजिक प्रयोगबारे गरेका विश्लेषण नेपाली समाजमा पनि सान्दर्भिक छन्। यहाँका परम्परागत संरचना, जातीय भेदभाव, र सांस्कृतिक प्रथाहरू प्रायः धर्मको नाममा कायम छन्। नेपालमा धार्मिक उत्सव, पूजा-पाठ, व्रत-उपवास, र तीर्थयात्रा मात्र सांस्कृतिक अभ्यास होइनन्; कतिपय अवस्थामा तिनीहरू सामाजिक नियन्त्रण र शक्ति संरचना कायम राख्न प्रयोग हुन्छन्। डकिङ्सले भनेझैं, धर्मलाई सामान्य जनताले सत्य, ज्ञानीहरूले झूटो र शासकहरूले उपयोगी मान्ने परिपाटीले समाजमा अन्धविश्वास र निष्क्रियता कायम राख्छ।
प्रगतिशील चेतनाको विकासका लागि डकिङ्सले सुझाएको मुख्य मार्ग वैज्ञानिक सोच र तथ्य-आधारित विश्लेषण हो। नेपाली समाजमा शिक्षा, अनुसन्धान, वैज्ञानिक दृष्टिकोण र आलोचनात्मक सोचको अभावले धर्म र परम्परागत विश्वासहरूलाई अन्धविश्वासको रूपमा टिकाइराखेको छ। सामाजिक परिवर्तन र न्यायको लागि केवल परम्परागत धार्मिक संरचनामा भरोसा गर्नु पर्याप्त छैन; समाजका वास्तविक समस्याहरू-जस्तै शिक्षा, स्वास्थ्य, समावेशी विकास, आर्थिक समानतालाई विज्ञान र तथ्यका आधारमा बुझ्न आवश्यक छ।
डकिङ्स भन्छन्- “धर्मका बहुल स्वरूपहरू, चाहे हिन्दू, बौद्ध, इस्लाम, इसाई, शिख, जैन वा अन्य, सारमा सामाजिक नियन्त्रण र शक्तिशाली वर्गको हितमा काम गर्छन्, न कि मानव स्वतन्त्रता र न्यायको लागि।”
(The diverse forms of religion, whether Hindu, Buddhist, Islam, Christianity, Sikh, Jain, or others, fundamentally serve social control and the interests of powerful classes, not human freedom and justice.)
यो विश्लेषणले देखाउँछ कि नेपाली समाजमा प्रगतिशील चेतना र क्रान्तिकारी दृष्टिकोण केवल धार्मिक विश्वासको आलोचना र विज्ञानको प्रचारबाट मात्र विकसित हुन्छ। डकिङ्सको दृष्टिकोणले जनतालाई चेतना, तर्कशक्ति र स्वतंत्र विचारको महत्व स्पष्ट गर्दछ। धर्मलाई पूर्णतया नकार्नुको अर्थ होइन, तर यसको प्रयोग समाज नियन्त्रणका लागि भएमा त्यसको आलोचनात्मक मूल्यांकन अनिवार्य छ। यसरी मात्र अन्धविश्वासको जालबाट मुक्त भएर समाजलाई वास्तविक प्रगतिशील मार्गमा लैजान सकिन्छ।
डकिङ्सले प्रस्तुत गरेको “धर्मलाई आम जनताले सत्य, ज्ञानीहरूले झूटो र शासकहरूले उपयोगी मान्छन्” भन्ने सिद्धान्त नेपाली राजनीतिक र सामाजिक सन्दर्भमा अत्यन्त प्रासंगिक छ। नेपालमा विभिन्न राजनीतिक आन्दोलन र क्रान्तिहरूमा धर्म र परम्परागत संरचनाको प्रयोग शक्ति संरचनालाई कायम राख्न गरिएको देखिन्छ। जातीय भेदभाव, सांस्कृतिक भेदभाव, महिला असमानता, र ग्रामीण क्षेत्रको सामाजिक पिछडापन जस्ता समस्याहरू धार्मिक र सांस्कृतिक औजारका रूपमा कायम छन्। यसले जनतालाई निष्क्रिय राख्ने र सामाजिक चेतनालाई सीमित बनाउने काम गरिरहेको छ।
