१८ भदौ, गुल्मी
गुल्मी जिल्लामा पहिलो पटक मकैको आटो ब्राण्डिङ् गरी बजारीकरण सुरु गरिएको छ ।
मुसिकोट नगरपालिका –३ स्थित साना किसान कृषि सहकारी संस्थाले खाद्य प्रशोधन उद्योग स्थापना गरेर ‘साना किसानको पोषिलो आटो’ को ब्राण्डिङसँगै त्यसको बजारीकरण समेत सुरु गरेको हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ गुल्मीले आटोको ब्राण्डिङमा सहयोग गरेको छ ।
साविकको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मुसिकोट नगरपालिका र कृषि ज्ञान केन्द्रबाट ७३ लाख रुपैयाँ र साना किसान सहकारी संस्थाको १६ लाख ५० हजार गरी भवन निर्माणदेखि मकैको आटो बजारीकरणसम्म करिब ९० लाख खर्च भएको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि छन्तेलले बताए ।
साना किसान सहकारीले स्थानीय किसानहरूको मकै प्रति पाथी २०० रुपैयाँमा खरिद गरी प्रशोधन र लेबलिङ्ग, प्याकेजिङ गरेर शनिवारदेखि औपचारिक रूपमा बजारमा पठाइएको छ । अहिले मकैको आटोलाई प्रतिकिलो १ सय ३० रुपैयाँ पर्ने प्याकेट बजारमा ल्याएको छ ।
त्यसै गरी साना किसानले २५ किलोको बोरामा प्याकिङ गरेर आटो बजारमा ल्याएको हो । यसैपटक सहकारीमार्फत स्थानीय बजार हुँदै बुटवल र काठमाडौंसम्म कम्तीमा ३५ टन जति आटो बिक्री गर्ने लक्ष्य रहेको साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक विवेक पेमीले बताए ।
मध्य पहाडी क्षेत्रमा उत्पादित मनकामना, देउती र रामपुर कम्पोजिट जातका मकै स्वास्थ्य र स्वादको हिसाबले राम्रो, मिठो र स्वादिलो हुने भएकाले पहिलो चरणमा मकैको आटो र पिठोलाई सहकारीमार्फत बजारमा पठाइएको हो ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मकैको प्रशोधन गर्ने उपकरण, लेवलिङ्ग, र प्याकेजिङ्गमा आफूहरूले ८५% अनुदानमा सहयोग उपलब्ध गराइएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम गुल्मीका प्रमुख रमेश जैसवालले बताए ।
आटो बजारीकरण कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल जीवनले गाउँमा मिहिनेत गरे केही हुन्छ, भन्ने साना किसान सहकारीले राम्रो उदाहरण प्रस्तुत गरेको बताए । उनले मुसिकोटे आटोलाई बजारीकरण गर्नका लागि नगरबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
गुल्मीका मध्य पहाडी भेगमा उत्पादित मकै, मनकामना, देउती र रामपुर कम्पोजिट जातका मकै, स्वास्थ्य र स्वादको हिसाबले उच्च गुणस्तरीय मानिन्छ । यसले स्थानीय कृषकको आम्दानीमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा सहकारीले लिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, हालको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम गुल्मीले कृषि विकासको क्षेत्रलाई आधुनिक बनाउनका लागि विभिन्न योजनाहरू सञ्चालन गरिरहेको छ ।
गुल्मी जिल्लामा स्थानीय मकैको आटो ब्राण्डिङ्ग र यसको बजारमा आपूर्ति गर्ने प्रयासले कृषकहरूको जीवनस्तरलाई पनि सुधार्ने राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम गुल्मीका जैसवालले बताए ।
स्वास्थ्य र स्वादको हिसाबले एकदमै राम्रो मानिने मध्य पहाडी भेगमा उत्पादित मकैको आटो प्रयोग गर्न र स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सहकारीले आग्रह गरेको छ ।
जिल्लामा २४ हजार ४६५ हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ । कुल मकै हुने क्षेत्रफलको ११.२३ प्रतिशत क्षेत्रफलमा हाईब्रिड मकै लगाइदै आएको छ ।
जिल्लामा मकै खेती विस्तार गर्न मकै जोन बिस्तार गरिएको छ । जसबाट मकै उत्पादन, बीउ उत्पादनलगायतका विभिन्न सेक्टरमा सहयोगसमेत हुँदै आएको छ ।