वैद्यनिकट विद्यार्थी नेतृ बनिन् टियु टपर र गाेल्ड मेडलिस्ट

 

११ पुस, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको राजनीति शास्त्र विषयमा विद्यार्थी नेतासमेत रहेकी छात्रा प्रतिभा पौडेल सर्वोत्कृष्ट बनेकी छिन् । एमए राजनीति शास्त्रमा विश्विद्यालयको गोल्ड मेडलिस्ट भएर उनले पदक र पुरस्कार हात पारिन् ।

बिहीबार त्रिविको ५१ औं दीक्षान्त समारोहमा उनलाई वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्रदान गरिएको थियो । राजनीतिशास्त्र केन्द्रीय विभागबाट एमए गरेकी पौडल विभागमै एमफिलकी विद्यार्थी समेत हुन् ।

उनी मोहन वैद्य निकट क्रान्तिकारी कम्प्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध छिन् । ‘विद्यार्थी राजनीति गर्दै पढ्दै गएँ । अबचाँहि सक्रिय राजनीतिभन्दा पनि प्राज्ञिक क्षेत्रमा उभिन मन छ,’ उनले भनिन् ।

कीर्तिपुरबासी पौडेलले २०७० सालमा काठमाडौंको सामुदायिक विद्यालयबाट एसएलसी पास गरेकी थिइन् । त्रिपुरेश्वरको विश्व निकेतन माविबाट विज्ञान विषयमा कक्षा १२ पास गरिन् । उनले त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातक गरिन् । विज्ञानकी छात्रा पौडेल त्यसपछि भने राजनीति शास्त्रतर्फ मोडिएकी हुन् । ‘विद्यार्थी संगठनमा काम गर्दा विद्यार्थी हकहितको कुरा उठाइयो । राजनीतिबाटै धेरै कुराको समस्या समाधान हुन्छ भनेर राजनीतिशास्त्र विषयमा भर्ना भएँ,’ उनले भनिन् ।

सोचजस्तै नतिजा आएपछि एफफिल गर्दै प्राज्ञिक क्षेत्रमा नै फराकिलो भविष्य देखेको उनले सुनाइन् । उनका बुवा पनि उक्त पार्टीमा केन्द्रीय सदस्य छन् । त्यसैले पनि विद्यार्थी राजनीति र त्यससम्बन्धी अध्ययनमा रुचि रहेकाले आबद्ध भएको उनले बताइन् ।

सर्वोत्कृष्ट नतिजा ल्याउन कुनै निश्चित विधि र सूत्र नहुने उनको बुझाइ छ । ‘पहिले सर्वोत्कृष्ट भएकालाई पनि कसरी धेरै नम्बर ल्याउने भनेर सोधेँ । चित्तबुझ्दो जवाफ आएन,’ उनले भनिन्, ‘लगातार पढ्ने भन्दा पनि आफूलाई उपयुक्त समय मिलाएर पढ्नुपर्छ । पढने कुनै सूत्र हुँदैन । आ-आफ्नो तरिका हुन्छ । तुलनात्मक रूपमा अध्ययन गरेर पढने म स्वभाव छ ।’

पौडेलले राजनीति गर्ने विद्यार्थीले पढ्दैन भन्ने भाष्यलाई पनि चुनौती दिएकी छिन् । केही विद्यार्थी नेताहरू वैचारिक बहसबाट बरालिएर स्वार्थमा लागेकाले त्यस्तो भाष्य बन्न पुगेको पौडेलको तर्क छ । ‘सबै विद्यार्थी नेताले पढ्दैनन राजनीति मात्र गर्छन् भन्ने भाष्य गलत हो,’ उनले भनिन, ‘राजनीति गर्दै पढ्ने र वैचारिक राजनीतिक गर्ने पनि थुप्रै छन् ।’

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation