सरकारले ट्रेजरी बिलमार्फत ५ अर्ब आन्तरिक ऋण लिने भएको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार (भोलि) सोमवार २८ दिने ट्रेजरी बिलमार्फत उक्त ऋण उठाउन लागिको हो। ट्रेजरी बिलका लागि सोमवार दिउँसो तीन बजेसम्म बोलकबोल गर्न सकिनेछ।
जसअनुसार मंगलवार ट्रेजरी बिल जारी गर्ने कार्यतालिका कार्यालयको छ भने त्यसरी जारी हुने ट्रेजरी बिलको ब्याजदर बोलकबोलमार्फत तय हुन्छ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुने गरेको छ।
ऋण व्यवस्थापन कार्यालयकाअनुसार यसअघि बोलकबोलमा १८२ दिने ट्रेजरी बिलमा २.४८ प्रतिशत र ३६४ दिनेमा २.६० प्रतिशत भारित औसत ब्याजदर तय भएको थियो।
बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी २.६२ प्रतिशत र सबैभन्दा कम २.१५ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए। ट्रेजरी बिलहरू बोलकबोल मार्फत निष्कासन हुने गरेको छ। बहु–बोलमूल्य विधि प्रयोग हुन्छ। यसमा विभिन्न बोलदाताले फरक–फरक मूल्य वा प्रतिफल प्रश्ताव गर्छन्, र औसत मूल्यमा वितरण गर्ने गरिएको छ।
यो प्रणालीले बजारको माग र आपूर्तिको आधारमा प्रतिफल निर्धारण गर्छ, जसले सरकारलाई द्रुत तरलता जुटाउन सहयोग गर्ने गरेको छ। प्रतिष्पर्धी बोलकबोलबाट निर्धारित भारित औसत मूल्यमा अप्रतिस्पर्धी बोलवालालाई ट्रेजरी बिल उपलब्ध गराइन्छ। एउटै बोलकबोलमा प्रतिष्पर्धी र अप्रतिष्पर्धी दुवैतर्फबाट बोल गर्न भने पाइँदैन। सरकारको आम्दानी कमजोर भएको बेला खर्च धान्न सरकारले यस्ता उपकरण प्रयोग गर्ने गरेको छ।