डकिङ्सको दृष्टिकोण अनुसार, राजनीतिक र सामाजिक परिवर्तनका लागि जनतामा वैज्ञानिक सोच, तर्कशक्ति, तथ्यमा आधारित निर्णय र आलोचनात्मक चेतना आवश्यक छ। नेपाली राजनीतिक आन्दोलनमा पनि केवल धार्मिक नैतिकता र परम्परागत मूल्यमा भरोसा गर्नु पर्याप्त छैन। उदाहरणका लागि, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन, ग्रामीण विकास र आर्थिक समानता सुनिश्चित गर्न, धर्म र अन्धविश्वासले बाधा पुर्याउने प्रवृत्तिलाई स्पष्ट रूपमा विश्लेषण गर्नु आवश्यक छ।
डकिङ्सको पुस्तक “भगवान भ्रम हो” नेपाली समाजका लागि गहिरो शिक्षाप्रद छ। यसले स्पष्ट पार्छ कि धर्म केवल सामाजिक, राजनीतिक र सांस्कृतिक नियन्त्रणको माध्यम हुन सक्छ, जबकि विज्ञान र तथ्य-आधारित सोचले मात्र मानव चेतना र समाजलाई प्रगतिशील मार्गमा लैजान सक्छ। नेपाली समाजमा पनि धर्म र परम्परागत विश्वासले धेरै स्थानमा जनतालाई निष्क्रिय राखेको छ, सामाजिक असमानता र जातीय विभाजन कायम राखेको छ। डकिङ्सको दृष्टिकोणले यसलाई वैज्ञानिक र आलोचनात्मक दृष्टिकोणबाट मूल्याङ्कन गर्न प्रेरित गर्छ। उनको सोचाइमा-विज्ञानले धर्मको ठाउँमा तथ्य र प्रमाणको आधार प्रस्तुत गर्छ।
(Science replaces the authority of religion with evidence and reason.)
समग्रमा, यो पुस्तकले नेपाली समाजका लागि तीन महत्त्वपूर्ण सन्देश दिन्छ। पहिलो, धर्म र अन्धविश्वासको अन्धानुकरण नगरी आलोचनात्मक मूल्याङ्कन गर्नुपर्छ। दोस्रो, वैज्ञानिक सोच र तथ्य-आधारित विश्लेषणलाई जीवनशैली र सामाजिक गतिविधिमा लागू गर्नुपर्छ। तेस्रो, राजनीतिक र सामाजिक चेतनालाई विकास गर्न धार्मिक र सांस्कृतिक अन्धविश्वासको प्रभावलाई न्यूनीकरण गर्नु अनिवार्य छ।
यस पुस्तकले सिकाउँछ कि वास्तविक परिवर्तन र प्रगतिशील चेतनाका लागि धर्म र अन्धविश्वासको अन्धानुकरण नगरी आलोचनात्मक मूल्याङ्कन गर्नुपर्छ। विज्ञान र तथ्यमा आधारित सोचलाई जीवनशैली र सामाजिक गतिविधिमा लागू गर्नुपर्छ। साथै, सामाजिक, राजनीतिक र सांस्कृतिक चेतनालाई विकास गर्न धार्मिक र सांस्कृतिक अन्धविश्वासको प्रभावलाई न्यूनीकरण अनिवार्य छ।
अन्ततः, “भगवान भ्रम हो” केवल धर्मको आलोचना होइन, सामाजिक चेतना, वैज्ञानिक सोच र प्रगतिशील समाज निर्माणको लागि प्रेरक मार्गदर्शन हो। यसले नेपाली समाजलाई अन्धविश्वासको जालबाट मुक्त पारेर वास्तविक सामाजिक र राजनीतिक रूपान्तरणतर्फ लैजान सक्ने दृष्टिकोण प्रस्तुत गर्छ। उनको भनाइमा-ईश्वरको कल्पना मानव अज्ञानता र भयबाट जन्मिएको हो।
(The idea of God is a product of human ignorance and fear.)
यो पुस्तक विश्वको सबै बढी बिक्री हुने सूचीमा अग्रस्थानमा छ।